खाद्यबाली छाडेर बेसार

बजारमा एक सय ५० रुपैयाँ प्रतिकेजी बेसार बिक्री हुने गरेको छ । 
विप्लव महर्जन

सल्यान — कालीमाटी गाउँपालिकाको काल्चे घुरचौरका हरिबहादुर खड्काले यो वर्ष दुई लाख रुपैयाँ आम्दानी गरेका छन् । अघिल्लो वर्ष २० क्विन्टल बेसार उत्पादन गरेर दुई लाख कमाएका थिए । उनकै छिमेकी शेरबहादुर ओलीले दुई रोपनी जग्गामा लगाएको बेसारबाट तीन वर्षको अवधिमा चार लाख कमाए । 

खाद्यबाली छाडेर बेसार

त्यस्तै, प्रेमबहादुर ओलीले यो वर्ष तीन लाख रकम आम्दानी गरेका छन् । बेसारबाट राम्रो आम्दानी हुन थालेपछि काल्चे घुरचौरका ६० परिवारले खाद्यबाली छोडेर बेसार खेति गर्न लागेका छन् । छाडी बेसार खेतीमा उत्साहित भएका छन । उनीहरूले वार्षिक २ सय ५० रोपनी जग्गामा कपुरकोट १ जातका बेसार लगाउँदै आएका छन् ।


बजारमा एक सय ५० रुपैयाँ प्रतिकेजी बेसार बिक्री हुने गरेको छ । बिक्रीका लागि टाढा जानु नपर्ने र कृषि विकास आयोजना सुर्खेतले बजारीकरणको व्यवस्था गरिदिएकाले उनीहरू बेसार खेतीतर्फ आकर्षित भएका हुन् । बेसार उत्पादन समूहका अध्यक्ष रहेका हरिबहादुर खड्काका अनुसार बेसार खेतीमा लागेपछि घरमै रोजगारी मिलेको छ । आर्थिक अवस्था कमजोर भएकाहरू भारतमा मजदुरीका लागि जानु नपर्ने भएको उनले जनाए ।


मकै र धानभन्दा राम्रो आम्दानी हुने गरेकाले दुई रोपनी बढी जग्गामा बेसार लगाउने गरेको शेरबहादुर ओलीले बताए । यो वर्ष सबै खर्च कटाएर एक लाख ५० हजार आम्दानी भएको उनको भनाइ छ । ‘विगतमा परम्परागत खेती गर्दै आएका थियौं । खासै उत्पादन हुँदैनथ्यो । परिवार पाल्न कालापहाड जानुपर्ने बाध्यता थियो,’ उनले भने, ‘बेसार खेतीबाट सजिलै घरायसी समस्या समाधान भएको छ ।’


एक रोपनीमा ७ देखि १० क्विन्टल उत्पादन हुने भएकाले अन्य बाली भन्दा धेरै आम्दानी हुने स्थानीय प्रेमबहादुर ओलीले बताए । उत्पादित बेसार भारतका विभिन्न ठाउँमा जाने गरेको उनले जानकारी गराए । उच्च मूल्य कृषि विकास आयोजनाले बेसार खेतीमा सिँचाइ गर्न एक हजार तीन सय १० मिटर लामो कुलो बनाइदिएको छ । यस वर्ष दुई सय ५० रोपनी जग्गामा लगाइएको बेसारबाट ४० मेट्रिक टन उत्पादन भएको समूहले जनाएको छ । बेसार लगाउन थालेपछि यो वर्ष १५ करोड बढी रकम गाउँमा भित्रिएको अध्यक्ष खड्काले जनाए ।


जिल्ला कृषि विकास कार्यालयले अदुवा जस्तै बेसार नगदेबालीको राम्रो स्रोत भएकाले यसलाई बढावा दिन किसानलाई आग्रह गरेको छ । वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माले बेसार खेती गर्न किसानलाई बिभिन्न सामग्री सहयोग गर्दै आएको जानकारी गराए । बेसार खेतीले बेरोजगारीलाई रोजगार दिलाउन थालेपछि अहिले गाउँपालिकाले समेत किसानलाई उत्साहित गरेको छ ।

प्रकाशित : फाल्गुन २०, २०७४ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?