कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

ठेकेदारको लापरबाहीले अलपत्र

६ वर्षसम्म पनि नबनाउने कम्पनीलाई कालोसूचीमा राख्ने र नयाँ टेन्डर आह्वान गर्ने जिससको निर्णयविरुद्ध सर्वोच्चमा गत असोजमा दायर मुद्दाको फैसला नहुँदा निर्माण रोकियो
भीमबहादुर सिंह

जाजरकोट — जाजरकोट–जुम्ला रणनीतिक सडकको मोर्क खोला पुल निर्माण २ वर्षदेखि अलपत्र परेको छ । ठेकेदारको लापरबाहीले पुल निर्माण सुरु भएको ६ वर्ष बित्दा पनि पूरा हुन सकेको छैन ।

ठेकेदारको लापरबाहीले अलपत्र

ठेकेदारले पुल निर्माणका लागि ९० लाख रुपैयाँ भुक्तानी लिइसकेका छन् । तर, पुलको सबस्ट्रक्चरबाहेक अन्य काम भएको छैन । पुलको सुपरस्ट्रक्चर, पहुँच मार्ग, नदी नियन्त्रणलगायत कार्य अलपत्र छन् । पुल निर्माणका लागि सर्वउद्धार/फ्रेन्ड्स जेभी काठमाडौंले २०६९ मा डेढ वर्षमा निर्माण पूरा गर्ने गरी कार्य सम्झौता गरेको थियो । २०७३ मा तेस्रोपटक म्याद थप हुँदासमेत निर्माण कम्पनीले पुल निर्माणमा सक्रियता देखाएन । पुल निर्माणमा बेवास्ता गर्ने सम्बन्धित कम्पनीलाई जिससको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले गत भदौमा कालोसूचीमा राखेर ठेक्का सम्झौता तोड्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध कम्पनीका अख्तियार अधिवक्ता जगदीश बजगाईंले समिति र अनुगमन कार्यालयलाई विपक्षी बनाई गत असोज २६ गते सर्वोच्च अदालतमा उत्प्रेषणको रिट दायर गरे । सर्वोच्चले गत असोज २७ मा विपक्षीका नाममा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्‍यो । सर्वाेच्चले मुद्दाको अन्तिम टुंगो नलगाउँदा पुल निर्माण थप अलपत्र परेको जिल्ला इन्जिनियर सूर्यबहादुर शाही बताउँछन् । पुल निर्माण सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले निर्माण अघि बढ्न नसकेको उनले बताए । सम्झौता गरेको मितिले डेढ वर्षमा निर्माण पूरा गर्नुपर्ने पुलको ६ वर्षसम्म पूरा नभएको उनले बताए । पुल निर्माणका लागि ३ पटकसम्म म्याद थप गर्दा पनि सम्बन्धित व्यवसायी सम्पर्कमा नआउँदा र निर्माणमा तदारुकता नदेखाउँदा उक्त कम्पनीलाई कालोसूचीमा राख्न कार्यालय बाध्य भएको शाही बताउँछन् । पुल निर्माणलाई अघि बढाउन पुरानो सम्झौता रद्द गरी नयाँ टेन्डर आहवान गर्न उक्त निर्णय गरेको उनको भनाइ छ । तोकेको मितिमा निर्माण नगर्ने कम्पनीलाई कालोसूचीमा राखेर ठेक्का सम्झौता तोड्ने प्रावधान भएको उनले बताए । पुल निर्माण रोकिएपछि चालु आवको ७० लाख रुपैयाँ बजेट पनि फिर्ता जाने भएको छ । पुल निर्माणमा ढिलाइ हुँदा जाजरकोट–जुम्ला सडकमा पर्ने दर्जन पुल निर्माणका प्रक्रिया पनि अघि बढ्न सकेको छैन ।

व्यवसायीले समयमा पुल नबनाउँदा पश्चिम क्षेत्रका बासिन्दालाई आवतजावतमा समस्या भएको जिसस प्रमुख मनबहादुर रावल बताउँछन् । पुल नबन्दा मोर्क बजारदेखि थलहबजारसम्मको २५ किमि सडकमा यातायात सहज छैन । पुल निर्माणका लागि सर्वउद्धार/फ्राइन्ड्स जेभी काठमाडौंले १ करोड ९६ लाख लागतमध्ये घटाघटमा १ करोड ४४ लाखमा सम्झौता गरेको थियो । ‘सडक बने पनि यातायातको सुविधा नहुँदा स्थानीयलाई आवताजावतमा सास्ती भएको छ । बर्सेनि वर्षासँगै खोलामा पानी बढेपछि यातायात अवरुद्ध हुने गर्छ । खोलामा पुल नहुँदा स्थानीयले वर्षाको समयमा जोखिम मलेर वारपार गर्नुपर्ने बाध्यता भएको छ,’ रावलले भने । पुल नबन्दा पटकपटक खोलाले बगाएर स्थानीयको ज्यानसमेत जाने गरेको छ । छिटो/छरितो पुल निर्माण गर्न सरोकारवाला निकाय गम्भीर हुनुपर्ने उनको भनाइ छ । मोर्क पुल जाजरकोट पश्चिम क्षेत्रको मुख्यद्वार मानिन्छ ।

पुल निर्माणको ६० प्रतिशत काम भइसकेको इन्जिनियर शाहीको दाबी छ । २५ मिटर लम्बाइ तथा ४ मिटर चौडाइको मोर्क पुल स्थानीय सडक पुल आयोजनाअन्तर्गत निर्माण हुन लागेको हो । व्यवसायीले प्रतिस्पर्धामा कामको जिम्मेवारी लिने अनि कार्य सम्पन्नतर्फ बेवास्ता गर्ने प्रचलनले समस्या भएको इन्जिनियर शाही बताउँछन् ।

प्रकाशित : फाल्गुन १७, २०७४ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?