कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘प्रदेश सहिद’ का तस्बिर राख्न माग

उपसभामुखमा पुष्पा घर्ती 
मस्यौदा समिति गठन
प्रकाश अधिकारी

सुर्खेत — प्रदेशसभाको बैठकमा प्रदेशसभा हल तथा प्रदेश मन्त्रिपरिषद् कार्यालयमा सहिदका तस्बिर राख्न माग गरिएको छ । शनिबार बसेको प्रदेशसभाको तेस्रो बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीले प्रदेश प्राप्तिको आन्दोलनमा ज्यान गुमाएका चार सहिदको तस्बिर राख्न माग गरे ।

‘प्रदेश सहिद’ का तस्बिर राख्न माग

‘उपसभामुख पदमा पुष्पा घर्ती विष्टलाई निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा उनले प्रदेशसभा र प्रदेश मन्त्रिपरिषद् कार्यालयमा तत्काल सहिदका तस्बिर राख्न आग्रह गरे । प्रदेश स्थापनाका क्रममा ०७२ साउन/भदौमा सञ्चालित १३ दिने आन्दोलनमा सुर्खेतका यामबहादुर बीसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कँुवरले ज्यान गुमाएका थिए ।

सांसद रेग्मीले सहिदको सम्मान गर्न नसके गन्तव्यमा पुग्ने सपना अधुरै रहने बताए ।

निर्वाचित भएपछि पहिलो लिखित मन्तव्य दिँदै सभामुख राजबहादुर शाहीले कुनै राजनीतिक दलको प्रभावमा नपरी तटस्थ भएर आफूले पदीय गरिमालाई कायम राख्ने प्रतिबद्धता जनाएका थिए । माघ २९ गते सभामुख चुनिएसँगै पहिलोपटक शनिबार प्रदेशसभा बैठक सञ्चालन गरेका हुन् । बैठकको प्रारम्भमा उनले प्रदेश प्रमुखबाट प्राप्त प्रदेशसभाका सांसद महेन्द्रबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त गरिएको ब्यहोराको पत्र पढेर सुनाएका थिए । मुख्यमन्त्री, सभामुख र उप–सभामुखलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका तर्फबाट एमाले संसदीय दलका नेता यामलाल कँडेल, माओवादी केन्द्रका गोपाल शर्मा, कांग्रेका हिमबहादुर शाही र राप्रपाकी शोसिला शाहीले शुभकामना दिए ।


उपसभामुख घर्ती निर्वाचित

प्रदेश–६ को उप–सभामुखमा माओवादी केन्द्रकी सांसद पुष्पा घर्ती विष्ट र्निविरोध निर्वाचित भएकी छन् । सुर्खेतकी घर्ती समानुपातिक सांसद हुन् । एकल प्रस्तावको सूचना दर्ता भएपछि प्रदेशसभा बैठकले शनिबार उपसभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीले ‘घर्तीलाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनेर राखेको प्रस्तावमाथि एमाले सांसद मीना सिंह रखालले समर्थन जनाएकी थिइन् । सभामुख राजबहादुर शाहीले एउटा मात्र उम्मेदवारी परेकाले उनलाई प्रदेशसभाको उपसभामुख पदमा निर्वाचित भएको घोषणा गरे । घर्तीको उम्मेदवारीलाई कांग्रेस र राप्रपाका सांसदले समेत समर्थन जनाए । उपसभामुख घर्तीलाई सभामुख राजबहादुर शाहीले शनिबारै प्रदेशसभा सचिवालयमा पद तथा गोपनीयताको शपथ खुवाए ।


नियमावली मस्यौदा समिति गठन

बैठकले प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा समिति गठन गरेको छ । नेपालको संविधानको धारा १९४ बमोजिम प्रदेशसभाले आफ्नो बैठक, काम–कारबाही नियमित गर्नका लागि ९ सदस्यीय मस्यौदा समिति गठन गरेको छ । समितिमा सांसदहरू दलबहादुर रावल, दीनबन्धु श्रेष्ठ, धर्मराज रेग्मी, प्रकाश ज्वाला, मीना सिंह रखाल, यज्ञबहादुर बीसी, सीताकुमारी नेपाली र शोसिला शाही छन् । एमाले सांसद अम्मरबहादुर थापाले ‘प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरियोस्’ भन्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावमाथि माओवादी केन्द्रका सांसद नरेश भण्डारी, कांग्रेस सांसद अमृता शाहीले समर्थन जनाएका थिए । सभामुखले निणयार्थ पेस गरेको उक्त प्रस्तावलाई सभाले सर्वसम्मत अनुमोदन गरेको थियो । समितिले १५ दिनभित्र मस्यौदा तयार गरेर सभामा प्रस्तुत गर्नुपर्नेछ । प्रदेशसभाको अर्को बैठक फागुन ९ गते बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित : फाल्गुन ६, २०७४ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?