१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नगरको निर्णय कार्यान्वयन भएन

हरि गौतम

रुकुम पश्चिम — गत पुस ४ मा मुसीकोट नगरपालिकाले वडा १ को सार्वजनिक जग्गा तथा सडक अतिक्रमण गरी बनाइएका घुम्तीमा रातो चिह्न लगायो । जिल्ला सदरमुकामसमेत रहेको खलंगा बजारको मुख्य सडक मिचेर बनाइएका १९ वटा घुम्ती तत्काल हटाउन चेतावनी दिँदै रातो चिह्न लगाइएको थियो ।

नगरको निर्णय कार्यान्वयन भएन

एक साताको अल्टिमेटमसहित चिह्न लगाइएको घुम्ती २ महिना बित्दा पनि पनि हटाइएको छैन । त्यसअघि पनि पटक–पटक घुम्ती हटाउन आग्रह गरे पनि व्यापारीले अटेर गरेका थिए । अन्तिमपटकको चेतावनी भन्दै नगरपालिकाले गरेको उक्त कदम व्यवसायीको अटेरीकै कारण कार्यान्वयन हुन सकेन ।


रातो चिह्न लगाइएका घुम्ती ७ दिनभित्र नहटाइए नगरपालिका आफैंले हटाउने चेतावनी दिइए पनि निर्णय कार्यान्वयन भएको छैन । नगरपालिकाको चेतावनीपछि हटाउन थालिएका घुम्ती पनि फेरि उही ठाउँमै सारिएको छ । ‘सडक मिचिएकै छन्, सार्वजनिक क्षेत्र अतिक्रमण भएकै छन्, नगरपालिले खासै एक्सन लिन सकेन,’ स्थानीय नरबहादुर केसीले भने, ‘सार्वजनिक जमिन र सडक मिचिँदा दुर्घटनाको जोखिम त बढेको छ नै अन्य कामकाजमा पनि अवरोध भएको छ ।’ कर्मचारीले नगर चलाउँदा त भएन भएन, जनप्रतिनिधि आइसक्दा पनि नगरपालिकाको पहल कार्यान्वयन नहुनु विडम्बना रहेको स्थानीय वीरबहादुर खत्री बताउँछन् । नगरपालिकाले दोहोर्‍याएर अनुगमन नगरेको उनको गुनासो छ ।


सडक अतिक्रमणसँगै जथाभावी सवारीसाधन पार्किङ गरिनु यहाँको ठूलो समस्या रहेको खत्रीको भनाइ छ । अव्यवस्थित सवारी साधन पार्किङले पैदल यात्रुमा दुर्घटनाको जोखिम पनि बढेको छ । मुसीकोट ५, सेरीगाउँदेखि सल्लेसम्मको ३ किमि सडकमै सवारीसाधन पार्किङ हुने गरेको छ ।


५ वटा यातायात व्यवसायी समिति र तिनै समितिसँग सहकार्य गरी जिल्ला बाहिरका सवारीसाधानहरू सडकमै पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको स्थानीयको गुनासो छ । नगर प्रमुख देवीलाल गौतमले रातो चिह्न लगाएर घुम्ती हटाउनु भनिएपछि अनुगमन गर्न नभ्याइएको बताउँछन् । ‘रातो चिह्न लगाइदिएपछि कतिले त हटाउनु पनि भएको छ । नहटाएकालाई हटाउन अनुरोध गरिनेछ,’ उनले भने ।

प्रकाशित : फाल्गुन १०, २०७४ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?