२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सेनाले बनायो विद्यालयमा शौचालय

कान्तिपुर संवाददाता

जाजरकोट — सदरमुकामस्थित भेरी नगरपालिका ४, बोहरागाउस्थित बुद्धि आधारभूत विद्यालयमा नेपाली सेनाले पक्की शौचालयसहित खानेपानी योजना निर्माण गरेको छ । सेनाको ज्वालादल गण, मालिका ब्यारेकले दुईकोठे पक्की शौचालयसहित एक हजार लिटर क्षमताको ट्यांकी र धाराको व्यवस्था गरिदिएको हो । 

सेनाले बनायो विद्यालयमा शौचालय

शौचालयको अभावमा १ सय २० विद्यार्थी नजिकैको झाडीमा खुला शौच गर्न बाध्य थिए । खानेपानी समस्याका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको थियो । विद्यालय वरपरको वातावरण दुर्गन्धित बन्दै गएपछि सेनाले विद्यालयमा शौचालय निर्माण गरिदिएको हो । विद्यालयमा एक हजार लिटरको पानी टंकीको व्यवस्था गरिदिएपछि विद्यार्थीलाई घरबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता टरेको छ ।


गणले पक्की शौचालय निर्माण गरिदिएपछि विद्यालय आसपासको वातावरण सफा हुने विद्यालयले जनाएको छ । विद्यार्थीको खुला शौचको समस्यालाई समाधान गर्न शौचालय निर्माण तथा खानेपानीका लागि हिलट्यांकी र धाराको व्यवस्था गरिएको गणपति प्रमुख सेनानी शैलेन्द्र कोइरालाले बताए । उनका अनुसार गणको ‘कुइक इम्प्याक्ट प्रोजेक्ट’ अन्तर्गत सेनाका कर्मचारीले शौचालय र खानेपानी सुविधाका लागि श्रमदान गरेका थिए । सदरमुकामभित्रैको विद्यालयमा समेत आधारभूत पूर्वाधार निर्माण हुन नसकेको प्रमुख सेनानी कोइरालाले बताए ।


सेनाले शौचालय र खानेपानीको व्यवस्था गरिदिएपछि खुला शौच गर्नुपर्ने बाध्यता हटेको कक्षा ८ का विद्यार्थी प्रवीण चन्दले बताए । विद्यालयको खानेपानी तथा शौचालय अभावलाई सेनाले टारेको शिक्षक जनकबहादुर सिंहले बताए । गणले ३ लाख मूल्य पर्ने शौचालय, टंकी तथा धारा निर्माण गरेर गुन लगाएको शिक्षक सिंहले बताए । विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि २२ वर्षदेखि जिल्ला शिक्षा कार्यालयलगायत निकायको ध्यान नगएको सिंहले बताए ।


शिक्षक सिंहका अनुसार विद्यालयमा सेनाको सहयोगमा शौचालय र खानेपानी सुविधा पुगे पनि अन्य पूर्वाधारको अभाव छ । उनले कक्षाकोठा भवन, खेलमैदान, पर्खाललगायतका पूर्वाधारको अभाव रहेको बताए । पुराना संरचना जीर्ण भएपछि उक्त विद्यालय पूर्वाधारविहीन भएको हो ।


खलंगा बजारदेखि चार किमि दूरीमा रहेको विद्यालयमा भौतिक पूर्वाधार जीर्ण हुँदा बालबालिकाको पढाइमा बाधा पुग्ने गरेको छ । ३८ वर्ष पुरानो विद्यालयमा जीर्ण ५ कोठे भवनमा ८ वटा कक्षाको पठनपाठन हुने गरेको छ । ८ कक्षासम्मको पढाइ हुने उक्त विद्यालयमा २०५२ सालयता भवनलगायत पूर्वाधार निर्माण भएको छैन ।

प्रकाशित : फाल्गुन ९, २०७४ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?