कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कम उमेरमा गर्भवती

कान्तिपुर संवाददाता

सल्यान — जिल्ला अस्पतालमा मंगलबार ढोडचौर गाउँपालिकाकी १६ वर्षीया मीना बुढाथोकी सुत्केरी भइन् । मंगलबारै प्रसूति भएकी ढोडचौर ३ कै देवी बुढाथोकीको उमेर १९ वर्ष भयो ।

यी दुई मात्र होइन जिल्ला अस्पतालमा सुत्केरी हुन आउनेमध्ये अधिकांश २० वर्षमुनिका रहेको अस्पतालले जनाएको छ । अस्पतालमा महिनामा करिब १ सय ३० जनासम्म सुत्केरी हुन्छन् । त्यसमध्ये एकतिहाइ २० वर्षमुनिका हुने गरेको अस्पतालले जनाएको छ ।


अस्पतालका डा. प्रदीप शर्माले बालविवाह गर्नेको संख्या नघटेकाले सुत्केरी हुन आउनेमध्ये २० वर्षमुनिका भएको बताए । उनका अनुसार जिल्लाभरि करिब ४० प्रतिशत २० वर्षभन्दा कम उमेरमै सुत्केरी हुने गरेका छन् । यो वर्ष मात्रै अस्पतालमा १ हजार ८ सय २८ महिला सुत्केरी भैसकेका छन् ।


गत वर्ष ३ हजार २ सय ५३ सुत्केरी भएका थिए । ‘स्वास्थ्यसम्बन्धी चेतना बढेसँगै स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेको संख्या बढ्दै गएको छ । तर करिब ४० प्रतिशत २० वर्ष नपुग्दै गर्भवती भएको पाइएको छ,’ उनले भने, ‘चालु आर्थिक वर्षको पुस महिनासम्म गर्भ जाँच गराएका २ हजार ७ सय १६ महिलामध्ये २० वर्षमुनिका १ हजार २८ छन् ।’


जिल्ला अस्पतालमा सुत्केरी हुन आएकामध्ये महिनामा १० जना गर्भवतीको शल्यक्रिया हुने गरेको डा. शर्माले बताए । कम उमेरमा विवाह गरेकालाई बच्चा जन्माउन समस्या हुने भएकाले मृत्युदर घटाउन शल्यक्रिया मार्फत प्रसुति सेवा दिइरहेको उनको भनाइ छ । अस्पतालमा तीन वर्षदेखि शल्यक्रिया सेवा सुरु गरेपछि छिमेकी जिल्ला रुकुम र रोल्पाबाट समेत महिलाहरू प्रसूतिका लागि आउने गरेका छन् ।


जिल्ला अस्पतालकी स्वास्थ्यकर्मी श्रुति राईले जिल्ला अस्पतालमा दैनिक ३/४ जना सुत्केरी हुने गरेको बताइन् । महिनामा सुत्केरी हुनेमध्ये धेरैजसो २० वर्ष कम उमेरकै हुने गरेको उनको भनाइ छ । सानै उमेरमा विवाह गर्ने र सुत्केरी हुँदा पाटेघरमा खस्ने, पिसाब चुहिने, बच्चा ख्याउटे हुनेजस्ता समस्या देखिएको स्वास्थ्यकर्मीले बताएका छन ।


२० वर्षमुनि विवाह गर्नु हुँदैन र बच्चा जन्माउनु हुँदैन भनेर जिल्ला स्वास्थ्य कार्यालयले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको स्वास्थ्यकर्मीले जनाएका छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या करिब ८० प्रतिशत बढी रहे पनि चार पटक स्वास्थ्य परीक्षण गर्ने गर्भवती कमै रहेको स्वास्थ्यकर्मी रुद्रप्रसाद अधिकारीले बताए ।

प्रकाशित : फाल्गुन ९, २०७४ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?