परिवर्तन ल्याउँदै लोकमार्ग

लोकमार्गले चौरजहारीबाट बाग्लुङ–पोखरा हुँदै काठमाडौं जोडेको छ
हरि गौतम, ज्योति कटुवाल

रुकुम/दैलेख — मुसिकोट नगरपालिका–८, का वडासदस्य लसुनबारीका लोकबहादुर बुढाले चार वर्षदेखि व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् । त्यसअघि आफ्नै भान्साका लागि मात्र तरकारी खेती गर्ने गरेका उनी घर नजिकै मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएपछि व्यावसायिक बनेका हुन् । 

परिवर्तन ल्याउँदै लोकमार्ग

मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएसँगै उनले गरेको आलु, काउली, बन्दा, सिमीलगायतका तरकारीले सहजै बजार पाएका छन् । भुमे गाउँपालिका–२, रुकुम पूर्वका टेकबहादुर बुढाले लामो समयदेखि गर्दै आएको भाँगो खेतीबाट आम्दानी गर्न लागेको धेरै भएको छैन । भाँगो र त्यसको धागोसमेत बिक्री गरेर उनले एक सिजनमा ७० देखि ८० हजार रुपैयाँ कमाउँदै आएका छन् । पूर्वको पातिहाल्नदेखि पश्चिमको चौरजहारी जोड्ने मध्यपहाडी लोकमार्गमा गाडी गुड्न थालेदेखि टेकबहादुरको मात्रै होइन उनका अन्य गाउँलेको स्थानीय उत्पादन सजिलै बजार पुग्छ । भुमेको ७ र ९ नम्बर वडाबाहेक अन्य ७ वटा वडामा उत्पादन हुने भाँगो त्यसकै धागो (अल्लो), सिमी, आलुलगायतका खाद्यान्न तथा तरकारीले बजार सजिलै पाएको छ । मध्यपहाडी लोकमार्गमा गाडी चल्न थालेपछि स्थानीय उत्पादन सजिलै बजारसम्म गएको त छ त्यसको साथै बजारबाट ल्याउनुपर्ने सामग्री पनि घरसम्मै पुगेको छ ।

दैनिक उपभोग्य वस्तुदेखि लिएर अन्य सरसामान केही घण्टामै घरसम्म पुग्छ । मध्यपहाडी लोकमार्गले रुकुम पश्चिमको चौरजहारी बजारदेखि रुकुम पूर्वको पञ्चासेसम्मका धेरै गाउँलाई जोडेको मात्र छैन, सडकमा दर्जनौं गाउँको पहुँच पुगेपछि सर्वसाधारणको दैनिकी सहजतातर्फ उन्मुख छ । सानीभेरी गाउँपालिका–९, की मित्रकला ओलीले ४ वर्षदेखि तरकारी ढुवानीमा खासै समस्या झेल्नुपरेको छैन । रुकुम पश्चिमको सदरमुकाम खलंगा बजारमा तरकारी बिक्री गर्ने गरेकी उनलाई पनि मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएपछि डोकोमा तरकारी बोक्नुपर्ने बाध्यता हटेको हो । बिहानै उठेर डोकोमा तरकारी बोक्नुपर्ने बाध्यता हटेपछि दैनिकी सहज बनेको छ । गाडीले तरकारी बजार पुर्‍याइदिएपछि उनलाई उक्त समयमा थप काम गर्न सजिलो भएको छ ।

सरकारको राष्ट्रिय गौरवको आयोजनामध्येको मध्यपहाडी लोकमार्गको दुवै रुकुमभित्र पर्ने सडकमा ०७० सालदेखि सवारी गुड्न थालेका थिए । यो सडक दुवै जिल्लामा गरी १ सय ३० किलोमिटर लामो छ । रुकुम पश्चिमको चौरजहारीदेखि रुकुमकोटसम्म २०७० मै गाडी सञ्चालनमा आएका थिए भने रुकुम पूर्व र बाग्लुङको सिमाना पातिहाल्नासम्मको सडक बनेको भने २ वर्ष बढी भयो । हाल पश्चिम चौरजहारीबाट पूर्वको छिमेकी जिल्ला बाग्लुङ, पोखरा हुँदै पोखरा पुगेर काठमाडौंसम्म सजिलै सवारी साधन ओहोरदोहोर गरिरहेका छन् । १ सय ३० मिटर लामो सडकका कारण धेरै ठाउँमा सहर तथा बजार बनेका छन् ।


