कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै

विप्लव महर्जन

सल्यान — कृष्ण आधारभुत विद्यालय खहरेखोलामा तीन शिक्षकको दरबन्दी छ । विद्यालयमा २० जना मात्र विद्यार्थी छन । गंगा प्रावि अम्रामा १६ जना विद्यार्थी छन् । यी दुई मात्र नभई जिल्लाका अधिकांश आधारभूत विद्यालयमा विद्यार्थी संख्या प्रत्येक वर्ष घट्दै गएको छ । 

सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै

शिक्षकहरू नियमित विद्यालयमा उपस्थित नहुनु, सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर कमजोर हुनु, अभिभावकहरूले आफ्ना बालबालिकाको पढाइप्रति रुचि नराख्नुलगायतका कारण बालबालिका घट्दै गएको त्रिभुवन जनता मावि च्युराका अध्यक्ष हरिलाल विष्टले बताए । उनका अनुसार गत वर्ष कक्षा १ देखि ५ सम्ममा ६० जना विद्यार्थी थिए । अहिले २० भन्दा बढी विद्यार्थी नियमित आउँदैनन् । विद्यार्थी संख्या घट्दै गएकाले पठनपाठनसमेत लथालिंग बन्दै गएको उनले स्विकारे । शिक्षकको राजनीतिमा बढी रुचि हुनु, पठनपाठनमा ध्यान नदिनुलगायतका कारण पढाइ खस्कँदै गएको देवस्थलका गुञ्जमान बुढाले बताए ।

सामुदायिक जिद्यालयमा विद्यार्थी बढाउन अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गर्न जरुरी रहेको अभिभावक बताउँछन् । एक शिक्षक बराबर पहाडी जिल्लामा ४५ जना विद्यार्थी पढाउने क्षमता भए पनि अहिले अधिकांश विद्यालयमा एक शिक्षकको भागमा ५/१० विद्यार्थी मात्र पर्ने गरेको जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले बताए । विद्यार्थी संख्या घट्दै गएकाले पाँच विद्यालय समायोजन गरेको र अझै २० बढी विद्यालय समायोजन गर्ने अवस्थामा रहेका उनले जानकारी गराए । जिल्लामा २ सय ८० आधारभूत विद्यालय छन् । तीमध्ये ५० बढी विद्यालयमा विद्यार्थी संख्या धेरै कम भएको उनले बताए । हाल ५८ विद्यालय दरबन्दीविहीन छन् । शिक्षा नियमावलीअनुसार २ सय २० दिन विद्यालय खुल्नुपर्ने र १ सय ९२ दिन पढाइ भएको देखिनुपर्ने उनको भनाइ छ । विद्यालयमा नियमित उपस्थित नहुने र नपढाउने शिक्षकलाई कारबाही गर्न खोज्दा राजनीतिक दबाबले सफल हुन नसकेको उनले बताए । अभिभावकले सानैदेखि बालबालिकालाई अंग्रेजी माध्यमबाट पढाउन खोजेकाले निजीमा भर्ना गर्ने गरेको उनको भनाइ छ ।

शैक्षिक अवस्था कमजोर हुन नदिन स्थानीय तहका प्रमुखसँग बसेर शिक्षाको बारेमा छलफल गरेको उनले जानकारी दिए । सामुदायिक विद्यालयले अंग्रेजी भाषा र प्राविधिक शिक्षा अध्ययनमा जोड दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : माघ २४, २०७४ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?