कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पूर्वलडाकुको हातमा प्रदेश

कान्तिपुर संवाददाता

सुर्खेत — संविधानसभा सदस्य र ऊर्जामन्त्रीका रूपमा शपथ लिँदा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही कोट–पाइन्टमै सजिएका थिए । माघ ७ मा वीरेन्द्रनगरमा आयोजित प्रदेशसभा सदस्यहरूको शपथग्रहणमा पनि उही भेष थियो ।

प्रदेशसभाको ऐतिहासिक पहिलो बैठकमा माओवादी केन्द्रका १३ सांसदमध्ये राष्ट्रिय पोसाक (दौरा–सुरवाल) लगाउने दैलेखका धर्मराज रेग्मी एक्ला थिए । प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भइसकेपछि शाही आफ्नै पार्टीका सांसदहरूलाई चकित पार्दै शुक्रबार दौरा–सुरुवाल र ढाका टोपीमा झुल्किए । प्रदेश प्रमुख कार्यालय परिसरमा आयोजित शपथग्रहण समारोह प्रवेश गर्दैगर्दा उनीतर्फ सबैको नजर मोडियो ।

प्रदेश प्रमुख दुर्गाकेशर खनालले सभामुख राजबहादुर शाहीको उपस्थितिमा नवनियुक्त मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ खुवाए । शपथग्रहण समारोहमा प्रदेश प्रमुख, सभामुखसँगै उच्च अदालतका मुख्य न्यायाधीश हरिकुमार पोखरेल भने थिएनन् । शपथग्रहणपछि मुख्यमन्त्री शाहीलाई माओवादी केन्द्रका प्रदेश इन्चार्ज एवं पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत, एमाले संसदीय दलका नेता यामलाल कँडेल, प्रदेशसभा सदस्यहरू, प्रदेश मन्त्रालयका सचिवलगायत राष्ट्रसेवक कर्मचारीहरू, दलका नेता/कार्यकर्ताहरूले बधाई तथा शुभकामना दिएका थिए । शपथग्रहण समारोहमा विपक्षी दलका नेता कांग्रेस सांसद जीवनबहादुर शाही उपस्थित थिएनन् ।

प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रलाई दिने पार्टी केन्द्रको निर्णयपछि असन्तुष्ट बनेका एमाले संसदीय दलका नेता यामलाल कँडेलले माला लगाएर बधाई दिँदा शाहीले अंकमाल गरेका थिए । एमालेसँगको लामो रस्साकसीपछि मुख्यमन्त्री बन्न सफल भएका उनले मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद् कार्यालयमा पदभार गर्ने क्रममा सबै पक्षसँग मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?