२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

छाउपडीविरुद्ध विद्यार्थी

२१ औं शताब्दीमा पनि पशु र महिलाको स्थान एउटै देखेर काभ्रेमा जन्मेहुर्केकी अखिल नेत्री लामालाई असह्य पीडा भयो 
ज्योति कटुवाल

दैलेख — महिनावारीका बेला घरछेउको ‘गोठ’मा छुट्टै बस्नुपर्छ । त्यसो नगरे देउता रिसाएर अनर्थ हुन्छ भन्ने अन्धविश्वास अझै छ । अशिक्षित मात्र होइन, शिक्षित परिवारमा पनि यो प्रथाको प्रभाव छ । किशोरीदेखि वृद्धासम्मको यो दु:खविरुद्ध विद्यार्थी संगठनका नेताहरूले अभियान थालेका छन् ।

त्यसको अगुवाइ गरिरहेकी छन्, अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले । छाउगोठमा बस्दै आएका महिलाका पीडा बुझेर त्यसविरुद्ध अभियान सुरु गरिएको अध्यक्ष लामाले बताइन् । छाउपडी प्रथा मान्दै आएका महिलालाई भेट्न उनको टोली दैलेखको राकमकर्णाली पुगेको थियो । नेविसंघका केन्द्रीय उपाध्यक्ष पुष्पकुमार शाहीको संयुक्त विद्यार्थी टोलीले कुप्रथाविरुद्ध लाग्न युवा र विद्यार्थीलाई आह्वान गरेर फर्किएका छन् । ‘यो एउटा जागरण अभियान नै हो । युवा र विद्यार्थीले नगरे छाउपडी प्रथा अझै वर्षौं रहने देखियो,’ लामाले भनिन् । पाठयक्रममा पनि राख्नुपर्ने माग गरेका छौं ।

राकम कर्णालीमा महिलाहरूले उनीहरूलाई छाउ बार्नुका पीडा सुनाए । कहालीलाग्दो दु:ख सुनेर लामा भावुक पनि भइन् । ‘२१ औं शताब्दीमा पनि पशु र महिलाको स्थान एउटै देखेर असह्य पीडा भयो,’ उनले भनिन् । उनले पश्चिम नेपालका महिलाहरू झन् धेरै शोषित पाएको बताएकी छन् ।

छाउपडीविरुद्ध सरकारी तथा गैरसरकारी तहबाट वर्षौंदेखि विभिन्नखाले अभियान चलाइएको छ । तर, केही कमी आए पनि न छाउगोठ भत्किएका छन् न छोरीहरू महिनावारी हुँदा घरभित्र निर्धक्क सुत्ने वातावरण छ । प्रदेश ६ को दैलेख र सीमावर्ती अछाममा छाउपडी प्रथा अत्यधिक छ । संसद् भवनमा विरोध भए, कानुन बने । अभियन्ताहरू छाउगोठ भत्काउन गाउँ पसे । तर, परिर्वतन आउन सकेन । छाउगोठमा बसेकै बेला गत जेठ ८ गते चामुण्डा विन्द्रासैनी नगरपालिका ४ की लालसरा विकले ज्यान गुमाइन् । त्यसको एक महिनापछि असार २२ गते लैनचौरकी १९ वर्षीया तुलसी शाहीको छाउगोठमै सर्पले डसेर ज्यान गयो । लालसरा र तुलसी जस्तै दैलेखसँग सिमाना जोडिएका अछामका गाउँमा पनि छाउगोठमा महिलाको ज्यान जाने क्रम रोकिएको छैन ।

स्थानीय महिलाहरू छाउपडीलाई परम्परादेखि मान्दै आएको भनेर निरन्तरता दिइरहेका छन् । ‘महिनावारी हुनु पाप हो । यो पापलाई आरामले होइन, कष्ट पाएर पखाल्नुपर्छ,’ राकमकी ६५ वर्षीया लालसरा शाहीले विद्यार्थी टोलीसँग भनिन्, ‘त्यही भनेरै जति दु:ख भए पनि सहेर बसेका छौं ।’ उनले १३ दिनसम्म छाउगोठमा सुतेको अनुभव सुनाइन् । अभियानपछि राकमका १५ वर्षमाथिका किशोरीहरूले अब छाउपडी नमान्ने र छुट्टै घरमा नबस्ने यो टोलीसँग पनि प्रतिबद्धता जनाएका छन् । संयुक्त विद्यार्थी संगठनको टोलीले दैलेखको पश्चिममा पर्ने आठबीस नगरपालिका ४ को राकम कर्णालीमा ‘मर्यादित महिनावारी, हामी सबैको जिम्मेवारी’ नारामा चेतनामूलक कार्यक्रम गर्‍यो ।

नेविसंघ उपाध्यक्ष शाहीले छाउपडी, महिला हिंसा र जातीय छुवाछूतजस्ता कुप्रथाहरू अन्त्यका लागि विद्यार्थी संगठनहरूले हातेमालो गरेको बताए ।

प्रकाशित : माघ २६, २०७४ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?