अझै पूरा भएन रारा विमानस्थल

राजबहादुर शाही

मुगु — ताल्चा विमानस्थल स्तरोन्नति भई पहिलेभन्दा फराकिलो भएको छ । पाइलटहरूले ‘जोखिम’ भन्ने गरेको धावनमार्ग अहिले कालोपत्रे भइसकेको छ । तर, ३८ वर्ष भइसक्दा पनि निर्माणका सबै कार्य सकिएका छैनन् । 

मुगुको रारा विमानस्थलमा शनिबार गाउँबाट स्याउ बेच्न आएका महिलाहरू, हवाइजहाजद्वारा ओहोरदोहोर गर्ने यात्रुले स्याउ किन्ने गरेपछि डोको स्याउ ल्याएर महिलाहरू विमानस्थलमा आउने गरेका छन् । उक्त स्याउ प्रतिदाना सानो ५ र ठूलो १० रुपैयाँमा बेच्ने गरेका छन् । तस्बिर : राजबहादुर/कान्तिपुर

०३६ सालमा शिलान्यास भएको विमानस्थलको त्यसको ६ वर्षपछि ०४२ साल मात्र निर्माण आरम्भ गरिएको थियो । अहिलेसम्म विमानस्थल निर्माणमा २७ करोड विनियोजन भई खर्च भइसकेको छ । जग्गा अधिग्रहण र मुआब्जामा ६ करोड भयो । अब काम पूरा गर्न थप १० करोड लाग्ने अनुमान गरिएको छ । ‘बिस्तारैबिस्तारै काम भइरहेको छ,’ आयोजना प्रमुख प्रकाश श्रेष्ठले भने, ‘विभिन्न कारणले अहिलेसम्म विमानस्थलले पूर्णता पाउन सकेको छैन । थुप्रै काम अधुरा छन् ।’

Yamaha

रारा तालमा पर्यटकको आकर्षण बढेसँगै विमानस्थलमा हवाई चाप बढेको छ । त्यसैले विमानस्थलमा अझै लगानी बढाएर स्तरोन्नति गर्न आवश्यक रहेको विमानस्थल कार्यालयले जनाएको छ । प्रदेश ६ अन्तर्गत कर्णालीका वर्षौंदेखि अधुरा विमानस्थलका रूपमा मुगु र कालिकोटका धावनमार्गलाई लिइन्छ । हुम्ला, जुम्ला र डोल्पाका विमानस्थल करिब पूरा भइसक्दा यी दुई जिल्लाका विमानस्थल निर्माण भने सुस्त गतिमा भएको हो ।
दुई वर्षअघि कालोपत्रे गर्ने काम पूरा भएको छ । तर, धावनमार्ग तारबार र अन्य भौतिक पूर्वाधार निर्माण भने अझै अधुरै छ । तारबार नहुँदा विमानस्थलमा चौपाया छिर्छन् । काठको टहरामा टर्मिनल, टावर र यात्रु चेकजाँच पोस्ट राखिएको छ । वर्षा हुनेबित्तिकै जहाज पार्किङ क्षेत्रमा माथिबाट हिलो र पहिरो आउने समस्या छ । धावनमार्गको वरपर छेउको तलपट्टि पर्खाल लगाउने काम भएको छैन । पर्खाल नहुँदा हरेक वर्षको असारे झरीमा विमानस्थलको डिल भासिँदैगएको छ ।
धावनमार्ग तारबारका लागि ८८ लाखको टेन्डर हुँदै छ । त्यस्तै, १ करोड ७० लाख खर्च गरेर विमानस्थलको पूर्वतिर पर्खाल लगाउने काम भइरहेको श्रेष्ठले बताए । ती काम कहिले सुरु भएर कहिले टुंगिने हो कुनै टुंगो छैन । कहिलेसम्म विमानस्थलको काम सक्ने भन्ने कुनै लक्ष्यसहितको योजना भएको देखिएको छ ।
‘कुनै वर्ष बजेट आउ‘छ । कुनै वर्ष आउ‘दैन,’ उनले भने, ‘बजेट आएको वर्ष काम हुन्छ । अरू वर्ष त्यसै जान्छ । यो वर्ष विमानस्थल सुधार आयोजनाको काम रिजन निर्माण सेवा सुर्खेत पाएको भए पनि निर्माण कम्पनी निर्माणस्थल नगई अर्को व्यक्तिलाई काम गर्ने जिम्मा दिइएको छ ।’
पैदलमार्ग नभएकाले सर्वसाधारण धावनमार्गको बीचबाटै तल्लो माथिल्लो गाउ‘ आउजाउ गर्ने गरेका छन् । जहाज उडान हुने अवधिमा सुरक्षाकर्मीले गाउँलेलाई रोक्नुपर्छ । राजनीतिक दल र सांसदले चासो नदिँदा विमानस्थल निर्माणले युग बितेको कार्कीबाडा गाउँका कालिबहादुर रोकायाले गुनासो गरे ।

