१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

हुम्ला–तिब्बत व्यापार: पहिले निर्यात अहिले आयात

विकासको भिन्नताले नै सीमा क्षेत्रमा धर्म, भाषा, संस्कृति र रहनसहन मिले पनि आजभोलि वैवाहिक सम्बन्ध भने हुँदैन
जयबहादुर रोकाया

हुम्ला — कुनै बेला यस्तो थियो हुम्लाको मुचु, यारी र लिमीबाट हिमालपारिका बस्तीहरूमा खाद्यान्न जान्थ्यो । हुम्लासँग सीमा जोडिएको तिब्बती बजारमा कोदो, फापरको पिठो, चामल, सातु र उवा नगए उता खाद्यान्न समस्या हुन्थ्यो ।

हिमपात भएपछि बाटो बन्द हुने भएकाले हिउँ नपर्दै मंसिरमा नाम्खा गाउँपालिकाको यालवाङमा हाट लाग्थ्यो ।

तिब्बतीहरूले त्यही हाटमा नुन, ऊन, भेडा, च्यांग्रा, छुर्पी, चियालगायत बिक्री गर्थे भने हुम्लीहरूले सातु, पिठो, चामल, चिउरा, घिउलगायत खाद्य पदार्थ । चीनले तिब्बतलाई आफ्नो स्वशासित क्षेत्र बनाएपछि त्यो अवस्था फेरिएको हो ।


स्थानीयले चिनियाँ सीमा क्षेत्रमा खाद्यान्न लैजाने र तिब्बतबाट नुनु, ऊन तथा भेडा च्यांग्रा ल्याउने गर्थे । सीमानजिक नाम्खा गाउँपालिकाको मुचु, यारी र लिमी गाउँको बस्ती छ । सीमापारिका बासिन्दालाई कोसेली स्वरूप चामल र सातु दिने र उनीहरूबाट छुर्पी र सुकुटीलगायत वस्तु कोसेलीमै ल्याउने गरेको स्थानीय लोटई लामा बताउँछन् । नगद कारोबार नहुने भएकाले खाद्यान्न हुम्लाबाटै जाने र त्यहाँबाट अन्य वस्तु ल्याइने गरेको उनले सुनाए । तिब्बती भूभाग मरुभूमि जस्तै भएकाले उत्पादन नहुँदा यहाँ खाद्यान्नको भर पर्नुपर्ने बाध्यता भएकाले उनीहरू पशु पालन मात्र गरिन्थ्यो । तिब्बतमा उक्त समयमा गहुँ प्रजातिको नाफल जातको खाद्यान्न मात्र उत्पादन हुन्थ्यो । मुख्य आयस्रोत नै भेडा र च्यांग्रा बिक्री भएकाले तिव्बतीहरूले त्यसैबाट गुजारा चलाउँथे । हुम्लाका बासिन्दा तिब्बतबाट ल्याएको ऊनको कपडा घरमै उत्पादन गर्थे र आफ्नो आवश्यकताअनुसार बोखु, सुरुवाल, पटुका, टोपी दोचा, लाम (जुत्ता) र मोजा बनाउँथे ।


अहिले भने तिब्बत क्षेत्र सम्पन्न छ । घरघरमै मोटर प्रयोग हुन्छ । खाद्यान्न, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताको कुनै समस्या छैन । सीमित मात्रामा नाफल मात्रै उत्पादन हुने सीमापारि उवाको राम्रो उत्पादन हुन्छ । घरघरमा स्थानीयले टनेलमार्फत तरकारी फलाएका छन् । आवश्यकता पर्दा हुम्लीहरूलाई खाद्यान्न दिएर सहयोग गर्ने गरेका छन् । स्वशासित क्षेत्र बनाएपछि चीन सरकारले अचल सम्पत्ति राष्ट्रियकरण गरी सहकारीमार्फत सामूहिक खेती गर्न लगायो । खाद्यान्न र निर्माण सामग्रीमा सहुलियत दियो । गाउँमा सरकारी पसल स्थापना भए । शिक्षा र स्वास्थ्य नि:शुल्क भयो । स्थानीयलाई रेडियो सुन्न सहजताका लागि गाउँगाउँमा सञ्चारको व्यवस्था गरियो । विद्युत् उत्पादन स्थानीयस्तरमै भयो भने सार्वजनिक जमिनमा वृक्षरोपण गरी हराभरा बनाइयो । सीमापारिको सेरा गाउँका पुराना पुस्ताका तिब्बतीहरू अहिले दंग छन् आफ्नो क्षेत्रको विकास देखेर ।


