कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४५% महिलामा पाठेघर समस्या 

राजबहादुर शाही

मुगु — सोरुकी झुपरी शाही पाँच वर्षसम्म रोगको उपचार गराउन नसकेर बसिन् । सहनै नसक्ने अवस्थामा पुगेपछि मात्रै काठमाडौं पुगेर अप्रेसन गरिन् । जिल्ला अस्पतालमा स्त्रीरोग विशेषज्ञ र शल्यक्रिया सुविधा नहुँदा उनले काठमाडौं जानुपर्‍यो । ‘ओहोरदोहोर र उपचारमै ६० हजार खर्च भयो,’ उनले भनिन् ।

पहुँच र खर्च नभएकालाई बॉच्नै गाह्रो छ । गाउँका अरू तीन महिला पनि पाठेघर जाँच गराउन उनीसँगै काठमाडौं गएका थिए । जिल्ला अस्पतालमा पाठेघरको सामान्य जाँच हुने गरे पनि जटिल समस्याको उपचार हुँदैन । शल्यक्रिया गर्नुपरे जिल्लाबाहिर जानुको विकल्प छैन । त्यसले दुर्गमका महिलालाई स्त्रीरोग उपचारमा समस्या हुने गरेको छ । आर्थिक अवस्था राम्रो भएका महिलाहरू पाठेघरको उपचारका लागि नेपालगन्ज र काठमाडौं जान्छन् । गरिबहरू उपचार नपाएर व्यथा सहेर बस्नुपर्ने अवस्था छ । ‘मेरो पाठेघरमा समस्या आएको ४ वर्ष भइसक्यो । पैसा नहुँदा अप्रेसन गर्न सकेकी छैन,’ छायाँनाथ रारा नगरपालिकाकी चुक्का नेपालीले भनिन्, ‘जिल्ला अस्पतालमा अप्रेसन हुन्न । बाहिर जाने हैसियत छैन । त्यसैले रोग सहेर बस्नुपरेको छ ।’ ग्रामीण भेगका स्वास्थ्य केन्द्रमा पाठेघरको सामान्य जाँचको सुविधा पनि छैन । सामान्य परीक्षणका लागि पनि महिलाहरू अस्पताल आउनुपर्छ । त्यहाँ पनि स्त्रीरोग विशेषज्ञ अभाव र शल्यक्रिया नहुँदा धेरैजसो बिरामीलाई सुविधासम्पन्न अस्पताल पठाइने गरेको छ । ‘उकालो हिँड्न र गह्रौं भारी बोक्न मिल्दैन । तल्लो पेट दुखिरहन्छ । अस्पतालमा गराउँदा अप्रेसन गर्नुपर्छ भन्छन्,’ उनले दुखेसो सुनाइन्, ‘मसँग खर्च छैन । कहाँ जानु ?’ कलिलो उमेरमै विवाह गर्ने र किशोरावस्थामै बच्चा जन्माउने गरेका कारण दुर्गमका महिलामा पाठेघरको अत्यधिक समस्या छ । सुत्केरी हुँदा राम्रो

स्याहार नपाउने र पोषिलो खानेकुराको अभावका कारण पनि यहाँका ४५ प्रतिशत महिलाहरूमा पाठेघर खस्ने समस्या देखिएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

अधिकांश महिला लाजले रोग लुकाएर बस्ने गरेका छन् । त्यसमाथि, आङ खस्ने समस्या भएका महिला श्रीमान्बाटै अपहेलित हुने गरेको पाइएको छ । तीनवटा गाउँपालिका र एक नगरपालिकामध्ये सोरु, खत्याड गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा बसोबास गर्ने महिलाहरूमा बढी पाठेघर खस्ने समस्या देखा परेको छ । ‘यहाँ पाठेघरको अप्रेसन हुँदैन,’ अस्पतालकी वरिष्ठ अनमी सरोजा घिमिरेले भनिन्, ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, नेपालगन्ज र काठमाडौं रेफर गर्ने गरेका छौं ।’

प्रकाशित : माघ २९, २०७४ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?