जहाज चढ्ने सपना

३१ वर्षदेखि अधुरै
लोकतन्त्र आएपछि दलित भागबन्डामा गठन भएका उपभोक्ता समितिले काम थाले पनि प्रभावकारी भएन
तुलाराम पाण्डे

कोटवाडा (कालिकोट) — ‘चिलगाडी आउछ भनेर सुनथरालीको पाखो खन्न थालेको ३१ वर्षपछि गत वर्ष जहाज देखियो ।’ नरहरिनाथ १ का वडाध्यक्ष पुर्थीबहादुर विष्टले भने ‘चिलगाडी चढ्न अझै पाइएको छैन ।’ जहाजलाई स्थानीयले चिलजस्तै आकाशमा उडने भएकाले चिलगाडी भन्छन् ।

उनकाअनुसार ०४२ मा तत्कालीन जिल्ला पञ्चायत सभापति दीपबहादुर शाहीको पालामा विमानस्थल खन्न ७५ हजार दिएर काम सुरु गरिएको थियो । उनले पनि कैयौं समय यही सडकमा मजदुरको रूपमा काम गरेको सुनाए ।


काम सुरु हुँदा प्रतिदिन ५ रुपैयाँ ज्यालामा काम गरेका मजदुरले ०७३ मा ४ सय रुपैयाँसम्ममा काम गरेवापत पाए । सशस्त्र द्वन्द्वमा धादिंग जोगिमारा, काभ्रे, सिन्धुली रामेछापसहित ७ जना स्थानीयसहित ३५ मजदुर मारिएपछि अवरुद्ध भएको निर्माण काम लोकतन्त्र आएपछि दलित भागबण्डामा गठन भएका उपभोक्ता समितिले काम थाले पनि प्रभावकारी भएन । कतिपय मजदुरले हालसम्म पनि ज्याला पाउन सकेका छैनन् ।


कहिले बजेट अभाव, कहिले सशस्त्र द्वन्द्व त कहिले उपभोक्ता समितिको ठगीले कामले गति लिन नसकेको कोटवाडा विमानस्थल निर्माणको ढिलाईले स्थानीय मर्कामा रहे पनि गत वर्ष परिक्षण उडान हुदा खुसी भएका नरहरिनाथ गाउपालिका र त्यस आसपासका बासिन्दा पुन: निराश छन् । ‘परिक्षण उडान भयो भनेर प्रचार गरियो,’ कालाशिल्ला मावि कुमालगाउका प्रअ जयबहादुर बुढाले भने ‘त्यसपछि जहाज देख्नै पाइएन ।’


गत वर्ष जहाज आएपछि हवाई सपना पूरा भएको सुनाउने स्थानीय समाजसेवी पदमबहादुर बुढाले अचेल निराश छन् । ‘तन्नेरी हुँदादेखि एर्पोट बनाउन बेला बेलामा डेलिगेसनमा गइयो ।’ कुमालगाउ गाविसका पुर्व अध्यक्ष बुढाले भने ‘हाम्रो पालामा त जहाज देख्न पाइदैन कि भन्ने लागेको थियो, देख्न पाइयो । तर, चढ्न पाइएलाजस्तो छैन ।’ कोटवाडा विमानस्थल निर्माण आयोजना प्रमुख इन्जिनियर रत्नबहादुर श्रेष्ठले कोटवाडा विमानस्थल निर्माणमा समय लागे पनि केही पूर्वाधार बन्न बाकी रहेकाले काम सकिएपछि नियमित उडानको लागि पहल हुने बताए । कोटवाडा एयरपोर्ट कर्णालीका मुगु, डोल्पा र हुम्लाको भन्दा लामो र फराकिलो रहेको हवाई प्राधिकरणको दावी छ । विमानस्थलको लम्बाई ६ सय ९० मिटिर र चौडाइ ४० देखि ६० मिटिर छ ।


निर्माण सुरु भएको ३१ वर्षपछि कालिकोटको कोटवाडास्थित सुनथराली विमानस्थलमा गत वर्ष जहाज ल्याएर कोटवाडा पुगेका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री जीवनबहादुर शाहीको ३ महिनामा नियमित जहाज संचालन गर्ने आश्वासन अझै पूरा भएको छैन । उनी प्रदेश सभाका लागि हुम्लाबाट निर्वाचित भएर ६ नं प्रदेशको प्रमुख प्रतिपक्ष दलको नेता भएर सुर्खेतमा सक्रिय छन् ।


धावनमार्गको सुधार, टावरसहितका पूर्वाधार बन्न नसक्दा कालिकोटबासीको जहाज चढ्ने धोकोमै सिमित छ । एक वर्षअघि धावनमार्गको काम सकेर हतार हतारमा बहुचर्चित कोटवाडा विमानस्थलमा तारा एयरको नाइन एन एवीएम नं को टुनवटर विमान शनिवार वरिष्ठ चालक सन्तोष शाहले अवतरण गरेर परिक्षण उडान गरेका थिए । विमानस्थलको लोकेशन हेर्न क्याप्टेन शाहसहित संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री शाहीसहितको टोली त्यसको एक साताअघि हेलिकोप्टरमा कोटवाडा पुगेर माघ २९ गते जहाज ल्याएर कोटवाडा पुगेको थियो ।


