१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मुख्यमन्त्रीमा शाही नियुक्त

कान्तिपुर संवाददाता

सुर्खेत — प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही नियुक्त भएका छन् । एमाले र माओवादीका सांसदहरूको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएपछि प्रदेशसभा सदस्य शाही मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख दुर्गाकेशर खनालले नेपालको संविधानको धारा १६८ (२) बमोजिम बिहीबार अपराह्न शाहीलाई मुख्यमन्त्रीमा नियुक्ति गरे । मुख्यमन्त्रीको शपथग्रहण शुक्रबार दिउँसो हुनेछ । एमालेले आलोपालो नेतृत्व माग राखेपछि प्रदेश ६ को मुख्यमन्त्रीमा ढिलाइ भएको हो । बिहीबार दिनभरको वार्तापछि अपराह्न सांसदहरूको हस्ताक्षरसहितको पत्र लिएर दुवै दलका सांसदहरू प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।


को हुन् शाही ?

कालीकोट प्रदेश सभा (ख) बाट निर्वाचित सांसद शाही पूर्व ऊर्जामन्त्रीसमेत हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेर चर्चामा आएका शाही माओवादी सेनाको छैटौं डिभिजन कमान्डर थिए । पार्टीमा ‘प्रज्वल’ उपनामले चिनिने शाही ६ नम्बर र ७ नम्बर डिभिजनको कमान्डर बनेका थिए । सेना समायोजनमा सम्मानजनक पद नपाएपछि उनले पार्टी राजनीति रोजेका थिए ।

कालीकोटको पाँचलझरना गाउँपालिका साबिकको नानीकोट ८ मा जन्मिएका ४१ वर्षीय शाही जनयुद्धको सुरुवातदेखि नै भूमिगत भएका थिए । उनका बुवा लालबहादुर शाही पञ्चायतकालमा प्रधानपञ्च थिए । आफूलाई पढाउने शिक्षककै सल्लाहअनुसार ०४८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनलाई प्रहरीले लगत्तै वारेन्ट जारी गरेको थियो । उनले जनयुद्धको प्रारम्भमा छापामार र संगठनमा समानान्तर भूमिका निर्वाह गरे । जनसेनाको कमान्डर भएर दर्जनौं आक्रमणमा युद्ध मोर्चाको नेतृत्व गरेका थिए ।


केही मन्त्रीले शपथ लिने

मुख्यमन्त्रीसँगै शुक्रबार केही मन्त्री नियुक्त गर्ने सत्तासाझेदार दुई दलको तयारी छ । यसका लागि बिहीबार साँझदेखि नै गठबन्धनका नेताहरू छलफलमा जुटेका छन् । मन्त्रीका लागि एमालेमा दैलेखका अम्मरबहादुर थापा, मीनासिंह रखाल, सल्यानका गुलाबजंग शाह, मुगुका चन्द्रबहादुर शाही, हुम्लाका दल रावल, सुर्खेतका पद्मा खडका, खडक खत्रीले दाबी गर्दै आएका छन् । तीमध्ये शाही र थापा पूर्वसांसद हुन् । माओवादीमा सुर्खेतकी सीता नेपाली, रुकुमका गोपाल शर्मा, विमला केसी, सुर्खेतका विन्दमान विष्ट, ठम्मर विष्ट, दैलेखका धर्मराज रेग्मीलगायत दाबेदार छन् । आकांक्षीहरूले प्रदेशका दुई प्रभावशाली नेताहरू शक्ति बस्नेत र जनार्दन शर्मासमक्ष मन्त्रीका लागि चर्को लबिइङ गरिरहेको स्रोतले जनायो । मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद् कार्यालयले तत्काललाई ६ मन्त्रालय स्थापना गर्ने तयारी छ । भौतिक पूर्वाधार मन्त्रालय, वन, वातावरण तथा विज्ञान मन्त्रालय, सहकारी, पशु सेवा, भूमि व्यवस्थापन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालय रहनेछन् ।

प्रकाशित : फाल्गुन ४, २०७४ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?