सभामुखले लिए शपथ

प्रकाश अधिकारी

सुर्खेत — प्रदेशसभाले सांसद राजबहादुर शाहीलाई निर्विरोध सभामुखमा निर्वाचित घोषणा गरेको छ । ज्येष्ठ सदस्य हिमबहादुर शाहीले सदस्य  शाहीलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रस्ताव पढेर सुनाए । एमाले सांसद प्रकाश ज्वालाको उक्त प्रस्तावलाई माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले समर्थन गरेका थिए । 

प्रस्तावक र समर्थकको सम्बोधनपछि ज्येष्ठ सदस्यले एक जनाको मात्र प्रस्ताव दर्ता भएकाले सभामुख पदमा राजबहादुर शाही निर्विरोध निवार्चित भएको घोषणा गरे । अर्को बैठक फागुन ५ गते बस्नेछ । उक्त बैठकमा उपसभामुख निर्वाचन हुनेछ । निर्विरोध निर्वाचित सभामुखले प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट सोमबारै शपथ लिए । पथ लिएलगत्तै प्रदेशसभा सचिवालयस्थित सभामुखको कार्यकक्षमा पद बहाली भयो । प्रदेशमा झन्डावाला गाडी प्रयोग सभामुख नै प्रदेश सरकारको पहिलो भीभीआईपी बनेका छन् । मुख्यमन्त्री चयन हुन बाँकी छ ।

दैलेख २ (ख) बाट निर्वाचित सांसद शाही ठाटीकाँध गाउँपालिकाका बासिन्दा हुन् । ०३९ सालमा नेमकिपाको विद्यार्थी संगठनबाट उनको राजनीतिक जीवन सुरुआत भएको थियो । ०५२ सालमा तत्कालीन नेपाल मजदुर किसान पार्टी एमालेमा समाहित भएसँगै उनी पनि एमालेमा लागेका थिए । ०५४ को स्थानीय निर्वाचनमा उनी तत्कालिन तोलीजैसी गाविस अध्यक्षमा निर्वाचित भएका थिए । सशस्त्र द्वन्द्वकालमा सर्वस्वहरण भएपछी उनी काठमाडौंमा विस्थापित भएका थिए । ४८ वर्षीय सालीन स्वभावका उनी एमालेमा बौद्धिक नेतामा पर्छन् । जिल्ला कमिटी सदस्य र तत्कालीन भेरी अञ्चल समन्वय कमिटीको सदस्य भई काम गरिसकेका छन् । सभामुखमा निर्वाचित भएलगत्तै उनले आफ्नो सामु आएको ऐतिहासिक जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाए । ‘थुपै्र कानुन निर्माण गर्ने, नियमित सभा सञ्चालन गर्नेदेखि प्रदेशको विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्छु’ शाहीले भने, ‘प्रदेशसभा सानो भए पनि चुनौती धेरै छन् । यस्तो अवस्थामा सभामुखको सक्रियता र दक्षताको खाँचो धेरै पर्छ । त्यो मबाट कुनै कमी हुँदैन ।’

प्रकाशित : फाल्गुन १, २०७४ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?