कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

पुतली दरबारको पुनर्निर्माण भएन

विप्लव महर्जन

सल्यान — त्रिवेणी गाउँपालिका ४ फलाबाङ, रावतगाउँस्थित पुतली दरबार भत्किएको छ । दरबार भत्किए पनि पुनर्निर्माणमा कसैको चासो देखिएको छैन । ऐतिहासिक महत्त्वको दरबार पुनर्निर्माण भए आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्ने स्थानीयले बताएका छन् । 

सदरमुकाम खलंगादेखि ९ कोष पूर्वमा पर्ने पुतली दरबार सल्यानी राजाले फलाबाङका राजालाई पराजित गरेपछि लक्ष्मीनारायण शाहका जेठा छोरा शम्शेरबहादुर शाहले १९६६ सालमा बनाएका थिए । १९५५ देखि सुरु गरेको दरबार निर्माण गर्न ११ वर्ष लागेको थियो । दरबारमा ५५ वटा कोठा थिए भने १ सय ८ वटा भः्यालढाेका थिए । दरबार भत्किएपछि अहिले उक्त स्थानमा माटोको थुप्रो मात्रै देखिन्छ ।


दरबार भएको स्थल अतिक्रमण गरेर स्थानीयले घुम्ती सञ्चालन गरेका छन् भने दरबार अगाडिको जग्गा गाडी पार्किङ स्थल बनेको छ । दरबारको दुई बिघा जग्गा छ । संरक्षणमा ध्यान नपुग्दा पर्यटकीय क्षेत्रको रूपमा परिचित फलाबाङ दरबारको पहिचान संकटमा परेको स्थानीय कुलबहादुर भण्डारीले बताए । उनका अनुसार ०५५ सालसम्म दरबार हेर्न पर्यटक देखिन्थे । द्वन्द्वको समयमा तत्कालीन माओवादी कार्यकर्ताहरूले काठका टुँडाल, भःयालढाेका र अन्य सामग्री लगेका थिए । त्यसपछि दरबार भत्कँदै गएको उनको भनाइ छ ।


‘मुख्य संरचना नै तहसनहस भएपछि दरबारको २ बिघा जग्गा र धनसारका लागि बनाएको सानो भवन मात्र बाँकी छ,’ उनले भने । दरबार आसपासमा महत्त्वपूर्ण प्राचीन वस्तुहरू हुन सक्ने स्थानीयले बताएका छन् । केही वर्ष अघिसम्म जिल्लाको गौरवको रूपमा चिनिने दरबार संरक्षण अभावमा भत्किएको स्थानीय शारदा नेपालीले बताइन् । दरबार संरक्षण र पुनर्निर्माणका लागि पटकपटक माग गरिरहेको उनको भनाइ छ । पुनर्निर्माणका लागि पुरातत्व विभागमा अनुरोध गरे पनि व्यक्तिका नाममा जग्गा भएकाले समस्या भएको त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले बताए । ‘दरबार सबैको आस्थाको केन्द्र थियो । स्थानीयवासी र सरोकारवालाले समयमै ध्यान नदिँदा दरबार भत्किएको हो,’ उनले भने, ‘अब व्यक्तिको नाममा रहेको जग्गा सरकारीकरण गरी पुनर्निर्माणको प्रक्रिया अगाडि बढाउन पहल गरिनेछ ।’

प्रकाशित : फाल्गुन ६, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?