२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

ढुंगामाटोले सडक अवरुद्ध

विप्लव महर्जन

सल्यान — बन्गाड कुपिण्डे नगरपालिकाको कोटभिर नजिकै डोजरले थुपारेको ढुंगामाटोले सातादेखि सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध भएपछि यात्रुलाई सास्ती पुगेको छ । 

खलंगाबाट सल्लीबजारका लागि नियमित गाडी आउजाउ गर्ने भए पनि सडकमा थुपारेको ढुंगामाटोका कारण फर्कने गरेका छन् । यात्रुहरू लामो बाटो हिँड्न बाध्य छन् । सडक खोल्न निर्माण कम्पनी, प्राविधिक कार्यालय र स्थानीय प्रशासन कार्यालयलाई आग्रह गर्दै आए पनि कसैले चासो नदेखाएको बन्गाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द पुनले बताए । ‘डोजर लगाएर माटो पन्छाइदिएमा साना गाडी चल्न सक्थे । तर, ठेकेदार कम्पनीलगायत सम्बन्धित निकायले अटेरी गरेका छन्,’ उनले भने । उनका अनुसार, ढुंगामाटो सडकमै थुपारेकाले वृद्धवृद्धा र बिरामीलाई समस्या भएको छ । आउजाउमा समस्या नहुने गरी सडक विस्तार गर्ने सहमति भए पनि अहिले त्यसको विपरीत काम भइरहेको छ ।

ठेकेदारले सडक निर्माण गर्ने क्रममा पहिलेदेखि लापरबाही गर्दै आएको र बारम्बार आग्रह गर्दै आए पनि बेवास्ता गरेको ढोरपीपलका टेकेन्द्र विष्टले बताए । सडक अवरुद्ध हुँदा लामो समय हिँडेर खलंगा आउनुपरेको उनले दुखेसो पोखे । ‘ठेकेदारले लापरबाही धूलो र हिलोले समस्या परेको छ,’ उनले भने, ‘अहिले गाडी नचल्दा हिँड्नुपरेको छ । सडकको ढुंगामाटो पन्छाइदिए आउजाउमा समस्या हुने थिएन ।’

एउटा मेसिन बिग्रिएपछि अर्को ल्याएर काम गर्नुपर्ने भए पनि बिग्रिएको मेसिनको सामान मगाएका छौं भनेर त्यत्तिकै बसेको उनले बताए । सडकको काम गर्दै आएको प्राविधिक कार्यालय सल्यानका इन्जिनियर कृष्ण पण्डितले सडक विस्तारको काम गर्दागर्दै डोजर बिग्रिएको र सामान ल्याउन ढिलाइ भएकाले माटो व्यवस्थापन गर्न नसकेको बताए । एउटा बिग्रिएपछि अर्को मेसिन थप गर्न नसक्नु कम्पनीको कमजोरी भएको उनले प्रस्ट पारे । कोटभीर नजिकैको पहरो झार्ने काम बाँकी रहेकाले त्यो नझार्दासम्म सडकको माटो फाल्न नमिल्ने भएकाले अझै केही दिन सडक अवरुद्ध हुन सक्ने उनले बताएका छन् । ‘सडकको माटो फालेर पहाड काट्न मिल्दैन, चिप्लिने खतरा छ,’ इन्जिनियर पण्डितले भने । ठेकेदारले एकै पटक तीन/चारवटा डोजर, स्काभेटर प्रयोग गरे छिट्टै सडक खुल्न सक्ने उनले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टन्डनले स्थानीय प्रशासनले बारम्बार सडक खोल्न प्राविधिक कार्यालय र ठेकेदार कम्पनीसँग आग्रह गरे पनि मेसिनको अभाव जनाउँदै आएको बताए । कम्पनीका ठेकेदार उज्ज्वल कँडेलले सडकमा माटो नथुपारे भीर कटान गर्न नसकिने भएकाले बाध्य भएर थुपार्नुपरेको बताए । भीर कटिङ गर्ने क्रममा अझै केही दिन सडक अवरुद्ध हुने बताए ।

राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत सडक निर्माणका लागि विश्व बैंक र सरकारले २४ करोड ६१ लाख १८ हजार अनुदान दिएको थियो । सडक निर्माणको जिम्मा सन्तोषी लोहनी जेभी निर्माण सेवा कम्पनीले गर्दै आएको छ । ०७२ देखि सञ्चालित आयोजना सम्पन्न गर्ने अवधि अझै दुई वर्ष रहेको छ ।

प्रकाशित : माघ २९, २०७४ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?