प्रकाशित : माघ २९, २०७४ ११:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भैंसीपालनबाट ३० लाख आम्दानी

हरि गौतम

रुकुम (पश्चिम) — मुुसिकोटका यामराज गौतम ३० वर्षको उमेरसम्म रोजगारीका निम्ति भौंतारिए । तर, ४ वर्षयता उनी स्वरोजगार बनेका छन् । जागिर र उद्योगलाई मात्र रोजगारी ठान्ने मानसिकताबाट मुक्त हुँदै गौतम अन्तत: कृषितर्फ लागे । ०७० देखि भैंसीपालन व्यवसाय थालेका उनले चार वर्षको अवधिमा ३० लाखभन्दा बढी आम्दानी गरिसकेको बताए । 

सदरमुकाम खलंगा बजारमा दूध बिक्री वितरणको उद्देश्य राखेर गौतमले भैंसीपालन थाले । हाल उनीसँग ६ वटा भैंसी र एउटा गाई छन् । ६ मध्ये ४ वटा भैंसी र एउटा गाई दुहुना छन् । ४ भैंसी र १ गाईबाट उनले दैनिक ३५ लिटर दूध बजारमा बिक्री गर्छन् । भैंसीपालन व्यवसाय थालेदेखि नै ३५ लिटर दूध नघटाएर बिक्री वितरण गरिरहेको गौतमले बताए । ‘सानै लगानी र थोरै मिहिनेतबाट थालेको व्यवसायले उत्साही छु,’ उनले भने । गौतमले महिनाको ४५ हजार आम्दानी गर्छन् । ५० रुपैयाँमा प्रतिलिटर दूध बिक्री गर्ने गरेका उनले अरू खर्च कटाएर ४५ हजार आम्दानी भइरहेको बताए ।
चार वर्षअघिसम्म आफैं रोजगारी खोज्दै हिँड्ने गौतम अब आफूसहित ३ जनालाई रोजगारी दिने भएका छन् । आफू भैंसी दहुने, दूध विक्री गर्ने र औषधिमुलो गर्न व्यस्त हुन्छन् भने अन्य २ जनाले घाँसपातको व्यवस्थापन गर्ने गरेका छन् । अरू कसैसँग रोजगारी मागेर खानुभन्दा स्वरोजगार बन्नु र अरूलाई रोजगारी दिँदा आफैंप्रति गौरव लागिरहेको उनले बताए । ‘म जागिरकै निम्ति धेरै भौंतारिएँ, गर्ने चाहना भएपछि गर्न सकिने रहेछ ।’ रोजगारी खोज्ने निहुँमा ऊर्जाशील समय खेर गएकामा पछुतो लागेको उनले बताए । ‘यही व्यवसायमा पहिल्यै लागेको भए अझै धेरै गर्न सकिन्थ्यो होला,’ उनी भन्छन्, ‘रोजगारीका निम्ति अनावश्यक रूपमा ऊर्जाशील समय खेर फालियो ।’ उनले दूधसँगै कम्पोस्ट मल समेत बिक्री गरेर आम्दानी गरिरहेका छन् । उनी सदरमुकामका पहिलो व्यावसायिक भैंसीपालक तथा दूध उत्पादक हुन् । खलंगा बजारमा दूधको आवश्यकता बढदै जाँदा भैंसीपालन उपयुक्त व्यवसाय हुने लागेपछि उनी यसतर्फ आकर्षित भएका थिए ।
बजारमा बढिरहेको दूधको माग परम्परागत रूपमा गरिएको भैंसी तथा गाईपालनबाट पूर्ति हुन सम्भव थिएन । यही अवसरलाई छोपेका गौतम आफूलाई युवा उद्यमीको रूपमा स्थापित गर्न सफल भएका छन् । इच्छाशक्ति भए स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने उदारण पेस गौतमले गरेका छन् । ‘विदेश जाने विषयमा मैले सोचिनँ, स्वदेशमै कसरी जागिर खान सकिन्छ भन्नेमै मैले समय खर्च गरें,’ गौतमले भने । व्यवसायकै क्रममा उनीमा प्राविधिक दक्षतासमेत बढदै गएको छ । भैंसी तथा गाईमा बेलाबेला देखिने समस्या समाधानको क्रममा धेरै कुरा सिकेको उनले बताए । ससाना समस्या आफैंले समाधान गर्ने र अलि ठूला समस्या आए मात्रै प्राविधिकलाई बोलाउने गरेको गौतमले बताए ।

प्रकाशित : माघ २९, २०७४ ११:५०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT