१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

नेताले बिर्से सहिद परिवार

हरि गौतम

रुकुम (पश्चिम) — माओवादीले २०५८ सालदेखि बाँफिकोट गाउँपालिका २, जिपुमा मेलगैरी जनवादी मेला सुरु गर्‍यो । सशस्त्र युद्धका बेला मारिएकाहरूका आफन्त तथा घाइते अपाङ्गलाई सम्मान गरियो ।

नेताले बिर्से सहिद परिवार

माओवादी ‘विद्रोह’ मा लागेर ज्यान गुमाएका र घाइते परिवारलाई त्यसले सम्मानको अनुभूति भइसकेको थियो । तर, चार वर्षसम्म निरन्तर चलेको उक्त मेला अहिले भने लाग्दैन ।

०६२ यता कुनै आयोजना गरिएको छैन । माओवादी सशस्त्र द्वन्द्व आरम्भको सम्झनामा हरेक फागुन १ गते लाग्ने उक्त मेला परम्परागतजस्तै भइसकेको थियो । ०६३ यता हरेक फागुन १ गते उक्त मेलामा न माओवादी पार्टीले केही कार्यक्रम गरेर मेला मनाउँछ न त सहिदका आफन्त तथा घाइते अपांगलाई नै सम्मान गर्छ । शान्ति स्थापना भएसँगै माओवादीले आफूहरूलाई बिर्संदै गएको पीडित परिवारहरूले बताएका छन् ।

स्थानीय क्लबले भने भलिबल खेल आयोजना गरेर उक्त मेलाको स्मरण गरेको छ । सशस्त्र युद्ध घोषणा गरेको १४ औं दिनपछि बाँफिकोटको मेलगैरीमा सामूहिक हत्या गरिएको थियो । ०५२ फागुन १५ गते माओवादी भएको आरोपमा प्रहरीले ६ जना सर्वसाधारणको हत्या गरेको थियो । मेलगैरीमा हत्या गरिएकाको शव मेलगैरीभन्दा मुनिको गाउँ जामुनकाट्टेमा एक रात राखिएको थियो । उक्त घटनालाई आधार मानेर माओवादीले जिपुमा जनवादी मेला सुरु गरेको थियो । उक्त घटनामा मारिएका कलबहादुर खत्रीका छोरा नवीनले शान्ति स्थापना भएपछि पार्टीले आफूहरूलाई बिर्सेको बताए ।

‘शान्ति स्थापना नहुँदै पार्टीले सुरु गरेको मेलाका आकर्षक र महत्त्वका पात्र भनेका हामी नै हुन्थ्यौं,’ नवीनले कान्तिपुरसित भने, ‘पार्टीले दिएको उक्त सम्मानले बुबा गुमेको पीडा पनि कम हुन्थ्यो । तर १२ वर्ष नपुग्दै पार्टीले बिर्सियो ।’ माओवादीले हरेक फागुन १ गते जिपुमा मात्रै होइन, जिल्लाका हरेक गाउँमा जनयुद्ध दिवस भनेर विभिन्न कार्यक्रम गथ्र्यो । सशस्त्र द्वन्द्वका कारण मारिएका गाउँका आफन्तहरूलाई सम्मान गर्थे । मारिनेहरूको चर्चा परिचर्चा गर्थे । बुबाआमा गुमाएका छोराछोरीलाई आमाबाबुको र छोराछोरी गुमाएका बाआमालाई छोराछोरीले ठूलो त्याग, योगदान गरेको महसुस गराउँथे । तर शान्ति स्थापना भएपछि माओवादीले न मारिएकाको चर्चा गरेको छ न त उनीहरूका आफन्तको नै ।

बाँफिकोटकी केशरी खत्रीले आफूहरूलाई पार्टीले नसम्झेको बताइन् । ‘धेरै वर्ष भयो, हामीलाई बोलाएका छैनन् । पहिलेपहिले त बोलाउँथे, दोसल्ला ओढाउँथे,’ उनले भनिन्, ‘हामी पनि तपाईंकै छोरा हौं नि आमा भन्थे । उनीहरू अचेल कता गए कता ।’ सशस्त्र द्वन्द्वका क्रममा उनका छोरा दलबहादुर सुरक्षाकर्मीबाट मारिए । हरेक वर्षको फागुन १ गते छोराको सबैभन्दा बढी याद आउने गरेको उनले बताइन् । ‘जनयुद्ध दिवसमा आमा भनेर पार्टीका धेरै मान्छेहरू आउँथे, कार्यक्रममा बोलाउँथे छोरा आएजस्तै लाग्थ्यो । अब त न कसैले बोलाउँछन्, न कोही आमा भन्न नै आउँछन् । नेताले माया मारिसके,’ खत्रीले भनिन् । गाउँगाउँमा हुने कार्यक्रमले गर्दा सशस्त्र द्वन्द्वको क्रममा बाबुआमा र छोराछोरी गुमाएकाहरूलाई पछुतो लाग्दैनथ्यो । तर, माओवादीले बिर्सिएपछि आफन्त गुमाएकोमा पछुतो लाग्न थालेको उनले बताइन् ।

‘हाम्रा आफन्त गुमे पनि देशमा परिवर्तन त भयो तर उनीहरूको योगदानको सम्मान नहुँदा पछुतो लाग्छ,’ सिस्ने गाउँपालिका ३, रुकुम पूर्वकी भुइली खडकाले भनिन्, ‘शान्ति प्रक्रियामा आएपछि हाम्रा श्रीमानलाई पार्टीले बिर्सिसक्यो ।’ शान्ति स्थापना भएपछि तत्कालीन माओवादी पनि सिङ्गो छैन । विभाजित पार्टीले आआफ्नै शैलीमा दिवस मनाउने गरेका छन् । सहर तथा बजारमा सामान्य औपचारिक कार्यक्रम हुने गरेको छ । माओवादी केन्द्रका जिल्ला संयोजक गोपाल शर्मा भने पार्टीले जनता, सहिद परिवार र घाइते अपाङ्गलाई नबिर्सेको बताए । ‘हामी फागुन १ गतेलाई हरेक वर्ष विशेष दिनकै रूपमा मनाउँदै आएका छौं,’ उनले भने, ‘विगतको जस्तो व्यापक नभए पनि कुनै न कुनै तरिकाबाट पार्टीले जनयुद्ध दिवसलाई सम्झिने गरेको छ ।’ नेकपाका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाले नेपालमा अरू माओवादी नै नरहेकाले आफ्नो पार्टीले मात्र सहिदका आफन्त, घाइते, अपाङ्गहरूको पक्षमा बोलिरहेको दाबी गरे । विगतमा माओवादी भनिएकाहरू जनता र जनजीविकाको पक्षमै नरहेकाहरूले सबैलाई बिर्सेको उनको आरोप छ । ‘साँच्चिकै सहिद परिवारको सम्मान, सहिदको मूल्यांकन र घाइते अपांगको सम्मानका लागि यस पटक पनि पार्टीले विभिन्न कार्यक्रम आयोजना गरेको छ । हामी तिनै कार्यक्रम कार्यान्वयनको क्रममा जनतासँगै छौं,’ बुढाले भने ।

प्रकाशित : फाल्गुन १, २०७४ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?