कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

प्रदेश मन्त्रालयको अवस्था बेहाल

न कर्मचारी, न कुर्सी–टेबुल
प्रकाश अधिकारी

सुर्खेत — भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री झन्डावाला गाडीसहित मंगलबार बिहान सवा १० बजे मन्त्रालय पुग्दा गेट बन्द थियो । चालकले केही समय हर्न बजाइरहे । लामो हर्न बजेपछि गेट खोल्न आइपुगे लेखा अधिकृत नन्दराम कँडेल ।

प्रदेश मन्त्रालयको अवस्था बेहाल

गेट खोल्दै गर्दा कँडेलको कर्मचारी परिचयपत्र देखेपछि मन्त्री खत्रीले सोधे, ‘तपाईं किन गेट खोल्न आउनुभो ? सहयोगी कर्मचारी छैनन् ?’ एक जना नायब सुब्बा र आफूबाहेक अरू कर्मचारी नभएको उनले बताए । मन्त्री कार्यकक्षमा न टेलिफोन थियो नत उनका कुनै सहयोगी कर्मचारी ।

पदभार सम्हालेदेखि दोस्रोपटक मन्त्रालय पुगेका मन्त्रीले लेखा अधिकृत कंडेलसंग कर्मचारी विवरण मागे । सचिवसहित ३३ कर्मचारीको दरबन्दी रहेको मन्त्रालयमा २ जना मात्रै भएपछि मन्त्री खत्रीले मुख्यमन्त्री कार्यालयलाई तत्काल कर्मचारी पठाउन पत्र बनाउन आग्रह गरे । अचम्म त के भने, त्यहाँ पत्र लेख्ने कम्प्युटर थियो नत लेटरप्याड ।

मन्त्रालय स्थापना भएको एक हप्ताभन्दा बढी र, मन्त्री नियुक्त भएको तीन दिन बितिसक्दा पनि प्रदेश मन्त्रालयको कर्मचारी तथा भौतिक व्यवस्थापन अलपत्र छ । कर्मचारीमात्रै होइन उनीहरूका लागि बस्ने कुर्ची, टेबुल छैनन् । भौतिक पूर्वाधार मन्त्रालयमा मंगलबार एक कर्मचारी भुईंमै बसेर दर्ता–चलानीको काम गर्दै थिए । उत्साही भएर मन्त्रालय छिरेका मन्त्री खत्री कर्मचारीको अवस्था हेरेर खिन्न देखिए । ‘कति काम गरौलाँ भन्ने सोचेर लामै सूची बोकेर आएको थिएँ । यस्तो हिसाबले कसरी जनताका आकांक्षा पूरा गर्न सकिएला र ?’ उनले प्रश्न तेस्र्याए । दुई पटक गाविस अध्यक्षको अनुभव संगालेका मन्त्री खत्री नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य हुन् । पार्टीले विषयगत दक्षताका आधारमा उनलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दियो । उनले भने, ‘यस्तो अवस्थामा सुधार आएन भने कसरी प्रभावकारी भूमिका निर्वाह गर्न सकिएला ?’

उक्त मन्त्रालयमा एक महिना अघि सचिवका रुपमा सरुवा भएका भवन विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश रघुवंशी सम्पर्कविहीन छन् । स्रोतका अनुसार उनी मन्त्रालयमा हाजिर हुन चाहेका छैनन् । उनीमात्रै होइन उपसचिव ४, इन्जिनियर ९, शाखा अधिकृत २, कानुन अधिकृत १, लेखापाल १, नायब सुब्बा ३ र खरिदार १, कार्यालय सहयोगी ५ र सवारीचालक ४ गरी ३० जना कर्मचारी अझैं हाजिर भएका छैनन् ।

यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयमात्रै होइन सामाजिक विकास मन्त्रालयको अवस्था पनि उस्तै छ । ३१ कर्मचारीको दरबन्दी रहेको यस मन्त्रालयमा ५ जनामात्र हाजिर छन् । सचिव नहँुदा उपसचिव भक्तबहादुर ढकालले निमित्तको काम गरिरहेका छन् । ‘कर्मचारी सम्पर्कमा आएनन् । मुख्यमन्त्री कार्यालयलाई तत्काल पठाइदिन पत्राचार गरेको छु’ सामाजिक विकास मन्त्री दल रावलले भने, ‘कर्मचारी नहुँदा प्लानिङका साथ अघि बढ्न समस्या भएको छ ।’ सरकारले खटाएका सचिव गिरिजा शर्मा पनि आएका छैनन् । उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले २९ मध्ये ८ जना कर्मचारीमात्र हाजिर भएको बताए ।

मन्त्रालयका सचिव विद्यानाथ झा पनि काठमाडौंमै छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका २३ मध्ये ७, आर्थिक मामिला तथा योजना मन्त्रालयका १८ मध्ये ७, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका २९ मध्ये ८ कर्मचारीमात्रै हाजिर भएका छन् ।

प्रकाशित : फाल्गुन ९, २०७४ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?