२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

विद्यार्थीलाई खाजा जाउलो

कान्तिपुर संवाददाता

रुकुम — पश्चिमरुकुम पश्चिम र पूर्व जिल्लालाई एउटै कार्यक्षेत्र मानेर जिल्लाका एक सय ६८ विद्यालयका विद्यार्थीलाई पोषिलो जाउलो खुवाउन थालिएको छ । यस अघि दिवा खाजाका रूपमा रहेको हलुवा विस्थापन गरेर सरकारले पोषिलो चामलको साथमा दाल, तेल र नुन दिन सुरु गरेको हो ।

माघ महिनादेखि दिवा खाजा कार्यक्रम सञ्चालन भएका सबै विद्यालयमा जाउलो पाक्दै आएको छ । हलुवाबाट विद्यार्थीको पोषण स्थितिमा पर्याप्त सुधार नआएको निष्कर्षसहित सरकारले दिवा खाजामा पोषिलो चामल दिन थालेको हो ।


दिवा खाजाअन्तर्गत एउटा विद्यार्थीले दिनमा एक सय १२ ग्राम खानुपर्ने हुन्छ । एउटा विद्यार्थीको खाजाका लागि ८० ग्राम चामल, २० ग्राम दाल, १० ग्राम तेल र २ ग्राम नुनबाट बनेको जाउलो आवश्यक हुनेछ । एक विद्यार्थीका लागि एक सय १२ ग्राम खाजा एक दिनमा आवश्यक पर्ने शिक्षाका लागि खाद्य एकाइ रुकुम पश्चिमले बताएको छ । इकाईका निमित्त प्रमुख रामचन्द्र भट्टराईले साविक रुकुम जिल्लाका एक सय ६८ विद्यालयमै पोषिलो जाउलो पकाउन र खुवाउन सुरु भैसकेको बताए ।

हाल दुई जिल्लाका २० हजार एक सय विद्यार्थीले उक्त जाउलो खाइरहेका छन् । पोषिलो चामलसहित अन्य खाद्य सामग्रीको जाउलो खानेमा १० हजार ४ सय २७ छात्रा छन् भने ९ हजार ६ सय ९१ छात्र छन् । ४ वटा वितरण केन्द्र रहेको रुकुम (पूर्व) मा ६७ वटा विद्यालयमा उक्त कार्यक्रम सञ्चालन भैरहेको छ । ५ वटा वितरण केन्द्र रहेको रुकुम (पश्चिममा) एक सय एक विद्यालयका विद्यार्थी उक्त कार्यक्रमबाट समेटिएका छन् ।


कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी विश्व खाद्य कार्यक्रमको सहयोगमा नेपाल सरकारले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । पोषिलो चामलसँगसँगै सरकारले विद्यालयहरूलाई पोषिलो जाउलो पकाउने भाँडा बर्तन पनि सहयोग गरेको छ ।

प्रकाशित : फाल्गुन ९, २०७४ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?