कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

धामीझाँक्रीकै भरमा उपचार

कान्तिपुर संवाददाता

सल्यान — ढोडचौर गाउँपालिका माझखर्ककी ५६ वर्षीया धनीसरा घर्ती धेरैपटक बिरामी भइन् । उपचारका लागि स्वास्थ्य संस्था पुग्न डेढ घण्टा बढी हिँड्नुपर्ने बाध्यताले उनले सधैं धाँमीझाक्रीकै भरमा उपचार गराउँदै आएकी छन् ।

धामीझाँक्रीकै भरमा उपचार

उनकी छिमेकी विमला बोहरा धामीले ठीक गर्न नसकेपछि मात्र स्वास्थ्य संस्था जाने गरेको बताउँछिन् । ज्वरोले ग्रस्त भएकी उनले अहिलेपनि धामीझाँक्रीलाई देखाउँदै आएको सुनाइन् । उनीहरू मात्र होइन, यहाँका अधिकांश बिरामी पर्दा धामीझाँक्रीकै भर पर्छन् ।

बिरामीहरू अन्तिम अवस्थामा मात्र स्वास्थ्य संस्थामा जाने गरेका छन । अशिक्षा, औषधि अभाब, स्वास्थ्यकर्मीको नियमित उपस्थिति नहुँनु, भौगोलिक बिकटलगायत कारण सर्वसाधारण धामीझाँक्रीकै भर परेका हुन् । गाउँमा स्वास्थ्य संस्था र मेडिकल भए पनि स्थानीयले डाक्टरको भन्दा बढी बिश्वास धाँमीझाक्रीको मान्ने मूलखोलाका पठवीर थापा बताउँछन् । उनका अनुसार गाउँमा दैनिक दुई घरमा धामी बसिरहेका हुन्छन् ।

बिरामी लैजाने बाटो अप्ठयारो हुनु, भनेको समयमा स्वास्थ्यकर्मी नभेटिनु र युवाहरू रोजगारीका लागि बिदेसिएकाले बिरामी बोक्ने मानिसको कमीलगायत कारण धामीझाँक्रीको भर पर्नुपरेको बन्गाडकुपिण्डे नगरपालिका ९ गिठाचौरका प्रेमबहादुर विकले बताए । विश्वास लाग्ने भएकाले घरमा कोही बिरामी भएमा अर्को गाउँमा गएर धामी ल्याउने गरेको उनको भनाइ छ ।

गाउँ–गाउँमा स्वास्थ्य चौकी स्थापना भए पनि परम्परागत मान्यताले जरा गाडेको माँझकाडाका भीमबहादुर घर्ती बताउँछन् । ‘धामीझाँक्रीको भर पर्दा गाउँलेको धरै रकम खर्च हुँदै आएको छ । कतिले ऋण लिएरसमेत धामी झाँक्रीसँग उपचार गराउने गरेका छन्,’ उनले भने, ‘गाउँमा दैनिकजसो ढ्यांग्रो बज्छ तर नजिकैको स्वास्थ्यचौकीमा कोही जाँदैनन् ।’

अशिक्षा र चेतना अभावले धामीझाँक्रीप्रति सर्वसाधारणको विश्वास रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । अबस्था जटिल भएपछि मात्र बिरामीलाई उपचारका लागि स्वास्थ्यसंस्थामा ल्याउँदा ज्यानको जोखिम हुने गरेको बन्गाडकुपिण्डे नगरपालिकाका स्वास्थ्य संयोजक वाशुदेव पोखरेलले बताए । स्वास्थ्य संस्थामार्फत विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गरिरहेको उनको भनाइ छ । ‘बिरामी भएमा धामीझाँक्री बसाउने यहाँको चलनमा परिवर्तन हुन सकेको छैन । स्वास्थ्यसंस्थामा ल्याएर उपचार गराउनुस् भन्दा कसैले मान्दैनन्,’ उनले भने, ‘जब बिरामीको स्वास्थ्य जटिल बन्छ, त्यसपछि मात्रै स्वास्थ्य संस्थामा आउने गरेका छन् ।’ उनले धामीझाँक्रीको भर पर्दा धेरै बिरामीले ज्यान गुमाएको बताए ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?