कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णाली राजमार्ग जीर्ण

कालोपत्रे गरेको दुई वर्ष नबित्दै अधिकांश ठाउँमा पिच गरेको अनुमान नै नहुने गरी सडक बिग्रिएको छ
तुलाराम पाण्डे

कालिकोट — निर्माण सकिएको दशक नबित्दै कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक जीर्ण भएको छ । कर्णाली विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकको अधिकांश कालोपत्रे उप्किएको छ भने दुर्घटना रोक्न लगाइएका ‘सेफ्टी बार’ पनि भत्किएका छन् । केही ठाउँमा लगाइएका ढुंगाका पर्खाल पनि भत्किएका छन् । 

कर्णाली राजमार्ग जीर्ण

कर्णाली राजमार्गको दैलेख, कालिकोट र जुम्लाखण्डको सयौं ठाउँमा कालोपत्रे गरेको अनुमान नै नहुने गरी सडक बिग्रिएको छ । कतिपय ठाउँमा पहिरोले पिच भत्काएको छ भने अधिकांश ठाउँमा वर्षाको पानीले बगाएर घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे सडक बन्ने गरेको छ । राजमार्गको राचुली, खल्लागाड, पिली भीर, मान्मको सुनार खोला, सेरिघाट, दैखोलालगायतका ठाउँमा त पिच नै नगरिएको नागरिक समाज कालिकोटका अगुवा लीलाराम न्यौपानेले बताए ।

सुर्खेतको बाङ्गेसिमलबाट सुरु भएर जुम्ला खलङ्गासम्म २ सय ३३ किमि लम्बाइ रहेको कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडकखण्ड दुई चरणमा ओटासिल कालोपत्रे गरिएको हो । विश्व बैंकको सहयोगमा नेपाल सरकारको रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्ट मार्फत पहिलो चरणमा सुर्खेतबाट दैलेखको खिडीज्युला १ सय ३० किलोमिटरसम्म र दोस्रो चरणमा खिडीज्युलादेखि जुम्लासम्म विभिन्न ७ वटा निर्माण कम्पनी मार्फत ओटासिल कालोपत्रेको काम भएको हो । कालोपत्रे गरेको दुई वर्ष नबित्दै अधिकांश ठाउँमा पिच गरेको अनुमान नै नहुने गरी सडक बिग्रिएको गुनासो गर्दै खाडाचक्र १ का धर्मराज ताम्राकारले भने ‘सडक पिच भयो भनेर प्रचार मात्र भयो, दिगो भएन ।’ उनले सुर्खेतदेखि जुम्लासम्मकै सडक दुई लेनको बनाउन पुन: काम गर्नुपर्ने बताए । कर्णालीका कालिकोटको मान्म, जुम्लाको खलंगासम्म कालोपत्रे सडक पुर्‍याउने उद्देश्यले सस्तो प्रविधिको ओटासिल कालोपत्रे गरिएको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख बेलबहादुर भुजेलले बताए । केही ठाउँमा पहिले नै कालोपत्रे गर्न बाँकी राखिएको हो ।’ उनले सबैभन्दा बढी दैलेखको तल्लो डुंगेश्वरमाथि ५ किलोमिटर सडक नै कालोपत्रे गर्न बाँकी रहेको जानकारी दिंदै बाँकी रहेका ठाउँमा रोड सेक्टर डेभलपमेन्ट प्राजेक्ट (आरएसडीपी) को सहयोगमा ओटासिल हाल्ने तयारी भइरहेको बताए ।

राजमार्गको अप्ठयारो र भीर भएको खण्डमा फलामे बार लगाउने काम पनि गत वर्ष नै सकिएको इन्जिनियर भुजेलले बताए । उनका अनुसार सुर्खेतबाट दैलेख तल्लो डुंगेश्वरसम्म ८ किमि र त्यसमाथि जुम्लासम्म २१ किमिमा फलामे बार लगाउने काम सकिएको हो । तर, त्यसरी लगाइएको बार पनि केही ठाउँमा पहिरोले भाँचिएको छ भने दर्जनभन्दा बढी ठाउँमा स्थानीय सडक निर्माण गर्ने क्रममा माथिबाट आएका ढुंगा लागेर भाँचिएको छ । ‘सेफ्टी बारले गाडी र यात्रु दुवैको सुरक्षा गर्छ ।’

डिभिजन प्रमुख भुजेलले भने, ‘सबैलाई सुरक्षित महसुस हुन्छ ।’ कर्णाली राजमार्गको मर्मत सम्भारका लागि यस वर्ष १ करोड मात्र बजेट छ । २ सय ३२ किमि साँघुरो र अप्ठयारो कर्णाली राजमार्गमा १ करोड बजेटले काम हुन नसक्ने सडक विभागकै इन्जिनियरको भनाइ छ । कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडकको ०६३ चैत ३० गते ट्रयाक खोलिएको थियो ।

अझै बनेनन् पुल

कर्णाली राजमार्गअन्तर्गत ९ वटा निर्माणाधीन पुल अझै सम्पन्न भएका छैनन् । सबैभन्दा बढी कालिकोटमा ५, दैलेखमा ४ पुल ठेक्कापट्टा भएको वर्षौं भए पनि काम सकिएको छैन ।

प्रकाशित : फाल्गुन २, २०७४ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?