कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेश नं ६ को नाम ‘कर्णाली’, राजधानी वीरेन्द्रनगर राख्ने निर्णय

रासस

सुर्खेत — प्रदेशसभाको बैठकले ६ नं प्रदेशलाई ‘कर्णाली प्रदेश’ नामाङ्कन गरेको छ । प्रदेशसभाको शनिबार बसेको बैठकमा प्रदेशसभा सदस्यको बहुमतबाट ६ नं प्रदेशको नाम ‘कर्णाली प्रदेश’ पारित गरेको हो ।

प्रदेश नं ६ को नाम ‘कर्णाली’, राजधानी वीरेन्द्रनगर राख्ने निर्णय

बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले प्रदेशको नाम ‘कर्णाली’ राख्नुपर्ने प्रस्ताव गरेका थिए । प्रस्तावमा नेपाली कांग्रेस जुम्लाका सांसद दीनबन्धु श्रेष्ठ, एमाले डोल्पाका सांसद वीरबहादुर शाही र राप्रपा कालीकोटका सांसद सोशिला शाही समर्थन गरेका थिए ।


चालीस प्रदेशसभा सदस्यमध्ये ३७ जनाले उक्त प्रस्तावको पक्षमा मत जाहेर गरेको तथा मुगुबाट निर्वाचित सांसद चन्द्रबहादुर शाही र झोवा विक अनुपस्थित रहेको सभामुख राजबहादुर शाहीले जानकारी दिए । बैठकमा सभामुख शाहीले यस प्रदेशको नाम ‘कर्णाली प्रदेश’ भनेर घोषणा गरेका थिए ।


बैठकमा प्रस्तुत प्रस्तावको छलफलमा प्रदेशसभा सदस्य सीता नेपाली, कृष्णा शाह, हिमबहादुर शाही, कौशिला खत्री, दानसिंह परियार र पदमबहादुर रोकायाले भाग लिएका थिए ।


कर्णाली प्रदेशको राजधानी सुर्खेत


यसैगरी बैठकले सर्वसम्मत रुपमा प्रदेश नं ६ को प्रदेशको राजधानी सुर्खेत (वीरेन्द्रनगर) राख्ने निर्णय गरेको छ ।


प्रदेशसभाको बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले ‘प्रदेश राजधानी सुर्खेतमा राखियोस्’ भनी प्रस्ताव गरेका थिए । प्रस्तावमा नेकपा (एमाले)का सांसद गुलाबजंग शाह र नेकपा (माओवादी केन्द्र)का सांसद गणेशप्रसाद सिंहले समर्थन जनाएका थिए ।


प्रदेशको राजधानी सुर्खेत राख्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको विकल्प नरहेको बताए । कांग्रेसका सांसद यज्ञबहादुर विसीले कर्णाली प्रदेशमा सरकार पक्ष र प्रतिपक्षको अनुभूति नभएको बताए ।


छलफलमा भाग लिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशको मौसमी राजधानीको व्यवस्था गरिनुपर्ने बताए । यो प्रदेशलाई ग्रीष्मकालीन र शीतकालीन राजधानीको रुपमा विकास गरिनुपर्ने भन्दै कर्णालीको केन्द्र जुम्लालाई ग्रीष्मकालीन र वीरेन्द्रनगरलाई शीतकालीन राजधानी बनाउनुपर्ने धारणा राखे ।


सांसद शाहीद्वारा नियमापत्ति


नेपाली कांगेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेशको राजधानी सुर्खेत राखियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सरकारका मन्त्रीहरुले भाग लिन नमिल्ने भन्दै नियामपत्ति गरे ।


प्रदेश राजधानी सुर्खेत बनाउनुपर्ने प्रस्तावमाथि भएको छलफलमा भाग लिनका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाई सभामुख राजबहादुर शाहीले बोल्न समय दिएपछि सांसद शाहीले नियमापत्ती जनाएका हुन् । सभामुख शाहीले मन्त्री भण्डारीलाई बोल्न दिएपछि संसदीय परम्पराविपरीत सरकारका मन्त्रीले सरकारकै प्रस्तावमा भाग लिन नपाउने भन्दै सभामुखको ध्यानाकर्षण गराए ।


सभामुख शाहीले मन्त्री भण्डारी मन्त्री मात्र नभई जुम्लाको सांसद भएकाले प्रस्तावमाथि बोल्न समय दिएको बताएपछि विपक्षी दलका नेतासांसद शाही आशनमा बसेका थिए ।

प्रकाशित : फाल्गुन १२, २०७४ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?