कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हिमपातले सडक अवरुद्ध

मुगु/डोल्पा — अत्यधिक हिमपातका कारण गमगढी–नाग्मा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि मुगु सदरमुकाम गमगढीबाट बाहिरिने र नेपालगन्ज तथा सुर्खेतबाट गमगढी आउने सवारी साधनहरू बीच बाटोमै अलपत्र परेका छन् । 

हिमपातले सडक अवरुद्ध

मुगु र जुम्लाको सिमाना घुच्चीलेकमा करिब तीन फिट बढी हिउँ जमेपछि यात्रुवाहक र मालवाहक गाडी आउजाउमा समस्या भएको हो । हिमपातले सडक अवरुद्ध हुँदा एक दर्जन बढी सवारी साधन गमगढीमै रोकिएका छन् । हिमपातले गाडी रोकिँदा बीच बाटोमा समान अलपत्र परेको व्यापारी रवि रावतले बताए । हिउँ पग्लिन केही दिन लाग्ने भएकाले समस्या भएको उनको भनाइ छ । सडक अवरुद्ध भएपछि स्थानीयलाई बाहिर जान समस्या भएको छ । गमगढी–नाग्मा सडक सञ्चालन भएको सात वर्षसम्म समेत स्तरोन्नति नहुँदा हिमपात र बर्सातको समयमा यातायात सेवा बन्द हुने गरेको छ ।

हिमपातले अवरुद्ध बनेको गमगढी–नाग्मा सडक डोजर लगाएर खुलाउन जुम्लास्थित सडक डिभिजन कार्यालयलाई खबर गरिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

हिउँ हटाउन भ्याइनभ्याई

हिमपातपछि घरको छाना, आँगन र करेसाबारीमा हिउँ जमेपछि स्थानीयलाई हिउँ हटाउन भ्याइनभ्याई भएको छ । कार्कीबाडा, तलितुम, माथितुम, हेन्नीकाँध, सायाखोला, ताल्चा, ढुम, सोवालगायतका गाउँहरूमा एक फिट बढी हिउँ परेपछि स्थानीयलाई भ्याइनभ्याई भएको हो ।

कच्ची घरको छतमा जमेको हिउँ नहटाउँदा घर चुहिने भएकाले स्थानीय हिउँ हटाउन व्यस्त बनेका हुन । घर माथि करिव एक फिट जमेको हिउँ फाल्ने काम भइरहेको तलितुम गाउँका नवराज रावलले बताए । हिमपातले अन्न उत्पादन बढ्ने भन्दै स्थानीय खुसी भएको उनले बताए । घरको छतमा जमेको हिउँ डल्ला बनाएर स्याउको बोटमा राख्ने गरिएको उनको भनाइ छ । सोमबार भएको हिमपातले अग्ला डाँडाहरू सेताम्मे बनेका छन् । समुद्री सतहबाट २९ फिटमाथिका बस्तीहरूमा हिमपात भएको छ ।

गमगढीमा हिउँ खेल्नेको लर्को

सदरमुकाम आसपासका क्षेत्रमा भने स्थानीयहरू हिउँ खेल्न व्यस्त छन् । सदरमुकामका स्थानीयवासी, व्यापारी र कर्मचारीले हिउँ खेल्दै रमाइलो गरेका हुन् । मंगलबार शिवरात्रिको बिदा परेकाले हिउँ खेल्दै रमाइलो गरिएको हो । एक्कासि भएको हिमपातले सदरमुकाममा चहलपहल बढेको छ । वर्षकै ठूलो हिमपात भए पनि कुनै पनि असामान्य घटना नभएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

आउजाउ बन्द

भारी हिमपातका कारण स्थानीयको जनजीवन प्रभावित भएको छ । हिमपातले माथिल्लो डोल्पाका साल्दाङ, तिन्जे, भिजेर, छार्कालगायतका बस्तीहरूमा केही दिनका लागि आउजाउ बन्द भएको छ । माथिल्लो डोल्पाका अधिकांश बस्तीमा हिमपात भएपछि तल्लो क्षेत्रसँग सम्पर्क विच्छेद भएको हो ।

प्रकाशित : फाल्गुन २, २०७४ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?