आर्थिक गतिविधि बढेको छ ।

मध्यपहाडी लोकमार्गकै कारण यी दुई जिल्लाका दर्जन ठाउँमा बजार बनेका छन् । कति पुरानै बजार विस्तार भएका छन् कति ठाउँमा नयाँ बजार बनेका छन् । रुकुम पश्चिमको चौरजहारी, चाइनाबगर, सिम्ली, चौतारा, किटनीमा बजार विस्तार भएको छ । रुकुम पूर्वको रुकुमकोटसहित सिसाघारी, खावाङबगर, त्रिवेणी, लुकुम र पञ्चासे भएर मध्यहाडी लोकमार्ग अघि बढेको छ । मध्यपहाडी लोकमार्गसँगैका बजारको कारण त्यस आसपासका सर्वसाधारणको सडकसँग सहज पहुँच त पुगेको छ नै, अन्य सुविधा पनि सजिलै पाएका छन् । सडकमा गाडी गुडेको देखेपछि स्थानीयहरू व्यावसायिक बनेका छन् । कति बन्ने प्रयासमा छन् । रुकुमपूर्वको भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगर मध्यपहाडी लोकमार्गले सर्वसाधारणलाई व्यावसायिक बन्न प्रेरित गरिरहेको बताउँछन् ।

दैनिक उपभोग्य विशेषगरी दाल चामल, निर्माणका सामग्री बोकेर आउने गाडी रित्तै फिर्ता नगर्दा फाइदा हुन्छ भन्नेतर्फ स्थानीय लागिसकेको उनको भनाइ छ । यसअघि सामान्य खेती गर्नेहरू अब त्यसलाई व्यावसायिक बनाउनेतर्फ लागेको अध्यक्ष बुढाले बताए । ‘मध्यपहाडी लोकमार्ग नखुल्दै कसैलाई केही मतलब थिएन, उत्पादन भए हुन्थ्यो, नभए पनि खासै फरक पर्थेन वास्ता पनि हुन्थेन,’ अध्यक्ष बुढाले भने, ‘अब त जतिसक्दो धेरै उत्पादन गर्ने र त्यसलाई बजार पठाएर कमाउनुपर्छ भन्ने सोच धेरैमा आइसकेको छ ।’

भुमे गाउँपालिका २, रुकुम पूर्वका टेकबहादुरले गाउँमुनिबाट गाडी गुड्न थालेपछि आफूले उत्पादन गरेको र आफूलाई चाहिएको सामग्री सजिलै ल्याउन सकिएको बताए । ‘केही वर्षअघिसम्म भाँगो त्यसको धागो (अल्लो) यत्तिकै रहन्थ्यो,’ उनले भने, ‘तीन चार वर्षदेखि त भित्र्याउन पाउँदा नपाउँदै बिक्री भैसक्छ ।’ सोही वडाका अध्यक्ष नरबहादुर बुढाले काँक्रीबाट पैदलै बुर्तिबाङ हुँदै बुटवल पुगी पिठ्यँुमै नुन बोकेर ल्याउन झन्डै आधा महिना बढी लाग्थ्यो । तर हाल एकै दिनमा बुटवल पुग्दा उनलाई अनौठो लाग्छ । ‘उतिबेला बुटवलबाट पैदलै नुन बोकेर खाइयो, हाम्रै पालामा घरघरै नुन गाडीले ल्याइपुर्‍याउने भएको छ,’ वडाअध्यक्ष बुढाले भने, ‘मध्यपहाडी बाटोले नुन मात्रै होइन सुखका दिन पनि घरमै ल्याइपुर्‍याएको छ ।’

किसानले उत्पादन गरेको भाँगो, अल्लो, सिमी, आलु घरबाटै लिएर बजार बिक्री गर्न र सोही रुपैयाँबाट चामल, दाल र तेल किनेर पनि घरमै पुग्ने भएपछि मध्यपहाडी लोकमार्गले धेरै दु:ख टाढा पुर्‍याइदिएको भनाइ उनको छ । मध्यपहाडीमा गाडी गुड्ने भएपछि रुकुमकोट बजार विस्तारले तीव्रता पाएको सस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् । ‘रुकुमकोट पुरानै बजार र व्यापारिक केन्द्र त हो,’ अध्यक्ष बरालले भनिन्, ‘दाँयाबाँया रुकुमकोटलाई पारेर मध्यपहाडीमा गाडी गुड्न थालेपछि रुकुमकोट बजार थप विस्तार भएको हो ।’ मध्यपहाडी सञ्चालनमा आएपछि भौतिक निर्माणमा पनि ठूलो सहयोग पुगेको छ ।

विशेषगरी विद्युत्गृह निर्माणलगायतका ठूलाठूला आयोजना निर्माणका लागि आवश्यक सामग्री ढुवानीमा पनि सहजता आएको छ । कच्ची रहेको मध्यपहाडी लोकमार्गलाई जतिसक्दो चाँडो कालोपत्रे बनाउन सके त्यस मध्यपहाडी लोकमार्ग आसपास मात्रै होइन समग्र रुकुमको जनजीवन थप सजिलो हुने देखिन्छ ।

