१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

‘माग धेरै छन् स्रोत छैन’

कान्तिपुर संवाददाता

काठमाडौँ — राज्य पुन:संरचनापछि स्थानीय सरकारका रूपमा जनप्रतिनिधिहरू गाउँ तथा नगरपालिकामा आएसँगै सर्वसाधारणले विकासको अपेक्षा गरेका थिए । विकास निर्माणका सबै प्रक्रियामा जनसहभागिता हुने र सहजै सेवा पाउने आशा थियो ।

‘माग धेरै छन् स्रोत छैन’

१९ वर्ष जनप्रतिनिधिविहीन बनेका स्थानीय तहमा विकासे गतिविधिले तीव्रता पाउने आशा गरेका आम नागरिक अहिले त्यति सन्तुष्ट देखिँदैनन् । जनअपेक्षाअनुसार किन काम भएनन् त ? यसबारे जुम्लाको चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवालले एलपी देवकोटासाग गरेको कुराकानी :

नगरले कसरी काम गरिरहेको छ ?

यो कर्णाली क्षेत्रकै पहिलो नगरपालिका हो । स्थानीय सरकारका रूपमा कार्यपालिकाको निर्णयअनुसारका कार्यक्रमहरू अघि बढाइरहेका छौं । जिल्लामा क्रियाशील राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकारलगायत सरोकारवालाहरूको सल्लाह र सुझावअनुसार अघि बढिरहेको छु ।


तपाईं प्रमुख भएपछि उल्लेखनीय काम के भए ?

नगरपालिकाभित्र सडक सञ्जाल विस्तार गर्ने मुख्य काम अघि बढेको छ । विकासको गतिलाई अघि बढाउन गुरुयोजनाअनुसार अघि बढ्ने सोच छ । चन्दननाथ नगरपालिकाले खलंगामा पहिलो पटक लगानी सम्मेलन गर्दै छ । नगरको विकासका लागि अवधारणापत्र तयार गरी त्यसअनुरूप काम भइरहेको छ ।


पहिलेको नगरपालिका र अहिलेको स्थानीय सरकारमा नागरिकले के भिन्नता पाइरहेका छन् ?

स्थानीय तह गठनपूर्व नगरपालिकाको सम्पूर्ण जिम्मेवारी कर्मचारीहरूले लिएका थिए । कर्मचारीहरूले नै नगरपालिका चलाइरहेका थिए । अहिले स्थानीय तहको सबै जिम्मेवारी जनप्रतिनिधिको काँधमा आएको छ । पहिलेको संरचनाअनुसार केन्द्रको नीति निर्देशनअनुसार, सञ्चालन गरिन्थ्यो भने अहिले आफैंले स्थानीयस्तरमै नीतिहरू निर्माण गरिरहेका छौं । आम नागरिकको सरोकार तत्काल सम्बोधन गरिरहेका छौं ।


स्थानीय तह सञ्चालनमा कस्ता समस्याहरू छन् ?

अहिले स्थानीय तह सञ्चालन गर्न सजिलो छैन । कानुनहरू प्रस्ट छैनन । त्यसैले काम गर्दा धेरै समस्या आइरहेका छन् । मुख्यत: जनआकांक्षा र स्रोतसाधनबीचको तालमेल छैन । स्थानीय स्रोत नहुँदा जनचाहनाअनुरूप काम गर्न सकिएको छैन । माग धेरै छन् । हामीले चाहे पनि सम्बोधन गर्न सकेका छैनांै । बिस्तारै स्रोतको खोजी गरेर एउटा व्यवस्थित सहरको विकास गर्ने योजना छ ।


नगरपालिकाभित्र विद्युत्को समस्या छ । समाधानका लागि के गरिरहनुभएको छ ?

हामीले चुनावी एजेन्डामा विद्युत् बनाएका थियौं । तर, नगरपालिकाको बजेटले विद्युतको वैकल्पिक व्यवस्था गर्न सम्भव देखिएको छैन । तैपनि, नगरपालिका र म व्यक्तिगत रूपमा सरोकारवालाहरूसँग क्षेत्रगत रूपमा छलफल र योजनाहरू अघि बढाइरहेका छौं । अब छिट्टै अहिले सञ्चालनमा रहेको विद्युतको वैकल्पिक व्यवस्था हुनेछ । खलंगाको विद्युत् संकट समाधानका लािग दुईवटा नयाँ आयोजनामा नगरपालिकाले लगानी गरिरहेका छ । सरोकारवालाहरूसँग क्षेत्रगत रूपमा छलफल तथा योजना निर्माण कार्यमा समन्वय गरिरहेका छौं ।


नगरपालिकाको आर्थिक समृद्धिको आधार के हो ?

नगरपालिकामा लगानीमैत्री वातावरण तयार गरिरहेका छौं । आन्तरिक स्रोत वृद्धितर्फ पहल भइरहेको छ । त्यस्तै, लगानी भित्र्याउनेमा हाम्रो ध्यान गएको छ ।


नगरपालिकाका मुख्य चुनौतीहरू के छन् ? यसलाई कसरी समाधान गरिरहनुभएको छ ?

जनताका माग धेरै छ । सम्बोधन गर्न स्रोत छैन । स्रोतसाधनको कमी नै मुख्य चुनौती हो । जनप्रतिनिधि र कर्मचारीहरूबीच तालमेल अर्को चुनौती रहेछ । ऊर्जा संकट समाधान पनि चुनौती मान्नुपर्‍यो । पूर्वाधार निर्माण र आयोजनाहरूमा गुणस्तर कायम गर्नु ठूलो चुनौती भइरहेको छ । म नगरवासीको सकारात्मक सुझाव सल्लाह लिएर अघि बढिरहेको छु । स्थानीय तहको पहिलो अभ्यास भएकाले पनि सिक्दै काम गर्दै गरिरहेको छु ।

प्रकाशित : फाल्गुन १, २०७४ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?