२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

प्रदेश र राजधानी प्रस्ताव

प्रदेशको नामकरण र स्थायी राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले पारित गर्नुपर्छ
प्रकाश अधिकारी

सुर्खेत — प्रदेश–६ को नामकरण र राजधानीको टुंगो प्रदेशसभाको शनिबार बस्ने बैठकले लगाउने भएको छ । अन्य प्रदेशमा नाम र राजधानीको विषय निकै पेचिलो बनिरहेका बेला यहाँको प्रदेशसभाले भने सर्वसम्मत रूपमा प्रस्ताव पारित गर्ने तयारी गरेको छ । 

प्रदेश र राजधानी प्रस्ताव

सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेतलाई प्रस्ताव गर्ने सहमति छ । कार्य व्यवस्था परामर्श समितिले आइतबारको बैठकका लागि उक्त एजेन्डा तय गरेको हो । ‘प्रदेशको नाम कर्णाली राखियोस्’ भन्ने एमाले सांसद यामलाल कँडेल (सुर्खेत) को प्रस्तावमाथि कांग्रेसका दीनबन्धु श्रेष्ठ (जुम्ला), माओवादी केन्द्रकी सांसद सीता नेपाली (सुर्खेत) र राप्रपाकी शोसिला शाही (कालिकोट) ले समर्थन जनाउनेछन् । उक्त प्रस्ताव पारित भएलगत्तै राजधानीको टुंगो लगाइनेछ । ‘प्रदेशको राजधानी सुर्खेतलाई कायम गरियोस्’ भन्ने कांग्रेस सांसद जीवनबहादुर शाही (हुम्ला) को प्रस्तावमाथि एमाले सांसद गुलाबजंग शाह (सल्यान), माओवादी केन्द्रका गणेशप्रसाद सिंह (जाजरकोट) र राप्रपाकी शोसिला शाही (कालिकोट) ले समर्थन गर्नेछन् । राजधानीका सन्दर्भमा कर्णाली विशेष गरी जुम्लावासीको फरक मत सार्वजनिक भएपछि राजधानीको प्रस्ताव गर्न कर्णाली भेगकै सांसदलाई दिने तयारी छ ।


सभामुख राजबहादुर शाहीले सबै सांसदलाई अनिवार्य उपस्थित हुन सूचित गरेको बताए । ‘अत्यन्त जरुरी प्रस्तावमाथि छलफल हुने भएकाले बैठकमा इच्छुक सांसदलाई पनि बोल्नका लागि समय दिने तयारी गरेको छु’ उनले भने, यस्तो महत्त्वपूर्ण बैठकमा कुनै सांसद अनुपस्थित हुनुहुन्न र, इच्छुकलाई आफ्नो धारणा राख्न दिनुपर्छ भन्नेमा प्रदेशसभा सचेत छ ।’


बैठकमा प्रस्तावक/सर्मथकका अतिरिक्त अन्य कुनै सांसदले आफ्नो धारणा राख्नसक्नेछन् । सभामुखले सांसदहरूलाई बोल्न दलीय आधारमा समय निर्धारण गरिएको जनाए । उनका अनुसार एमालेलाई १५, माओवादी केन्द्रलाई १० र कांग्रेसलाई ८ र राप्रपालाई ५ मिनेट समय निर्धारण गरिएको छ । प्रस्तावमाथि छलफल भैसकेपछि सभामुखले दुइटै प्रस्ताव निर्णयार्थ सभामा पेश गर्नेछन् । मत विभाजनका आधारमा प्रस्ताव पारित हुनेछन् । प्रदेशको नामाकरण र स्थायी राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने संवैधानिक प्रावधान छ ।


सचिवालयले ३९ सदस्यीय (सभामुखबाहेक) प्रदेशसभाले आइतबार सर्वसम्मत रुपमा दुइटै प्रस्ताव सर्वसम्मत पारित गर्ने दाबी गरेको छ । ती प्रस्ताव पारितसंगै प्रदेशको नाम र राजधानी टुंग्याउने प्रदेश ६ पहिलो हुनेछ । सरकारले केही समयअघि तत्काललाई प्रदेशसभा र प्रदेश सरकार सञ्चालन गर्न सुर्खेतलाई अस्थायी मुकाम तोकेको थियो । एमालेका सचेतक गुलाबजंग शाहले आफ्ना सांसदलाई अनिर्वाय उपस्थित हुन ह्विप जारी गरिसकेका छन् । प्रदेशसभा सभामुखबाहेक एमालेका १९ सांसद छन् । प्रदेशसभामा एमाले, माओवादी केन्द्र, कांग्रेस र राप्रपाको प्रतिनिधित्व छ ।


संविधान निर्माणको पूर्वसन्ध्यामा प्रमुख दलका नेताहरू सम्मिलित विशेष समितिले ०७२ साउन २३ मा ६ प्रदेशको खाका सार्वजनिक गरेपछि भेरी–कर्णाली क्षेत्र आन्दोलित भएको थियो । जतिबेला सुदुरका ९ तथा मध्यपश्चिमका १० जिल्ला (रुकूम पश्चिम) समेटेर एउटै प्रदेश प्रस्ताव गरिएको थियो । बेग्लै र स्वायत्त प्रदेशको माग राखी १३ दिनसम्म चलेको आन्दोलनका क्रममा सुर्खेतमा ४ र, जुम्लामा १ ले ज्यान गुमाए ।


कर्णाली आन्दोलन उत्कर्षमा पुग्न थालेपछि भदौ ४ गते प्रमुख राजनीतिक दल ६ प्रदेशको सीमांकन पुरावलोकन गरी ७ प्रदेशको संघीय संरचना निर्माण गर्न बाध्य भए । अन्तत: कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोट, भेरीका दैलेख, सुर्खेत र जाजरकोट, राप्तीका सल्यान र रुकुम (पश्चिम) समेटेर ६ नम्बर प्रदेश जन्मियो । आन्दोलनको परिणामस्वरुप राजधानीको बहस टुंगिएको हो । एमालेको प्रदेश कमिटीले गत वर्ष नै प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेतलाई बनाउने निर्णय गरिसकेको थियो ।

प्रकाशित : फाल्गुन १२, २०७४ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?