हिमपातले सडक अवरुद्ध

राजबहादुर शाही, विष्णुलाल बुढा

मुगु/डोल्पा — अत्यधिक हिमपातका कारण गमगढी–नाग्मा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि मुगु सदरमुकाम गमगढीबाट बाहिरिने र नेपालगन्ज तथा सुर्खेतबाट गमगढी आउने सवारी साधनहरू बीच बाटोमै अलपत्र परेका छन् । 

मुगु र जुम्लाको सिमाना घुच्चीलेकमा करिब तीन फिट बढी हिउँ जमेपछि यात्रुवाहक र मालवाहक गाडी आउजाउमा समस्या भएको हो । हिमपातले सडक अवरुद्ध हुँदा एक दर्जन बढी सवारी साधन गमगढीमै रोकिएका छन् । हिमपातले गाडी रोकिँदा बीच बाटोमा समान अलपत्र परेको व्यापारी रवि रावतले बताए । हिउँ पग्लिन केही दिन लाग्ने भएकाले समस्या भएको उनको भनाइ छ । सडक अवरुद्ध भएपछि स्थानीयलाई बाहिर जान समस्या भएको छ । गमगढी–नाग्मा सडक सञ्चालन भएको सात वर्षसम्म समेत स्तरोन्नति नहुँदा हिमपात र बर्सातको समयमा यातायात सेवा बन्द हुने गरेको छ ।

Yamaha

हिमपातले अवरुद्ध बनेको गमगढी–नाग्मा सडक डोजर लगाएर खुलाउन जुम्लास्थित सडक डिभिजन कार्यालयलाई खबर गरिएकोप्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।
हिउँ हटाउन भ्याइनभ्याई
हिमपातपछि घरको छाना, आँगन र करेसाबारीमा हिउँ जमेपछि स्थानीयलाई हिउँ हटाउन भ्याइनभ्याई भएको छ । कार्कीबाडा, तलितुम, माथितुम, हेन्नीकाँध, सायाखोला, ताल्चा, ढुम, सोवालगायतका गाउँहरूमा एक फिट बढी हिउँ परेपछि स्थानीयलाई भ्याइनभ्याई भएको हो ।
कच्ची घरको छतमा जमेको हिउँ नहटाउँदा घर चुहिने भएकाले स्थानीय हिउँ हटाउन व्यस्त बनेका हुन । घर माथि करिव एक फिट जमेको हिउँ फाल्ने काम भइरहेको तलितुम गाउँका नवराज रावलले बताए । हिमपातले अन्न उत्पादन बढ्ने भन्दै स्थानीय खुसी भएको उनले बताए । घरको छतमा जमेको हिउँ डल्ला बनाएर स्याउको बोटमा राख्ने गरिएको उनको भनाइ छ । सोमबार भएको हिमपातले अग्ला डाँडाहरू सेताम्मे बनेका छन् । समुद्री सतहबाट २९ फिटमाथिका बस्तीहरूमा हिमपात भएको छ ।
गमगढीमा हिउँ खेल्नेको लर्को
सदरमुकाम आसपासका क्षेत्रमा भने स्थानीयहरू हिउँ खेल्न व्यस्त छन् । सदरमुकामका स्थानीयवासी, व्यापारी र कर्मचारीले हिउँ खेल्दै रमाइलो गरेका हुन् । मंगलबार शिवरात्रिको बिदा परेकाले हिउँ खेल्दै रमाइलो गरिएको हो । एक्कासि भएको हिमपातले सदरमुकाममा चहलपहल बढेको छ । वर्षकै ठूलो हिमपात भए पनि कुनै पनि असामान्य घटना नभएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।
आउजाउ बन्द
भारी हिमपातका कारण स्थानीयको जनजीवन प्रभावित भएको छ । हिमपातले माथिल्लो डोल्पाका साल्दाङ, तिन्जे, भिजेर, छार्कालगायतका बस्तीहरूमा केही दिनका लागि आउजाउ बन्द भएको छ । माथिल्लो डोल्पाका अधिकांश बस्तीमा हिमपात भएपछि तल्लो क्षेत्रसँग सम्पर्क विच्छेद भएको हो ।

प्रकाशित : फाल्गुन २, २०७४ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्

कर्णाली राजमार्ग जीर्ण

कालोपत्रे गरेको दुई वर्ष नबित्दै अधिकांश ठाउँमा पिच गरेको अनुमान नै नहुने गरी सडक बिग्रिएको छ
तुलाराम पाण्डे

कालिकोट — निर्माण सकिएको दशक नबित्दै कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक जीर्ण भएको छ । कर्णाली विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकको अधिकांश कालोपत्रे उप्किएको छ भने दुर्घटना रोक्न लगाइएका ‘सेफ्टी बार’ पनि भत्किएका छन् । केही ठाउँमा लगाइएका ढुंगाका पर्खाल पनि भत्किएका छन् । 

