कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पञ्चेबाजा जोगाउँदै युवा

एलपी देवकोटा

जुम्ला — पश्चिमा संस्कृतिको प्रभावले लोप हुने अवस्थामा पुगेको मौलिक बाजा (पञ्चे बाजा) जोगाउन यहाँका युवा जुटेका छन् । 

पञ्चेबाजा जोगाउँदै युवा

स्थानीय संस्कृति र परम्पराअनुसार बजाइने मौलिक बाजा संरक्षण गरी व्यावसायिक बनाउन दलित युवाले अभियान थालेका हुन् । विवाह, व्रतबन्ध, विभिन्न पर्व, उत्सवमा बजाइने पञ्चेबाजाको संरक्षणका लागि उनीहरूले समूह बनाएका छन् । जुम्ला चन्दननाथ १ का युवा समूहबाटै बाजा बजाउन विभिन्न स्थानमा पुग्ने गरेका छन् । पञ्चेबाजा बजाउँदा स्थानीय घाँघरसहितको पोसाक लगाउँछन् । त्यस्तै, परम्पराअनुसार नाचेर बाजा बजाउने गरिएको चन्दननाथ १, तलिचौरका पञ्चेबाजाका नाइके पदम परियारले बताए । ‘पछिल्लो समय आधुनिकतासँगै पश्चिमा संस्कृतिको प्रभावका कारण गाउँघरमा पञ्चेबाजा बजाउने मानिस नै भेटिँदैनन्,’ उनले भने, ‘जुम्लाको जुनसुकै ठाउँमा पर्व भए पनि हामी बाजा बजाउन जाने गरेका छौं ।’

पञ्चेबाजाको समूहमा दमाहा, ट्याम्को, सनाई, झ्याली र नरसिंहा पर्छन् । यी बाजा बजाउन जान्ने कलाकारको अभाव भएसँगै अहिले बाजाको निर्माण पनि कम हुँदै गएको छ । गाउँमा विवाह, व्रतबन्ध तथा अन्य शुभकार्यमा समेत बाजा बजाउने मानिसको अभाव भएपछि आफूहरू समूहमा लागेर बाजा बजाउन लागेको युवाले बताए । ‘पञ्चेबाजा बजाउने विशेष गरी हामी दमाईं जातिले मात्र हो । त्यसैले बाजा बनाउने र बजाउने मानिसको अभाव हुँदै गएको हो,’ उनले भने, ‘आफ्नो पहिचान मेटिन थालेको थाहा पाएरै व्यावसायिक रूपमा समूह बनाएका छौं ।’

६० को दशकअघि कर्णालीका हरेक शुभकार्यमा पञ्चेबाजा बजाउने गरिन्थ्यो । तर, विकाससँगै कर्णालीमा अहिले आयातीत बाजाले प्रश्रय पाउँदै गएको स्थानीय युवा कन्न दमाईंले बताए । ‘शिक्षाको स्तर सुधार हुँदै गएपछि मौलिकता हराउँदै गएको छ,’ उनले भने, ‘आधुनिकता बढ्यो भन्दैमा आफ्नो पहिचान नै बिर्सनु त भएन नि ? त्यसैले हामीले दोस्रो पेसाका रूपमा बाजा बजाउने काम गरेका छौं ।’ मुख्य पेसा कपडा सिलाउने भए पनि उनीहरूले निमन्त्रणा पाएसम्म फुर्सद मिलाएर बाजाको पोसाकसहित बाजा बजाउन जाने गरेका छन् ।

बाजा बजाउन १२ देखि १८ जनासम्मको समूहमा मिलेर जाने गर्छन् । जाँदा स्थान हेरेर उनीहरूले एक दिनको सात सयदेखि एक हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । बाजा बजाउन समूहमा गए पनि बजाउन बोलाएको आयोजकको अवस्था, स्थान र अवसर हेरेर फरकफरक पारिश्रमिक लिने गरेको उनीहरू बताउँछन् । त्यसले अहिले पञ्चेबाजाको संस्कृति पुन:स्थापित हँुदै छ । मौलिकता र संस्कृतिको संरक्षणका लागि कुनै एक जात विशेषले मात्र गरेर नहुने भन्दै सबैले संरक्षणका लागि जागरुक हुनुपर्ने स्थानीय फागुने दमाईंले बताए । ‘हामीले एक जातले मात्रै बाजा बजाउने ठेक्का लिएका छैनौं,’ उनले भने, ‘परम्परगत रूपमा बजाई आएका हामी पनि संलग्न भएका हौं । तर, यस्ता मौलिक बाजा र संस्कृतिको जगेर्ना गर्न सबैले यसप्रति चासो देखाउनुपर्छ ।’

पछिल्लो समय कर्णालीका स्थानीय राजनीतिक दलका विभिन्न कार्यक्रम महोत्सव र विभिन्न पर्वमा पञ्चेबाजा बजाइने गरे पनि व्यावसायिक हुन नसक्दा बाजा बजाउने मानिसको आकर्षण भने घटै गएको छ । पञ्चेबाजा बजाउनेलाई सम्मान नहुने भएकाले यस क्षेत्रबाट पुराना कलाकार विस्थापित भइरहेको स्थानीय हरि दमाईंले बताए ।


शुभकार्यमा पञ्चेबाजा

हरेक शुभकार्य हुँदा पञ्चेबाजा बजाइने गरिन्छ । विवाह, व्रतबन्ध, घरपैंसो, रोपाइँ, चोपाइँलागायत कार्य गर्दा पञ्चेबाजा प्रयोग गर्ने गरिन्छ । तर, पछिल्लो समय जुम्लामा सरकारी तथा संघसंस्थाले आयोजना गर्ने विभिन्न कार्यक्रममा समेत पञ्चेबाजाको प्रयोग बढदै गएको छ । जिल्लामा नेता तथा ठूला व्यवसायी आउँदा पनि स्वागतको रूपमा पञ्चेबाजा बजाइने गरेको स्थानीय पूर्णसिंह कठायतले बताए । ‘पहिलेपहिले गाउंँघरमा हुने शुभकार्यमा मात्र पञ्चेबाजा बजाउने र नाच्ने गरिन्थ्यो,’ उनले भने, ‘अहिले त स्वागतका लागि पनि पञ्चेबाजा बजाउने र नाच्ने गरिन्छ ।’ राजनीतिक दलहरूले आफ्नो राजनीतिक कार्यक्रममा पनि पञ्चेबाजालाई प्रथामिकता दिने गरेका छन् ।


प्रकाशित : फाल्गुन ५, २०७४ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?