१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जुम्लामा ३ सय शय्याको अस्पताल खुल्यो

एलपी देवकोटा

जुम्ला — प्रधानमन्त्री शेरबहादुर देउवाले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको तीन सय शय्याको अस्पतालको आइतबार उद्घाटन गरेका छन् । 

जुम्लामा ३ सय शय्याको अस्पताल खुल्यो

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले अस्पतालले सिङ्गो कर्णाली क्षेत्रलाई स्वास्थ्य सेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । प्रतिष्ठानबाट छिट्टै एमबीबीएस कक्षासमेत सञ्चालन हुने उल्लेख गर्दै उनले भने, ‘मैले स्वास्थ्यमन्त्रीलाई भनिसकेको छु । कर्णालीका गरिब विद्यार्थीले अब आफ्नै ठाउँमा डाक्टर पढ्न पाउनेछन् ।’

प्रधानमन्त्रीले सहरी क्षेत्रका मेडिकल कलेजहरूका लागि बनाइएको मेडिकल काउन्सिलको न्यूनतम मान्यता दुर्गमका लागि विशेष छुट गरिएको बताए । सञ्चालनमा आएको तीन सय शय्याको शिक्षण अस्पतालले प्रदेश ६ को स्वास्थ्य सेवामा सुधार ल्याउने विश्वास पनि व्यक्त गरे । ‘दुर्गम क्षेत्रको स्वास्थ्य सेवा र शिक्षाको मेरुदण्ड नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको छ,’ उनले भने, ‘प्रतिष्ठानलाई अरूसरह नभई विशेष तरिकाले हेरिनेछ । प्रतिष्ठानको बैठकले पारित गरेको बजेट व्यवस्था गरिने उनले आश्वासन दिए ।

त्यस्तै, गुरुयोजनाहरू कार्यान्वयन गर्नका लागि गर्नुपर्ने सम्पूर्ण सहयोगका लागि सरकार तयार रहेको पनि जनाए ।

साढे २ वर्षअघि थालिएको अस्पताल ७६ करोडको लागतमा सम्पन्न भई अत्याधुनिक अस्पताल सञ्चालनमा आएकोमा उपकुलपति प्रा.डा.राजेन्द्रराज वाग्लेले खुसी व्यक्त गरे । उनले अब कर्णालीका बासिन्दाले उपचार खोज्दै ठूला अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य भएको दाबी गरे । प्रतिष्ठानले जुम्लामा मात्र नभई कर्णालीभर सेवा विस्तार गरिसकेको छ । शैक्षिक कार्यक्रमहरूसमेत सुरु गरिएको प्रतिष्ठानले जुम्लालाई ‘रिफरल सेन्टर’ को रूपमा स्थापित गर्ने बताएको छ । अस्पतालका निर्देशक डा.धर्मराज गोसाईले अस्पताल सञ्चालनमा आएसँगै अब थप शैक्षिक कार्यक्रमहरू अघि बढाउने बाटो खुलेको बताए ।

स्वास्थ्यमन्त्री दीपक बोहोराले एमबीबीएस, एमडी, एमएस, एमडीजीपी, पब्लिक हेल्थ, पिजियोथेरापी विषयहरूको अध्यापन सञ्चालनका लागि कानुनी कठिनाइ देखिएको भए पनि समाधान गर्दै अघि बढ्नुपर्ने बताए । उनले भने, ‘प्रतिष्ठानले अघि बढाएका गुरुयोजनालगायत शैक्षिक कार्यक्रमका लागि स्वास्थ्य मन्त्रालयले पूर्ण सहयोग गर्नेछ ।’

प्रतिष्ठानको गुरुयोजनाका लागि आवश्यक पर्ने जग्गा स्थानीयले नि:शुल्क उपलब्ध गराइसकेका छन् । क्षेत्रीय अस्पताल सुर्खेतलाई प्रतिष्ठानको शिक्षण अस्पतालको रूपमा विस्तार गर्ने प्रक्रिया स्वास्थ्य मन्त्रालय मार्फत अघि बढाउन प्रतिष्ठानले माग गरेको छ । त्यस्तै, प्रतिष्ठानमा एमबीबीएस, एमडी र एमएस कार्यक्रम सञ्चालन गर्न विद्यमान नेपाल मेडिकल काउन्सिलको नीतिलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हकमा परिमार्जन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि अनुरोध गर्ने निर्णय पारित भएको प्रतिष्ठानका उपकुलपति वाग्लेले बताए ।

बिरामीलाई फलफूल

प्रधानमन्त्री देउवाले शिक्षण अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरेका छन् । अस्पताल उद्घाटनका क्रममा जुम्ला पुगेका देउवाले अहिले पुरानो अस्पतालमा भर्ना भएका बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फलफूल वितरण गरेका हुन् ।

उनले अस्पतालले हाल सञ्चालन गरिरहेको एक सय शय्याको अस्पतालको निरीक्षणसमेत गरे । अस्पतालले दिंदै आएको सेवामा नयाँ भवन सुचारु भएपछि सेवाहरू थप गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले स्वास्थ्य मन्त्रालयमा पेस गरेको बहुवर्षीय योजना र गुरुयोजनाअनुरूप अस्पतालको विकास गर्नका लागि सरकारले पहल गर्ने प्रधानमन्त्री देउवाले बताएका छन् ।

प्रकाशित : माघ २९, २०७४ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?