कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

अस्पतालमा औषधि छैन

भीमबहादुर सिंह

जाजरकोट — भेरी नगर का लालवीर विक ज्वरोले सताएपछि जाजरकोट अस्पताल पुगे । स्वास्थ्यकर्मीले परीक्षण त गरे, तर औषधि छैन भन्दै फर्काए । भेरी–४ का युद्धवीर सिंह पनि घाँटी तथा छाती दुख्ने समस्या लिएर अस्पताल पुगे । उनले  पनि औषधि पाएनन् ।

अस्पतालमा सिटामोलसमेत नहुँदा २ महिनादेखि बिरामीहरू सकसमा छन् । स्वास्थ्यकर्मीले जाँचेका बिरामीलाई नि:शुल्क औषधि वितरण गर्नुपर्नेमा ‘औषधि सकिएको छ, बाहिर खोजेर किन्नुस्’ भनेर फर्काउने गरिएको बिरामीको गुनासो छ ।

अस्पतालमा ज्वरो, आउँ, रुघाखोकी, ग्यास्ट्रिक, पखाला, लुतो, पेट दुख्नेलगायत रोगको औषधि अभाव भएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. धर्मराज रेग्मीले बताए । ‘बिरामीको संख्या बढदो छ । त्यसमाथि अस्पतालमा औषधि छैन,’ डा. रेग्मीले भने । अस्पतालमा प्रसूति सेवाका लागि गज, कटन, ग्लोब र आरएलसमेतको अभाव भएको उनले बताए । औषधि खरिदका लागि बजेट नहुँदा अभाव भएको अस्पतालका स्वास्थ्यकर्मीको भनाइ छ । भेरी नगरपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा औषधि खरिदका लागि बजेट नछुट्याउँदा समस्या भएको अस्पतालले जनाएको छ । नगरपालिकाले औषधि खरिदका लागि बजेट छुट्याउनुपर्नेमा प्रगति नभएको लेखापाल जयप्रसाद पाण्डेले बताए ।

नगर प्रमुख सीपी घर्तीले जाजरकोट अस्पताललगायत स्वास्थ्य संस्थालाई औषधि खरिदसम्बन्धी बजेट आउँदो विशेष नगरसभाबाट विनियोजन गर्न लागेको बताए । अस्पतालमा बिरामीको आँखा, कान, नाक, घाँटीलगायत अंग परीक्षण गर्न आवश्यक पर्ने टर्चसमेत नभएको डा. अमिन शाहले बताए । टर्च नहँुदा मोबाइलको फ्लास बालेर भित्री अंगको चेकजाँच गरिएको छ । एक्स–रे मेसिन बिग्रँदा अस्पतालमा यो सेवा पनि बन्द भएको डा. शाहले बताए ।

प्रकाशित : माघ २८, २०७४ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?