कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विद्यार्थी झुक्याएर प्राविधिक कक्षा

कान्तिपुर संवाददाता

मुगु — खत्याड गाउँपालिकाको श्रीकोटका सर्जन शाहीले डोटीस्थित सेती ट्ेरनिङ एन्ड रिसर्च सेन्टरको गमगढीमा शाखा खोली बिद्यार्थीलाई झुक्याएर कक्षा सञ्चालन गरेका छन् । भेटेनरी जेटीएको कक्षा सञ्चालन गर्ने भन्दै अर्कै विषयको कक्षा सञ्चालन गरेर विद्यार्थी झुक्काएका हुन् । विद्यार्थीले शुल्क फिर्ता माग गर्दै पढाइ अवरुद्ध पारेका छन् । 

मंसिरमा १२ महिने भेटेनरी जेटीएतर्फको पढाइ सञ्चालन गर्ने भन्दै विद्यार्थीबाट ५० हजारका दरले भर्ना रकम उठाइएको थियो । शुल्क उठाइएको तीन महिनापछि सञ्चालकले ४५ दिने उद्यम विकास सहकर्ता कक्षा सञ्चालन गरेका थिए । विद्यार्थीले एक विषयको पठनपाठन हुने भन्दै भर्ना शुल्क लिए पनि अर्कै विषयको कक्षा सञ्चालन गरेपछि विरोधमा उत्रिएको जनाएका छन् । सेन्टरले भेटेनरी जेटीएको भर्ना शुल्क भन्दै ५० हजार रुपैयाँ लिएको थियो । पछि थप ३० हजार रकम दिने सहमतिमा विद्यार्थीहरू भर्ना भएका थिए ।


सेन्टरमा ५० विद्यार्थी भर्ना भएका थिए । विद्यार्थीलाई अग्रिम जानकारी नदिई गैरकानुनी रूपमा भेटेनरी जेटीए कक्षा सञ्चालन गरेको आरोपमा सेन्टरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । ‘भेटेनरी जेटीए पढाइ हुन्छ भन्दै हामीबाट ५० हजार रकम लिए तर अर्कै विषयको कक्षा सञ्चालन गरियो,’ विद्यार्थी जनक चौलागाईले भने, ‘झुक्याएर कक्षा सञ्चालन गरेको पाएपछि विरोध जनाएका हौं । विभिन्न निकायमा यसबारे उजुरीसमेत दिएका छौं ।’ अर्का विद्यार्थी अमर बडुवालले बुझाएको ५० हजार रकम फिर्ता दिलाएर र गैरकानुनी रूपमा कक्षा सञ्चालन भएको सेन्टर बन्द गर्न स्थानीय प्रशासनसँग आग्रह गरे ।


शाखा सञ्चालक शाहीले भेटेनरी जेटीएको ‘लेबल टु’ को कक्षा सञ्चालन गरेको दाबी गरे । उनले सेन्टरका सञ्चालक नरबहादुर खडकालाई मुगु बोलाइएको जनाए । विद्यार्थीलाई झुक्याएर कक्षा सञ्चालन गर्नु राम्रो नभएको शिक्षक संघका अध्यक्ष जंगबहादुर शाहीले बताए । उनले यसबारे छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरे । गैरकानुनी रूपमा प्राविधिक कक्षा सञ्चालन गरेको भन्नेबारे प्रहरीमा उजुरी आएकाले त्यसबारे छानबिन सुरु गरेको प्रजिअ उमाकान्त अधिकारीले बताए ।

प्रकाशित : फाल्गुन ८, २०७४ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?