दुई हजार हेक्टर वन अतिक्रमण

अतिक्रमित जग्गामा १ हजार ५ सय बढी परिवारले घर बनाएका छन्
विप्लब महर्जन

सल्यान — यहाँको दुई हजार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमण भएको छ । स्थानीयले सामुदायिक तथा राष्ट्रिय वनमा अतिक्रमण गरी घर–टहरा निर्माण तथा खेती गरेका हुन् । स्थानीयले राप्ती लोकमार्ग आसपास रहेका वनका खाली जग्गासमेत छाडेका छैनन् । 

अतिक्रमित जग्गामा टहरा र पक्की संरचना बनाउने क्रम बढ्दै गएको छ । कपुरकोट, टुनिबोट, त्रिवेणी, लान्ती, भोटेचौर, श्रीनगर, ढोडचौर, बांगेलाखुरी, सल्लीबजारलगायतका व्यापारिक केन्द्र नजिकैका वन क्षेत्र बढी अतिक्रमित भएका छन् । जिल्ला वन कार्यालयका अनुसार त्रिवेणीमा २ दशमलव ५, फलाबाङमा ५ दशमलव ५, छायाक्षेत्रमा ४ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ ।


त्यस्तै, धनबाङमा १५ दशमलव २५ हेक्टर, मर्मपरिकाँडामा १२ हेक्टर, स्विकोटमा १२ दशमलव ५ हेक्टर र बाँमेमा १० हेक्टर वन क्षेत्र अतिक्रमण गरिएको छ । यसैगरी मूलखोलामा १२ दशमलव ५ हेक्टर, घाँजरिपीपलमा १५ हेक्टर, देवस्थलमा १२ दशमलव ५ हेक्टर अतिक्रमण गरिएको कार्यालयले जनाएको छ । अतिक्रमित जग्गामा १ हजार ५ सय बढी परिवारले घर बनाएर बसोबास गर्दै आएको कार्यालयले जनाएको छ । स्थानीयले विभिन्न मन्दिरको गुठीको करिब एक हजार रोपनी जग्गा अतिक्रमण गरेका छन् । अझै पनि वन क्षेत्र अतिक्रमण गर्ने क्रम नघटेको वन कार्यालयका अधिकृत मेघनाथ काप्ले बताए ।


सशस्त्र द्वन्द्वपछि वनक्षेत्र अतिक्रमण हुन थालेको उनको भनाइ छ । उनका अनुसार संस्थागत रूपमा विद्यालयले धेरै जग्गा अतिक्रमण गरेका छन् । जिल्लामा करिब चार सय विद्यालय छन् । अधिकांश वनकै जग्गामा छन् । एक विद्यालयले ५ रोपनीभन्दा बढी जग्गा ओगटेका छन् । अतिक्रमण भएका क्षेत्र पटक–पटक हटाउन खोजे पनि राजनीतिक दबाबका कारण सफल हुन नसकेको वन कर्मचारीको भनाइ छ । केही समयदेखि कालिमाटीमा २ दशमलव ५ हेक्टर अतिक्रमित जग्गा हटाउन सफल भएको काप्।्mलेले बताए । उनका अनुसार स्यानीखालमा सामुदायिक वन अतिक्रमण गरेर बनाएका घर हटाउने तयारी भइरहेको छ । स्थानीयले वनका रूख काटेर अतिक्रमण गर्न नछाडेकाले पर्यावरणमा असर परेको उनले जनाए । रूख काटेर बस्ती बसाउने र डोजर लगाई सडक खन्ने काम बढेपछि पानीका मुहानहरू सुक्दै गएका उनले बताए ।


अतिक्रमण बढ्न नदिन र अतिक्रमण हटाउन नगर तथा गाउँ प्रमुखले प्रतिबद्धत्ता जनाएका छन् । जिल्लाको वातावरणमा सुधार ल्याउन वन संरक्षण गर्ने आवश्यक रहेको शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले बताए । उनले अतिक्रमण हटाउन नगरपालिकाबाट सूचना प्रकाशन गरिसकेको जनाए । उनले निर्धारित समयभित्र अतिक्रमण नहटाइए नगरपालिकाले बल प्रयोग गर्ने जनाए । अतिक्रमण हटाउने र आगामी दिनमा हुन नदिन विशेष कार्यक्रम सञ्चालन गर्ने कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए ।

प्रकाशित : फाल्गुन १४, २०७४ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?