डोजर लगाएर जथाभाबी सडक

प्राविधिक स्टिमेटको बेवास्ता गर्दै सडक निर्माण गरिएपछि अधिकांश बेकामे
विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका–७ कजेरीको रामेखोलादेखि बयलबजार हुँदै ओखरेनी पुग्ने सडक ०५२ सालदेखि खन्न सुरु गरियो । तर, द्वन्द्वका कारण सडक लामो समय अलपत्र पर्‍यो । २०६४ सालबाट डोजर मार्फत फेरि सडक निर्माण सुरु भयो ।

डोजर लगाएर जथाभाबी सडक

प्राविधिकले खोलाको छेवैबाट लैजाने भन्दै सर्भे गरे । तर, डोजर चालकले जता सजिलो हुन्छ उतै सडक खनेको स्थानीयको भनाइ छ । त्यस्तै मार्केको सालचौरदेखि निगालचुला जाने सडक निर्माणअघि प्राविधिकले खोलापारिबाट लैजाने भन्दै सर्भे गरे । सडक प्राविधिक सर्भे प्रतिवेदनको आधारमा नभई स्थानीयवासी र डोजर चालकको सहजताको आधारमा खनियो । यी दुई सडक मात्र होइन, यहाँका ग्रामीण सडकहरू प्राविधिक इस्टमेटबिनै जथाभाबी खनिएपछि नियमित यातायात सञ्चालनमा समस्या छ । कतिपय सडकमा ट्याक्टर र माेटरसाइकलबाहेक अन्य गाडी चल्न सक्ने अवस्था छैन ।


शारदा नगरपालिका–७ का किशोर बुढाथोकीका अनुसार गाउँलेले आफ्नो जग्गा बचाउन डोजर चालकलाई नापेको ठाउँभन्दा केही माथिबाट खन्न लगाए । आफूलाई जता सजिलो पर्छ, त्यतै सडक खनेपछि रामखोला–ओखरेनी सडकमा नियमित गाडी चल्न समस्या छ । मार्केको सालचौरदेखि निगालचुलासम्मको सडक आर्थिक वर्ष २०६६/६७ सालमा खनिए पनि ट्याक्टरबाहेक अन्य सवारी चल्न सक्दैनन् । स्थानीय पुष्कर पुनका अनुसार प्राविधिकले खोलापारिबाट सडक लैजाने सर्भे गरे पनि डोजर चालकले आफूलाई सजिलो हुने भन्दै खोलाबाट सडक छिराएकाले समस्या भएको हो । उनले वर्षैपिच्छे आउने बाढीले गर्दा सडक पुर्ने र गाडी आउजाउ गर्न नसक्ने भएपछि अहिले अर्को ठाउँबाट सडक खनिएको छ ।


सडक निर्माण गर्दा छिटो, सजिलो र कम खर्चमा सम्पन्न हुने भन्दै जथाभाबी डोजर लगाउन थालेपछि नियमित गाडी चल्न समस्या भएको हो । सरकारले करोडौं लगानी गरे पनि अधिकांश ठाउँका सडकहरू भिरालो, उकालो र मोड साँघुरा भएका छन् । २०४५ देखि सडक निर्माणको काम भैरहेको सल्यानमा ०६४ सालपछि ग्रामीण सडक निर्माणले तीव्रता पाएको हो । २०६४ पछि खनिएका सबै सडक डोजर लगाएर निर्माण भएका हुन् । साविकका गाविस र जिविसले प्राविधिक अभावको कारण देखाउँदै अधिकांश स्थानमा उपभोक्ता समितिलाई निर्माणको जिम्मा दिएका थिए । अधिकांश स्थानमा साविकका जिविस र गाविसले प्राविधिक खटाएका प्राविधिकहरूले गरेको सर्भे डिजाइनको समेत वास्ता नगरी सडक निर्माण गरिएको थियो । माझकाँडाका डिले बुढाका अनुसार शान्ति स्थापनालगत्तै डोजर मार्फत खनिएका सडक काम नलाग्ने भएपछि धैरै स्थानमा अहिले रुट परिवर्तन गरि फेरि सडक खनिएका छन् । ‘डोजर चालक नै प्राविधिक भएपछि सडक प्राविधिक

डिजाइनविपरीतका भएका छन्,’ उनले भने, ‘समितिले समेत काम सक्न जथाभाबी सडक निर्माण गर्न लगाए ।’


डोजर चालकले मनोमानी सडक खन्दा बन्गाड कुपिण्डे नगरपालिकाभित्रका धेरै कच्ची सडकहरू सुधार गर्नुपर्ने अबस्थामा रहेको नगरप्रमुख गोविन्द पुनले बताए । उनका अनुसार लाखौं खर्च गरी निर्माण गरिएका अधिकांश सडकमा गाडी गुड्ने अवस्था छैन । उनले प्राविधिक स्टिमेट अनुसार सडक निर्माण गर्न र सर्भे गरेर मात्र सडकको काम सुरु गर्न उपभोक्ता समितिलाई निर्देशन दिइएको जनाए । धेरै सडक ठाडो भएकाले ट्रयाक बदलेर मर्मत गर्ने उनको भनाइ छ । सडक चिप्लो र ठाडो हुँदा हिउँदमा पनि गाडी चलाउन समस्या हुने गरेको गाडी चालकहरूको भनाई छ ।


जिल्लामा अहिलेसम्म ७ सय ४० किलोमिटर सडक निर्माण गरिएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । जसमध्ये १ सय १४ किलोमिटर कालोपत्रे र अरू सबै कच्ची छन् । विगतमा प्राविधिकको अभाव र बजेट पर्नेबित्तिकै उपभोक्ता समितिसँग सम्झौता गरेर निर्माण गर्ने प्रवृत्तिले धेरै स्थानमा गुणस्तरयुक्त सडक निर्माण हुन नसकेको प्रमुख इन्जिनियर कृष्ण पण्डितले बताए । उनका अनुसार डोजर चालक नै प्राविधिक भएपछि खलंगा–बालुवासंग्रही, बडागाउँ सडकलगायत जिल्लाभरिका अधिकांश सडक जीर्ण छन् । ‘प्राविधिक कार्यालयमा अहिले पनि तीन जना मात्र प्राविधिक छन् । एउटाले एक योजनाको तीन पटक अनुगमन गरे मात्र ९ सय पटक योजना निरीक्षण गर्नुपर्ने अवस्था छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन २१, २०७४ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?