लोकमार्ग कालोपत्रेका लागि सबैतिर कामकाज सुरु भइसकेको छ । ठेक्का लागि सम्झौता भै काम पनि सुरु भैसकेको अवस्थामा सम्झौताअनुसार नै समयमै कालोपत्रेको काम सकेपछि मध्यपहाडी लोकमार्गले रुकुमलाई थप समृद्धितिर डोर्‍याउने विश्वास स्थानीयमा छ । निर्माणको जिम्मा लिएर ढिलासुस्त गर्नेलाई ताकेता गर्नेर समयमै काम सम्पन्न गराउन सके स्थानीय उत्पादन बाहिरन तथा अन्य आवश्यकिय सामग्री भित्र्याउन सहज हुने सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताए ।

कालोपत्रेको काम धमाधम

मध्यपहाडी लोकमार्गमा कालोपत्रेका लागि आवश्यक काम धमाधम भइरहेको छ । एक सय ३० किलोमिटर लामो सडकलाई विभिन्न आठ खण्डमा विभाजन गरेर कालोपत्रे गर्नुपूर्वका कामहरू भैरहेका छन् । रुकुम पश्चिमको चौरजहारीदेखि रुकुम पूर्वको पातिहाल्नसम्मका विभिन्न खण्डमा कालोपत्रेको लागि विभिन्न काम भैरहेको हो ।

चौरजहारीदेखि चाइबगरसम्मको १६.५ किलोमिटर, चाइनबगरदेखि हाँसिबाङसम्मको १६.५ किलो मिटर र शीतलपोखरीदेखि रिन दहसम्मको १४ किलोमिटर सडकखण्डमा कालोपत्रे गर्नुपूर्वका अन्य काम भैरहेका छन । यसैगरी रिनदहदेखि रुकुमकोटसम्मको १९ किलोटिर, रुकुमकोटदेखि जितखोलासम्मको १६ किलोमिटर जितखोलादेखि रिकमसम्मको १६ किलोमिटर र रिकमदेखि पातिहाल्ना रुकुम पूर्व र बाग्लुङ जिल्लाको सिमानासम्मको १३ किलोमिटर सडकखण्डमा पनि कालोपत्रे हुनुपूर्वका आधारभुत काम जारी रहेको मध्यपहाडी लोकमार्ग सडक आयोजना कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

उक्त सडकअन्तर्गत र हाँसिबाङदेखि सेरीगाउँसम्मको १२ किलोमिटर सडकखण्डको भने कालोपत्रेको ठेक्का लाग्न बाँकी छ । केही समयमै त्यसको ठेक्का आह्वान गर्ने तयारी आयोजना गरिरहेको जनाइएको छ । रुकुम पश्चिम र पूर्व दुवै जिल्लामा पर्ने हाँसिबाङ– सेरीगाउँ १२ किलोमिटरबाहेक बाँकी एक सय १८ किलोमिटर सडक कालोपत्रे गर्नलाई ठेक्का लागिसकेको छ । कुनै खण्डमा पहिला ठेक्का लागेर धेरै काम भएको छ भने कुनै खण्डको भर्खरै ठेक्का लागेर काम सुरु गरिएको छ ।

अबको तीन वर्षभित्र एक सय ३० किलोमिटर नै कालोपत्रे गर्ने गरी काम भैरहेको मध्यपहाडी लोकमार्ग सडक आयोजनाका इन्जिनियर सुप्रिम चुडालले बताए । रुकुम पश्चिम खण्डको सडक हेर्ने जिम्मा पाएका चुडालले कालोपत्रेको तयारी स्वरूप सबै खण्डमा धमाधम काम भैरहेको जनाए । ‘आगामी तीन वर्षभित्र साविकको रुकुम जिल्लामा पर्ने सबै सडक कालोपत्रे गर्ने लक्ष्य छ,‘ इन्जिनियर चुडालले भने, ‘कामकाज पनि त्यसरी नै भैरहेको छ ।’ उनका अनुसार उक्त सडकको शीतलपोखरीदेखि रिनदहसम्मको १४ किलोमिटर सडकमा सबैभन्दा बढी काम भएको छ । अन्य तीनवटा खण्डसँगै शीतलपोखरी–रिनदह खण्ड कालोपत्रेका लागि एक वर्षअघि मात्रै सम्झौता भएको थियो ।

