कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अझै पूरा भएन रारा विमानस्थल

राजबहादुर शाही

मुगु — ताल्चा विमानस्थल स्तरोन्नति भई पहिलेभन्दा फराकिलो भएको छ । पाइलटहरूले ‘जोखिम’ भन्ने गरेको धावनमार्ग अहिले कालोपत्रे भइसकेको छ । तर, ३८ वर्ष भइसक्दा पनि निर्माणका सबै कार्य सकिएका छैनन् । 

अझै पूरा भएन रारा विमानस्थल

०३६ सालमा शिलान्यास भएको विमानस्थलको त्यसको ६ वर्षपछि ०४२ साल मात्र निर्माण आरम्भ गरिएको थियो । अहिलेसम्म विमानस्थल निर्माणमा २७ करोड विनियोजन भई खर्च भइसकेको छ । जग्गा अधिग्रहण र मुआब्जामा ६ करोड भयो । अब काम पूरा गर्न थप १० करोड लाग्ने अनुमान गरिएको छ । ‘बिस्तारैबिस्तारै काम भइरहेको छ,’ आयोजना प्रमुख प्रकाश श्रेष्ठले भने, ‘विभिन्न कारणले अहिलेसम्म विमानस्थलले पूर्णता पाउन सकेको छैन । थुप्रै काम अधुरा छन् ।’

रारा तालमा पर्यटकको आकर्षण बढेसँगै विमानस्थलमा हवाई चाप बढेको छ । त्यसैले विमानस्थलमा अझै लगानी बढाएर स्तरोन्नति गर्न आवश्यक रहेको विमानस्थल कार्यालयले जनाएको छ । प्रदेश ६ अन्तर्गत कर्णालीका वर्षौंदेखि अधुरा विमानस्थलका रूपमा मुगु र कालिकोटका धावनमार्गलाई लिइन्छ । हुम्ला, जुम्ला र डोल्पाका विमानस्थल करिब पूरा भइसक्दा यी दुई जिल्लाका विमानस्थल निर्माण भने सुस्त गतिमा भएको हो ।

दुई वर्षअघि कालोपत्रे गर्ने काम पूरा भएको छ । तर, धावनमार्ग तारबार र अन्य भौतिक पूर्वाधार निर्माण भने अझै अधुरै छ । तारबार नहुँदा विमानस्थलमा चौपाया छिर्छन् । काठको टहरामा टर्मिनल, टावर र यात्रु चेकजाँच पोस्ट राखिएको छ । वर्षा हुनेबित्तिकै जहाज पार्किङ क्षेत्रमा माथिबाट हिलो र पहिरो आउने समस्या छ । धावनमार्गको वरपर छेउको तलपट्टि पर्खाल लगाउने काम भएको छैन । पर्खाल नहुँदा हरेक वर्षको असारे झरीमा विमानस्थलको डिल भासिँदै गएको छ ।

धावनमार्ग तारबारका लागि ८८ लाखको टेन्डर हुँदै छ । त्यस्तै, १ करोड ७० लाख खर्च गरेर विमानस्थलको पूर्वतिर पर्खाल लगाउने काम भइरहेको श्रेष्ठले बताए । ती काम कहिले सुरु भएर कहिले टुंगिने हो कुनै टुंगो छैन । कहिलेसम्म विमानस्थलको काम सक्ने भन्ने कुनै लक्ष्यसहितको योजना भएको देखिएको छ ।

‘कुनै वर्ष बजेट आउ‘छ । कुनै वर्ष आउ‘दैन,’ उनले भने, ‘बजेट आएको वर्ष काम हुन्छ । अरू वर्ष त्यसै जान्छ । यो वर्ष विमानस्थल सुधार आयोजनाको काम रिजन निर्माण सेवा सुर्खेत पाएको भए पनि निर्माण कम्पनी निर्माणस्थल नगई अर्को व्यक्तिलाई काम गर्ने जिम्मा दिइएको छ ।’

पैदलमार्ग नभएकाले सर्वसाधारण धावनमार्गको बीचबाटै तल्लो माथिल्लो गाउ‘ आउजाउ गर्ने गरेका छन् । जहाज उडान हुने अवधिमा सुरक्षाकर्मीले गाउँलेलाई रोक्नुपर्छ । राजनीतिक दल र सांसदले चासो नदिँदा विमानस्थल निर्माणले युग बितेको कार्कीबाडा गाउँका कालिबहादुर रोकायाले गुनासो गरे ।

प्रकाशित : माघ २९, २०७४ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?