कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गमगढी–नाग्मा सडक कालोपत्रे भएन

सुर्खेतदेखि नाग्मासम्म दुई सय ३८ किमि सडक कालोपत्रे भइसकेको छ ।
राजबहादुर शाही

मुगु — कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्मा सडक कालोपत्रे नहुँदा सवारी साधन सञ्चालनमा समस्या भएको छ । सडक सञ्चालनमा आएको सात वर्षसम्म पनि कालोपत्रे नहुँदा यात्रुलाई सास्ती भएको हो । हिउँदमा धुलो र बर्षामा हिलाम्य हुने समस्याले सवारी साधन सञ्चालनमा समस्या भएको चालकहरूको गुनासो छ ।

गमगढी–नाग्मा सडक कालोपत्रे भएन

२०६९ पुस १ गतेदेखि गमगढी–नाग्मा सडकमा गाडी सञ्चालन हुन थालेका हुन् । सेनाले ट्रयाक खोली यातायात सेवा सुरु गराएको थियो । सडकको स्तरोन्नति नहुँदा दोहोरो गाडी चलाउन मुस्किल छ । एकतर्फी सडक भएकाले ठूला गाडी चलाउन समस्या हुने गरेको हो । लामो दूरीको कच्ची सडकमा गाडी चलाउन निकै सास्ती हुने गरेको गाडी चालक सुदिप न्यौपानेले बताए । उनका अनुसार घाम लागे धुलो उड्ने र वर्षामा हिलो हुँदा यात्रु तथा चालकलाई सास्ती भएको हो ।


सुर्खेतदेखि नाग्मासम्म दुई सय ३८ किमि सडक कालोपत्रे भइसकेको छ । नाग्मादेखि गमगढीसम्मको ९४ किमि सडक कच्ची छ । अहिलेसम्म सडक खण्डमा एक दर्जन बढी सवारी साधन दुर्घटनामा परिसकेका छन् । दुर्घटनामा सात जनाको ज्यान गैसकेको छ ।

मुगु र जुम्लाको सिमाना घुच्ची लेकको सातमोडमा धेरै जोखिम छ । उक्त क्षेत्रमा एकतर्फी सडक र मोड साँघुरो भएकाले गाडीहरू बेला बेलामा फस्ने गरेका छन् । ताल्चा एयरपोट नजिकै, मैतुडाडा झयारीखोला, जुम्लाको रोकायाबाडा, जियाभिर लगायत दर्जन स्थानमा सवारी साधान चलाउन अत्यन्तै कठिनाइ हुने गरेको छ ।


सडकमा ढल निकास र नाली पर्खाल निर्माण नहुँदा समस्या भएको चालकको गुनासो छ । त्यस्तै जुम्लाको गोठीज्युलाखोला, झयारीखोला, ताल्चाखोला, पिनाखालो लगायत स्थानमा पक्की पुल निर्माण हुन सकेका छैनन् । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कच्ची सडकका कारण सामान ढुवानी र यात्रुलाई आउजाउ गर्न कठिनाइ भएको बताए ।


गाडी चढेर रारा भ्रमण आउने पर्यटकलाई सास्ती हुने गरेको प्रजिअ अधिकारीको भनाइ छ ।

सडक स्तरोन्नतिका लागि जुम्लास्थित सडक डिभिजन कार्यालयबाट हरेक वर्ष ठेक्का खोल्ने गरिएको छ तर, ठेकेदारहरूले गुणस्तरीय काम नगर्दा बजेट सकिने गरेको छ । आउँदो वर्षदेखि सडक कालोपत्रेको काम अगाडि बढ्ने सडक डिभिजन प्रमुख अंगलाल रोकायाले बताए । उनका अनुसार सडक फराकिलो बनाउने काम भइरहेको छ । सडकमा हुम्ला र जुम्लाको समेत स्वामित्व जोडिएको छ । जुम्लाको कनकासुन्दरी, हेमा र सिजा गाउँपालिका यही सडकमा पर्छन् । हुम्लावासीले सुर्खेत र नेपालगन्जबाट विकास निर्माणका सामग्री, खाद्यवस्तु गाडीबाटै गमगढीसम्म ल्याउने र गमगढीबाट खच्चडमा बोकाएर लैजाने गरेका छन् ।

प्रकाशित : फाल्गुन १९, २०७४ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?