६१ वर्षमा नागरिकता

कान्तिपुर संवाददाता

रुकुम (पश्चिम) — यहाँकी एक महिलाले ६ दशकपछि मात्रै नागरिकता पाएकी छिन् । बाँफिकोट गाउँपालिका–६, की पदमी सार्कीले ६१ वर्षको उमेरमा पहिलो पल्ट नागरिकता पाइन् । २०१३ साल जेठ २ गते जन्मेकी सार्कीले मंगलबार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएकी हुन् । 

६१ वर्षमा नागरिकता

पतिसँगै जिल्ला प्रशासन पुगेकी उनले नागरिकता पाएपछि खुशी व्यक्त गरिन् । घरमा पति नबसेकै कारण आफूले यो उमेरसम्म नागरिकता पाउन नसकेको उनको भनाई थियो । रोजिरोटीका लागि पति मन्दिर सार्की भारततिर गैरहने कारणले नागरिकता लिने नपाएको उनले बताइन् । ‘बाबुआमाको मृत्युपछि श्रीमान् नभए नागरिकता बन्दो रहेनछ,’ उनले भनिन्, ‘श्रीमान् कमाउनलाई भारततिरै बस्दा बेलैमा नागरिकता बनेन ।’


पटकपटक नागरिकता बनाउने उनको प्रयास पति नभएका कारण सफल हुन सकेको थिएन । यस पटक श्रीमान् भारतबाट आएका बेला नागरिकता बनाएकी हुन् । बेलाबेला आउने चुनावमा मतदान गर्नबाट वञ्चित भएकामा दु:ख लागेको उनले बताइन् । ‘घर वरपरका छरछिमेकीहरू भोट हाल्न जान्थे म त नागरिकताविहीन कसरी भोट हाल्नु’ उनले भनिन् । नागरिकता नभएका कारणले एक वर्षसम्म सामाजिक सुरक्षा भत्ता पाउनबाट पनि वञ्चित भइन् । ६० वर्षको उमेरदेखि दलित ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । नागरिकता पाएपछि अब सामाजिक सुरक्षा भत्ता पाउनुको साथै मतदाता पनि भएकोमा उनले खुसी व्यक्त गरिन् ।

प्रकाशित : फाल्गुन ९, २०७४ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?