कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पाठेघर खस्ने समस्या बढ्दो

हरि गौतम

रुकुम (पश्चिम) — आठबीसकोट नगरपालिकाका अधिकांश महिलामा पाठेघर खस्ने समस्या पाइएको छ । पाठेघरसम्बन्धी नि:शुल्क शिविरको क्रममा स्वास्थ्य जाँच गर्न आएका अधिकांश महिला पाठेघर खस्ने समस्याको कारण पीडित रहेको पत्ता लागेको हो । 

पाठेघर खस्ने समस्या बढ्दो

आठबीसकोट नगरपालिकाको आर्थिक सहयोग तथा आधारभूत स्वास्थ्य तथा सरसफाइ कार्यालयको आयोजनामा राडीमा चार दिनसम्म शिविर चलेको थियो । शिविरमा आएका ९ सय २५ मध्य ८ सय जना महिलामा पाठेघर खस्ने समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पाठेघर खस्ने समस्याबाट ग्रसितमध्येका ३९ जनाको शल्यक्रिया गर्नुपर्ने भएको छ । ७ सय ६१ जनाको उचार शिविरमै गरिएको छ । आठबीसकोट नगरपालिकाका स्वास्थ्य संयोजक नन्दलाल महतोले शिविरमा आएका अधिकांश महिलामा पाठेघर खस्ने समस्या भेटिएको बताए । भर्खरै पाठेघर खस्न थालेकादेखि ठूलै समस्यामा रहेका महिलाले शिविरबाट सेवा लिएका थिए ।


शिविरको क्रममा पाठेघर खस्ने समस्या ठूलो रहेका १९ जनाको शल्यक्रिया गर्न चौरजहारी अस्पतालमा रेफर गरिएको संयोजक महतोले बताए । ‘गाउँघरमा कामकाज नगरी हुँदैन, सुत्केरी हुँदा पनि स्वास्थ्यको ख्याल नगरिएपछिको परिणाम महिलाहरूले भोगिरहनुभएको पाइयो,’ संयोजक महतोले भने, ‘शिविरमा आएका अधिकांशमा पाठेघर खस्ने समस्या छ । फरक यत्ति हो कसैमा भर्खर समस्या सुरु भएको छ भने कसैमा धेरै भैसकेको छ ।’ सुत्केरी भएको समयमा पर्याप्त आराम नगर्नु, धेरै बच्चा जन्माउनेलगायतका कारणले महिलामा पाठेघर खस्ने समस्या हुन्छ ।


सानै उमेरमा बच्चा जन्माउनाले पनि पाठेघरमा समस्या हुने गरेको छ । आठबीसकोट नगरका अधिकांश महिलामा सानै उमेरमा बच्चा जन्माएको तथा राम्रोसँग सुत्केरी स्याहार नपुगेका कारण धेरैमा पाठेघर खस्ने समस्या देखिएको स्वास्थ्य संयोजक महतोले बताए । पाठेघर खस्ने समस्या भएको थाहा भएका कतिपय महिला शिविरमा आउन सकेनन् । सबै महिलाको स्वास्थ्य परीक्षण गर्ने हो भने अरूमा पनि यस्तो समस्या हुन सक्ने चिकित्सकले बताएका छन् ।


पाठेघर खस्ने समस्यामा परेका ३९ महिलाको चौरजहारी अस्पतालमा शल्यक्रिया हुने भएको छ । अस्पतालसम्म जाने–आउने र शल्यक्रियासमेतको खर्च आठबीसकोट नगरपालिकाले तिरिदिने भएको छ । प्रतिमहिला २७ हजारका दरले शल्यक्रिया शुल्क तिर्ने गरी अस्पतालसँग सम्झौता गरिएको नगर प्रमुख गोर्खबहादुर केसीले बताए ।


नि:शुल्क पाठेघरसम्बन्धी शिविरमा आएका धेरैमा पाठेघर खस्ने समस्या भयानक पाइएको उनले बताए । महिला र परिवारका अन्य सदस्यले महिलाको स्वास्थ्यमा ख्याल नगर्दा पाठेघर खस्ने समस्या ठूलो हुँदै गएको पाइएको उनको भनाइ छ । ‘महिला र परिवारका कुनै पनि सदस्यले सुत्केरी हुँदाको महिलाको स्वास्थ्यलाई ख्याल नपुर्‍याएको देखियो,’ नगर प्रमुख केसीले भने, ‘अब नगरले चेतनामूलक कार्यक्रम गरेर यसको न्यूनीकरणमा जोड दिने गरी नयाँ कार्यक्रम बनाउने गरी लाग्छ ।’

प्रकाशित : फाल्गुन ९, २०७४ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?