माघ मसान्तसम्म ग्राभेल र त्यसपछि यसै वर्षभित्रै कालोपत्रेको काम सकिने गरी निर्माण कम्पनीले उक्त खण्डमा काम गरिरहेको छ । कालिका प्यासाफिक जेभीले उक्त खण्डमा काम गरिरहेको हो । सोही कम्पनीले ठेक्का पाएको रुकुम पश्चिमको रिनदहदेखि रुकुम पूर्वको रुकुमकोटसम्मको १९ किलोमिटर सडक कालोपत्रेको तयारीस्वरूप भर्खर चौडा पार्ने काम भर्खर सुरु गएको छ । विस्तृत अध्ययन प्रतिवेदन ढिला तयार भएकाले ठेक्का ढिला लागेर कामकाज पनि ढिलै सुरु भएको सडक आयोजनाले जनाएको छ । एक सय ३० किलोमिटरमध्य अलि बढी जोखिम भएको सडकखण्ड यही हो ।

उक्त सडकको विभिन्न ६ वटा खोलामा मोटरेबल पुल निर्माण कार्य पनि भैरहेको छ । रुकुम पश्चिममा ३ र पूर्वका ३ खोलामा पुल निर्माण भैरहेको हो । सबै सडकको कालोपत्रे सकिँदासम्म सबै पुल पनि बनिसक्ने इन्जिनियर चुडालले दाबी गरेका छन् । ‘सडकखण्डमा पर्ने अरू धेरै पुल बनिसकेका छन्, बन्नुपर्नेमध्येका ६ वटाको काम पनि धमाधम भैरहेको छ, भनेकै समयमा काम गर्ने गरी निर्माण कम्पनीलाई ताकेता पनि भैरहेको छ,’ चुडालले भने । एक सय ३० किलोमिटर सडक कालोपत्रे भैसक्दा तथा विभिन्न पुल निर्माण गरिसक्दासम्म २ सय ५० देखि ६० करोडसम्म बजेट खर्च हुने अनुमान गरिएको छ ।

दैनिक १ हजार ५ सय बढीलाई रोजगारी

मध्यपहाडी (पुष्पलाल) राजमार्ग निर्माणका क्रममा दैलेख खण्डमा दैनिक एक हजार पाँच सय बढी स्थानीयवासीले गाउँमै रोजगारी पाएका छन् । राजमार्गको लोहोरे–मनघर खण्डको २२ किलोमिटर र रामाघाट–चर्कता खण्डको २९ किलोमिटरमा सडक निर्माणको काम धमाधम भैरहेको छ । रावतकोट–दुल्लु खण्डमा जग्गा विवादका कारण निर्माणले गति लिन सकेको छैन । उक्त खण्डमा सर्भेको काम मात्र सकिएको छ । राजमार्गको दैलेख खण्डका इन्जिनियर तुलाराम शर्माका अनुसार पूर्वी खण्डअन्तर्गत भगवतीमाई गाउँपालिकाको लोहोरेदेखि मनघरसम्म २२ किलोमिटर खण्डमा मेसनरी वाल, ग्याविन भर्ने, सडक कटिङ, सडक ग्राबेल गर्ने, नाला निर्माण र होम पाइप राख्नेलगायतका कामहरू भैरहेका छन् । त्यस्तै रामाघाटदेखि चर्कता बजारसम्म २९ किलोमिटर सडक चौडा पार्ने, ग्राबेल राख्ने, नाली निर्माण र होम पाइप राख्ने काम भैरहेको इन्जिनियर शर्माले बताए ।

लोहोरे र मनघरसम्म कामको जिम्मा पाएको केआस रमन र शर्मा गजुरमणि कम्पनीले २२ किलोमिटरको काम तोकिएको समयमै सम्पन्न गर्ने लक्ष्यसहित अगाडी बढाएको जनाएका छन् ।

ठेकेदार कम्पनीका अनुसार लोहोरे खोलादेखि मनघरसम्मको सडकखण्ड छिट्टै कालोपत्रे हुनेछ । राजमार्गको करिब १ सय १८ किलोमिटर दैलेखमा पर्छ । पूर्वमा जाजरकोट र पश्चिममा अछामसँग जोडिएको दैलेख खण्डमा निर्माणको कामले गति लिन थालेपछि स्थानीयले गाउँमै रोजगारी पाउन थालेका छन् । स्थानीय रुटमा यातायातका साधन चल्न थालेपछि गाउँमा उपभोग्य सामानहरूको बिक्री बढ्दै गएको छ । स्थानीय रुटहरूमा यातायातका साधनहरू सञ्चालन हुन थालेका छन् । छिमेकी जिल्लासँग सिमाना जोडिएका ग्रामीण क्षेत्रमा समेत बजार विस्तार हुन थालेको छ । गाउँमै रोजगारी पाएपछि भारतमा मजदुरीका लागि जाने स्थानीयको संख्यामा कमी आएको छ ।

प्रकाशित : फाल्गुन ७, २०७४ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?