३ दशकपछि कोटवाडामा आएको विमान हेर्न यहाका लालु, माल्कोट, रुप्सा, कुमालगाउ, कोटवाडा, रकुसहितका आसपासका गाविसबाट ५ हजारभन्दा बढी नागरिक कोटवाडा पुगेका थिए । महिलाहरु लालाबाचा च्यापेर आएका थिए भने बृद्धबृद्धा लठ्ठी टेक्दै विमानस्थल पुगेका सबै खुशी देखिन्थे । उनीहरुको आशा थियो नियमित जहाज आउला र विरामी पर्दा जहाज चढेर सुर्खेत नेपालगञ्ज झर्न पाइएला भन्ने । तर, परिक्षण उडान भएको एक वर्ष पुरै बित्यो जहाज देख्न नपाइएको स्थानीय मानवहादुर विष्टको गुनासो छ । ‘मन्त्रीले त ३ महिनाादेखि नै जहाज नियमित गर्छु भनेका थिए ।’


सशस्त्र द्वन्द्व प्रभावित विष्टले भने ‘प्रचार र चर्चाका लागि मात्र जहाज ल्याएका रैछन् ।’ उनले सशस्त्र द्वन्द्व विमानस्थल निर्माणको क्रममा धेरै मजदुरले ज्यान गुमाएको कोटवाडामा काग्रेसले जहाज ल्याएको स्याल हुइया चलाएर चुनावी नारा बनाए पनि प्रगति शून्य रहेको गुनासो पोखे । उनले काग्रेसले कोटवाडामा परिक्षण उडान गरेको भनेर स्थानीय, प्रतिनिधि सभा र प्रदेशसभामा मुख्य चुनावी नारा बनाएर प्रचार गरेको सुनाए ।


पाच वर्षअघि परिक्षण उडान गर्ने भनेर प्रचार गर्ने बाचा गरेका तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडवहादुर विश्वकर्माको पालामा कोटवाडा विमानस्थल संचालनमा ल्याउन ७ करोड रकम विनियोजन गरिए पनि दलीय भागबण्डामा बनेका उपभोक्ता समितिले काम नगरेर रकम मात्र दुरुपयोग गरेको स्थानीयको गुनासो छ । ‘यही घर भएका मन्त्री प्रकाण्डले पर्याप्त बजेट विनियोजन त गरेका थिए ।’ नरहरिनाग गाउपालिका उपाध्यक्ष मनशोभा बुढाले भनिन् ‘दलीय भागवण्डामा बनेका उपभोक्ता समितिले दुरुपयोग गरे ।’


विमानस्थलमा काम गर्न ६० लाखको दरले ५ वटा उपभोक्ता समिति बनाएर काम गरे पनि कामदारको ज्याला नपाएको गुनासो छ । ज्याला विवादमा काम बन्द भएको विमानस्थलमा कर्णालीकै नेता जीवनवहादुर शाही पर्यटन मन्त्री भएपछि कोटवाडा विमानस्थल संचालनमा ल्याउने बाचा गरेअनुसार दुई पटक कोटवाडा विमानस्थलको अनुगमन गरेर कामलाई तीब्रता दिन पहल गरेर परिक्षण उडान गरेका थिए ।


कर्णालीका अन्य चार जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पाबासीले हवाइ जहाज चढ्न पाए पनि कालिकोटबासीको वर्षौ पुरानो जहाज चढ्ने धोको अझै पुरा हुन नसकेको नरहरिनागा गाउपालिका अध्यक्ष धीरवहादुर विष्टले बताए । नियमित उडानको लागि उनी गाउपालिका अध्यक्षमा निर्वार्चित भइसकेपछि ३ पटक हवाई प्राधिकरण काठमाडौ पुगिसकेका छन् । विमानस्थलको टावर, शौचालय र सुरक्षा भवनको लागि भर्खर ठेक्का भएको छ । अध्यक्ष विष्टले भने ‘काम पुरा भएपछि उडान गर्छौ भनेका छन्, कहिले हुने हो ? ठेगान छैन ।’


विमानस्थल नहुदा कालीकोटको लालु, माल्कोट, रुप्सा, कुमालगाउ, र कोटवाडासहितका बासिन्दाले आवतजावत र सामान ढुवानीमा सास्ती खेप्दै आएका छन् । साविकका ५ गाविस मिलेर बनेको नरहरिनाथ गाउपालिकामा सडक पनि छैन । यहाका बासिन्दा घण्टौं पैदल हिड्न बाध्य छन् ।

प्रकाशित : फाल्गुन १४, २०७४ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?