२०५६ मा सुरु भएको हिल्सा–सिमकोट मोटरबाटो अझै सम्पन्न नहुँदा हुम्लाका बासिन्दा पीडित छन् । विकासको भिन्नताले नै सीमा क्षेत्रमा धर्म, भाषा, संस्कृति र रहनसहन मिले पनि वैवाहिक सम्बन्ध हुँदैन । लिमीका पूर्वअध्यक्ष सुनामपाल्देन लामाले भने, ‘धेरै पहिले परस्पर विवाह हुन्थ्यो तर विकासकै कारण त्यो सम्बन्ध पछिल्लो समय हुन छाड्यो ।’ उनका अनुसार त्यसैको कारण लिमीमा अविवाहित महिलाको संख्या धेरै छ ।


सीमाका बासिन्दा अहिले पनि तिब्बती ढिके नुनमै निर्भर छन् । लत्ताकपडा, दैनिक उपभोग्य सामान, खाद्यान्न सबै तिब्बती बजारबाटै खरिद गरिन्छ । स्थानीयले तिब्बतीहरूलाई काठ र धुपका लागि प्रयोग हुने हिमाली जडीबुटी दिएर खाद्यान्न ल्याउने गरेका छन् । लिमीका बासिन्दा ६ महिना तिब्बतको ताक्लाकोटमा ज्याला मजदुरी गरी जीविकोपार्जन गर्न बाध्य छन् । उक्त रकमबाट हिउँदका लागि आवश्यक खाद्यान्न र लत्ताकपडा खरिद गर्ने स्थानीयको भनाइ छ ।


अहिले कर्णाली करिडोरअन्तर्गत तिब्बतको सीमा हिल्साबाट दक्षिण मोटरबाटो बन्दै छ । हिल्सा–सिमकोट सडक आयोजना कार्यालयका अनुसार ९५ किमिमध्ये ७१ किमिमा ट्रयाक खुलेको छ । ट्रयाक खुलेपछि स्थानियले गाडीबाटै सामान ल्याउन थालेका छन् । चिनियाँ पक्षले आफ्नो सीमासम्मै चार लेनको पक्की सडक निर्माण गरिसकेको छ ।


सीमामा अध्यागमन, भन्सारदेखि सुरक्षा पोस्टका लागि भौतिक निर्माण गरिसकेको छ भने नेपालतर्फ भन्सारसमेत पुन:स्थापना भएको छैन । हिल्सामा बर्खामा प्रहरीको सीमा चौकी स्थापना भए पनि मंसिरपछि बन्द हुन्छ । स्थानीयले तिब्बतबाट खरिद गरी ल्याएका २ दर्जन बढी गाडी सञ्चालनमा छन् । तर पनि भन्सार र यातायात कार्यालय नहुँदा बिनानम्बरमै चलिरहेका छन् । बर्सेनि लाखौंको जडीबुटी तिब्बत जाने गरे पनि सीमामा वनको कुनै निकाय छैन ।


तिब्बतबाट लत्ताकपडादेखि दैनिक उपभोग्य वस्तु आयात हुन्छ तर, भन्सार नहुँदा सरकारले राजस्व गुमाउँदै आएको छ । २ वर्षअघि चीन भ्रमणका क्रममा तत्कालीन प्रधामन्त्री केपी ओलीले हिल्सामा मितेरी पुल निर्माणका लागि सम्झौता गरेका थिए तर निर्माण सुरु हुन सकेको छैन । यो नाका सञ्चालनमा आए तिब्ब्तबाट आवतजावत गर्न सजिलो हुने स्थानीय बताउँछन् । आउजाउमा सजिलो भए नाम्खा गाउँपालिकाका बासिन्दा काठमाडौं २ दिनमै पुग्न सक्ने थिए ।


यो नाकालाई सुविधा सम्पन्न गरी सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् । ‘अहिले अवैधानिक तवरले नेपालबाट जडीबुटी तिब्बत जाने गरेको छ । तर नाका व्यवस्थित भएर वैधानिक बनाउन सके हुम्ला मात्रै नभएर बाजुरा र बझाङका बासिन्दा पनि लाभान्वित हुनेछन्,’ प्रदेशसभा ‘क’ बाट निर्वाचित दल रावलले भने, ‘तिब्बती भूभाग मरुभूमि भएकाले फलफूल र तरकारी चीनबाटै आउँछ । यातायात सुलभ भएपछि हुम्लाको उत्पादनले अन्तर्राष्ट्रिय बजार पाउनेछ ।’ चीनबाट इन्धनलगायत समान पनि आयात गर्न सकिने र तिब्बती सामान सस्तोमा उपभोग गर्न पाउने भएकाले सिंगो ६ नम्बर प्रदेश नै लाभान्वित हुने रावलले सुनाए ।

प्रकाशित : फाल्गुन १०, २०७४ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?