१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कर्णाली राजमार्ग जीर्ण

ज्योति कटुवाल

रामाघाट (दैलेख) — कर्णाली राजमार्गको सुर्खेत सदरमुकामदेखि दैलेखसम्मको ३७ किमि राजमार्ग कालोपत्रे हुन नसक्दा सवारीसाधन र यात्रुले सास्ती खेप्नु परेको छ । सुर्खेतदेखि दैलेख हुँदै कर्णालीका विभिन्न जिल्ला पुग्ने राजमार्गको पहिलो खण्डमै कालोपत्रे नभएपछि सडक जीर्ण बन्दै गएको हो ।

कर्णाली राजमार्ग जीर्ण

एक दशक सञ्चालनमा आएको राजमार्ग मर्मत नभएपछि सवारीसाधनले नियमित रुटै परिवर्तन गरेका छन् । सुर्खेत वीरेन्द्रनगरदेखि बड्डीचौर हुँदै दैलेख खडगाबाडा तल्लो डुंगेश्वरसम्मको ६० किमि सडकको कालोपत्रे उक्किएर खाल्डा बनेपछि राजमार्गमा चल्ने सवारीसाधनहरू दैलेख रातानाङ्लाको रुट हुँदै सञ्चालन हुन थालेका छन् । वीरेन्द्रनगरदेखि विभिन्न जिल्लामा लैजाने खाद्यान्नलगायत सामग्री ढुवानी गर्ने ट्रयाक्टरका कारण सडक जीर्ण भएको हो । सडक मापदण्डलाई अटेर गरी व्यवसायीहरूले एउटै गाडीबाट धेरै सामान ढुवानी गर्न थालेपछि सडक बिग्रिएको हो । जुम्ला सडक आयोजनाले तत्कालीन अवस्थामा सुर्खेतदेखि ३७ किमि सडक प्राविधिक कारण जनाउँदै पिच गरेको थिएन ।

‘यो सडकमा पानीका मुहान धेरै भएको र निकास व्यवस्थित गर्न नसक्दा बारम्बार बिग्रने, खाल्डा पर्ने गरेको छ,’ जिप चालक लक्ष्मण खडकाले भने, ‘बिग्रेको सडक पार गर्न समय पनि दोब्बर लाग्ने र गाडीका उपकरणहरू पनि टुटफुट हुने भएपछि कर्णाली पुग्ने दैनिक सयौं साना सवारीसाधनले रुट फेरेका छन् ।’ उनका अनुसार पुरानै रुट प्रयोग गरी सियाकोट हुँदै फेरि तल्लो डुंगेश्वर पुगेर कर्णाली राजमार्गमा गाडीहरू मिसिने गरेका छन् । रुट फेर्दा चालकलाई २० किमि छोटो दूरी पर्छ ।

सडकमा सधैं पानी हुनु, सडकछेउका नाली माटोले भरिएर नियमित सरसफाइ र मर्मत सम्भार नहुनु मुख्य समस्या भएको व्यवसायीको गुनासो छ । व्यवसायीका अनुसार पात्लेखोला, केराघारीदेखि ३७ किमि राजमार्ग तल्लो डुंगेश्वरसम्म सडक धेरै बिग्रिएको छ । खाल्डा परेर गाडीका विभिन्न पाटपुर्जा टुटफुट हुन थालेपछि साना सवारीसाधनहरूले कर्णाली राजमार्गको ६० किमि प्रयोग गर्न छाडेका थिए । साना सवारी साधनहरूको सिको गर्दै दैलेख पश्चिम भेक, अछामको पूर्वी भेक, कालीकोट र जुम्ला जाने सार्वजनिक बसहरूले पनि माथिल्लो बाटो प्रयोग गर्न थालेपछि राजमार्गका होटल व्यवसायीहरूले विरोध जनाएका थिए । सवारी साधनहरूले राजमार्ग छोडेर विकल्प खोजेपछि बड्डीचौरदेखि ६० किमि बीचमा पर्ने होटल र पसलेहरूले विरोध जनाएका हुन् । आफ्नो होटल व्यवसाय र पसल बन्द भएपछि गुजारा गर्न कठिनाइ भएको भन्दै स्थानीय प्रशासनमा दबाब दिएपछि ठूला गाडीहरूले राजमार्ग प्रयोग गर्ने र साना सवारीसाधनले मात्रै माथिल्लो सडक प्रयोग गर्ने सहमति भएको थियो ।

सुर्खेतस्थित सडक डिभिजन कार्यालय प्रमुख बेलबहादुर भुजेलका अनुसार तत्कालीन अवस्थामा पिच नगरिएको उक्त ३७ किमि सडक चालु आवमा स्तरोन्नति गरी ग्राभेल गरिनेछ । उनले अर्को आवमा सडक कालोपत्रे हुने जनाए ।

प्रकाशित : फाल्गुन १७, २०७४ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?