सुर्खेत–जुम्ला सडकअन्र्तगत कालिकोटको ताडीभीरमा माथिबाट ढुंगाले भाँचिएर जीर्ण बनेको सेफ्टी बार ।तस्बिर : तुलाराम/कान्तिपुर

कर्णाली राजमार्गको दैलेख, कालिकोट र जुम्लाखण्डको सयौं ठाउँमा कालोपत्रे गरेको अनुमान नै नहुने गरी सडक बिग्रिएको छ । कतिपय ठाउँमा पहिरोले पिच भत्काएको छ भने अधिकांश ठाउँमा वर्षाको पानीले बगाएर घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे सडक बन्ने गरेको छ । राजमार्गको राचुली, खल्लागाड, पिली भीर, मान्मको सुनार खोला, सेरिघाट, दैखोलालगायतका ठाउँमा त पिच नै नगरिएको नागरिक समाज कालिकोटका अगुवा लीलाराम न्यौपानेले बताए ।
सुर्खेतको बाङ्गेसिमलबाट सुरु भएर जुम्ला खलङ्गासम्म २ सय ३३ किमि लम्बाइ रहेको कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडकखण्ड दुई चरणमा ओटासिल कालोपत्रे गरिएको हो । विश्व बैंकको सहयोगमा नेपाल सरकारको रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्ट मार्फत पहिलो चरणमा सुर्खेतबाट दैलेखको खिडीज्युला १ सय ३० किलोमिटरसम्म र दोस्रो चरणमा खिडीज्युलादेखि जुम्लासम्म विभिन्न ७ वटा निर्माण कम्पनी मार्फत ओटासिल कालोपत्रेको काम भएको हो । कालोपत्रे गरेको दुई वर्ष नबित्दै अधिकांश ठाउँमा पिच गरेको अनुमान नै नहुने गरी सडक बिग्रिएको गुनासो गर्दै खाडाचक्र १ का धर्मराज ताम्राकारले भने ‘सडक पिच भयो भनेर प्रचार मात्र भयो, दिगो भएन ।’ उनले सुर्खेतदेखि जुम्लासम्मकै सडक दुई लेनको बनाउन पुन: काम गर्नुपर्ने बताए । कर्णालीका कालिकोटको मान्म, जुम्लाको खलंगासम्म कालोपत्रे सडक पुर्‍याउने उद्देश्यले सस्तो प्रविधिको ओटासिल कालोपत्रे गरिएको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख बेलबहादुर भुजेलले बताए । केही ठाउँमा पहिले नै कालोपत्रे गर्न बाँकी राखिएको हो ।’ उनले सबैभन्दा बढी दैलेखको तल्लो डुंगेश्वरमाथि ५ किलोमिटर सडक नै कालोपत्रे गर्न बाँकी रहेको जानकारी दिंदै बाँकी रहेका ठाउँमा रोड सेक्टर डेभलपमेन्ट प्राजेक्ट (आरएसडीपी) को सहयोगमा ओटासिल हाल्ने तयारी भइरहेको बताए ।
राजमार्गको अप्ठयारो र भीर भएको खण्डमा फलामे बार लगाउने काम पनि गत वर्ष नै सकिएको इन्जिनियर भुजेलले बताए । उनका अनुसार सुर्खेतबाट दैलेख तल्लो डुंगेश्वरसम्म ८ किमि र त्यसमाथि जुम्लासम्म २१ किमिमा फलामे बार लगाउने काम सकिएको हो । तर, त्यसरी लगाइएको बार पनि केही ठाउँमा पहिरोले भाँचिएको छ भने दर्जनभन्दा बढी ठाउँमा स्थानीय सडक निर्माण गर्ने क्रममा माथिबाट आएका ढुंगा लागेर भाँचिएको छ । ‘सेफ्टीबारले गाडी र यात्रु दुवैकोसुरक्षा गर्छ ।’
डिभिजन प्रमुख भुजेलले भने, ‘सबैलाई सुरक्षित महसुस हुन्छ ।’ कर्णाली राजमार्गको मर्मत सम्भारका लागि यस वर्ष १ करोड मात्र बजेट छ । २ सय ३२ किमि साँघुरो र अप्ठयारो कर्णाली राजमार्गमा १ करोड बजेटले काम हुन नसक्ने सडक विभागकै इन्जिनियरको भनाइ छ । कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडकको ०६३ चैत ३० गते ट्रयाक खोलिएको थियो ।
अझै बनेनन् पुल
कर्णाली राजमार्गअन्तर्गत ९ वटा निर्माणाधीन पुल अझै सम्पन्न भएका छैनन् । सबैभन्दा बढी कालिकोटमा ५, दैलेखमा ४ पुल ठेक्कापट्टा भएको वर्षौं भए पनि काम सकिएको छैन ।

प्रकाशित : फाल्गुन २, २०७४ ११:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT