१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

३० किमि ट्रयाक खुल्यो

कर्णाली करिडोर : खुलालु–हुम्ला खण्ड
कालिकोटको कडा भीर छिचोल्दै १४ वटा जिप घाटपारि चौर पुगेका छन् 
तुलाराम पाण्डे

कालिकोट — बहुचर्चित कर्णाली करिडोर खुलालु–हुम्ला सडकखण्ड अन्तर्गत कालिकोटको जितेदेखि नानीकोटको घाटपारी चौरसम्म ३० किमि सडकको ट्रयाक खुलेको छ । कर्णाली करिडोरअन्तर्गत कालिकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म कुल १ सय ४५ किमि निर्माणको जिम्मा लिएको नेपाली सेनाले कालिकोटखण्डअन्तर्गत घाटपारि चौरसम्म शनिबारदेखि यात्रुबाहक जिप सञ्चालनमा ल्याइएको हो ।

३० किमि ट्रयाक खुल्यो

कालिकोटको कडा भीर छिचोल्दै सेनाले टयाग ओपन गरेपछि शनिबार रारा कर्णाली यातायात समितिका १४ वटा जिप घाटपारि चौर पुगेका छन् । गाडी सञ्चालनका लागि सदरमुकाम मान्मबाट प्रजिअ चन्द्रनाथ गौतम, गुल्मपति विज्ञान खनाल, कर्णाली करिडोर प्रमुख मिलन कार्की, रारा कर्णाली यातायात समिति अध्यक्ष हस्त बमलगायतका सरोकारवाला जितेदेखि जिप चढेर नानीकोटको घाटपारि चौर पुगे ।


कालिकोटको विकट पलाता क्षेत्रका धौलागोह, खिन, थिर्पु, पचालझरनाको नानीकोट, राम्नाकोटलगायतका विकट गाउँसँग जोडिने सडक निर्माणपछि गाडी सञ्चालन हुँदा स्थानीयले गाडीसहितका अतिथिलाई बाजागाजा र फूलमालाले स्वागत गरे । स्थानीय युवाहरूले गाउँ नजिक गाडी पुगेको खुसियालीमा कर्णाली नदीमा पौडी प्रदर्शन गरे । स्थानीय देउडा खेल लगाए र हुडे नाच पनि नाचे ।


गाडी कालिकोटको अन्तिम गाउँ नानीकोट पुगेको देखेपछि स्थानीय स्युना रानाबाडाका ८२ वर्षीय पदमवहादुर बमले अचम्मित हँुदै स्थानीय लवजमा भने, ‘यस्तो अनकण्टार ठाउँमा गाडी आउन्ना (आउलान्) सोचेकै थिइन‘ ।’ उनले आफूले कैलालीको कटासे र बर्दियाको राजापुरबाट पिठ्युँमा नुन बोकेर ल्याएको सुनाउँदै भने, ‘अब छोरा नानीले सुविधा पाउने भए ।’ सडकले करिडोर आसपासका बासिन्दालाई तरकारी बजार पुर्‍याउन सहज भएको स्थानीय अज फर्सालले बताए । उनी सान्नीगाडमा व्यावसायिक तरकारी खेती गरेका छन् । ‘वर्षौंदेखिको सडक सपना बल्ल पूरा भयो ।’ शिलान्यास भएको १७ वर्षसम्म पनि सडक निर्माणले गति लिन नसकेपछि सरकारलाई दबाब दिन लठ्ठी टेकेर मान्म पुगेका फर्सालले भने, ‘अब घरआँगनमै गाडी देख्न पाइयो ।’ सेनाले कालिकोटका कडा चट्टान फोरेर टयाग ओपन गरेपछि यस खण्डको कडा चट्टान भएको लालीघाट, गोगनेपानी, लुसा, आमताडा, सान्नीगाड भीर छिचोल्दै जिते फुगाडसम्म ६ महिनाअघि सडक सञ्चालनमा आए पनि त्यसमाथि पैदल हिँड्नुपर्ने बाध्यता थियो । कालिकोटका विकट वस्तीका बासिन्दाको वर्षौंदेखिको गाडी चढ्ने सपना पूरा हुन थालेको पचालझरना गाउँपालिका अध्यक्ष खडराज सेजुवालले बताए । उनले आफ्नो गाउँपालिकामा कर्णाली करिडोर पुगेको खुसियालीमा पाहुनालाई स्वागतसहित खाजा खुवाएर खुसी बाँडे । गाउँ नजिक गाडी आएपछि स्थानीय महिला, वृद्धवृद्धा र बालबालिका गाडी हेर्न घाटपारि चौर पुगेका छन् । ‘गाउँ नजिक गाडी देख्न पाइयो ।’ स्थानीय दलसुर बमले खुसी हुँदै भने, ‘यस्तो भीर फुटाएर सडक खन्ने सेनालाई धन्यवाद छ ।’ उनले आफूले गाउँ नजिक गाडी पुग्ला भनेर नसोचेको सुनाउँदै ‘सरकारले आँटेपछि विकास गर्न सकिँदो रहेछ ।’ उनले कर्णालीमा गाडी नआउँदासम्म कैलालीको चिसापानीसम्म ७ दिनसम्म हिँडेर पुगेको सुनाए ।


सेनाले काम थालेको दुई वर्षमा कालिकोटखण्डको ९० प्रतिशत काम सकेको कर्णाली करिडोर सडक निर्माण कायदल प्रमुख मिलन कार्कीले बताए । उनले सेनाले जिम्मा लिएको १ सय ४५ किमिमध्ये आधा काम सकिएको जनाउँदै आगामी दुई वर्षभित्र हुम्लाको सलिसल्ला गाडी पुर्‍याउने लक्ष्य पूरा गर्न काम गरिरहेको जनाएको छ । उनका अनुसार बाजुराखण्डको पनि अधिकांश भागमा काम सकिएको छ । कालिकोटको सान्नीगाड र फूगाडमा खोला तर्न फलामे बेलिब्रिज निर्माण भइसकेको सुनाउँदै बाजुरामा दुईवटा बेलिबिज्र बनाउने तयारी भइरहेको जानकारी दिए । करिडोरअन्तर्गत कर्णाली नदीमा २३ वटा ठूला पुल र अन्य १२ वटा पुल बनाउनुपर्नेछ ।


सेनाले कालिकोटको जितेस्थित कर्णाली नदीमा हिउँद याममा गाडी तार्न बेलिब्रिज निर्माण गरे पनि वर्षामा नदी बढेपछि गाडी तार्न कठिनाइ भएको जनाएको छ । ‘निर्माण सामग्री ढुवानी गर्न कठिनाइ हुन्छ ।’ सडक निर्माण कार्यदल प्रमुख कार्कीले भने, ‘७ महिना सबै सामान हेलिकोप्टरमा ढुवानी गर्नुपर्ने बाध्यता छ । त्यही पनि समयमा पाइँदैन ।’ उनले १ सय ४५ किमि लामो सडक भएकाले धेरैजसो इक्विपमेन्ट ढुवानी गर्न हेलिकोप्टरकै प्रयोग गर्नुपर्ने बाध्यता रहेको सुनाए ।

हाल सेनाले सडक निर्माणमा होल खोप्न १७ वटा कम्प्रेसर मेसिन, ५ वटा स्काइभेटर, ३ सय ५० स्थानीय कामदार र २ सय २७ जना नेपाली सेना संलग्न रहेको जनाएको छ । सरकारले यस वर्ष कर्णाली करिडोर निर्माणका लागि सेनालाई ३० करोड बजेट विनियोजन गरेको छ । कर्णाली नदीको फेरि तरेर कर्णालीपारि पुगेका सेनाको बोलेरोसहित रारा कर्णालीमा ९ सिटे १४ वटा जिपले यात्रुलाई ओसार्नेछन् । सडकले कालिकोटका रकु, मेहेलमुडी, मुम्रा, सिप्खाना, स्युना, फुकोट, बदालकोट, नानीकोट, राम्नाकोट, थिर्पु, खिन र धौलागोह आसपासका बासिन्दालाई सदरमुकाम मान्म, सुर्खेत नेपालगन्ज आवागमन गर्न सहज भएको छ ।


सडकले कालिकोटसहित बाजुरा कोल्टी क्षेत्र, मगुको खत्याड भेक र हुम्लाका सकेघाट आसपासका बासिन्दालाई पनि आवागमन गर्न नजिक भएको रारा कर्णाली जिप समिति अध्यक्ष हस्त बमले बताए । उनले नयाँ टयाग खुलेको अप्ठेरो सडक भए पनि स्थानीयलाई सेवा दिन प्रतिकिमि ९ रुपैयाँका दरले भाडा निर्धारण भएको बताए । भारतको जमुनियादेखि तिब्बतको हिल्सा जोड्ने उत्तर दक्षिण करिडोर सडक विभागको डिजाइन स्टिमेटअनुसार सिंगल लेनको सडकको कडा चट्टान भएको खण्ड नेपाली सेनाले निर्माण गर्ने जिम्मा पाएको हो ।

प्रकाशित : फाल्गुन ८, २०७४ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?