‘बेरोजगार’ को भीडले घेरिँदै प्रदेश मन्त्री

बधाई दिने बहानामा जागिर माग्दै कार्यकर्ता
सचिवालयको जागिरका लागि केन्द्रीय नेतालाई भनसुन
‘शक्तिकेन्द्रको वरिपरी बसेर अपारदर्शी रुपले मनग्य कमाउन सकिन्छ भन्ने सोचले गर्दा समस्या बढायो’
प्रकाश अधिकारी

सुर्खेत — भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी आइतबार दिउँसो कार्यकक्षमा कार्यकर्तासंग फोन संवादमा व्यस्त थिइन् । गृह जिल्ला रुकुमबाट एक महिला कार्यकर्ताले जागिरको प्रस्ताव गरेपछि उनले जवाफ फर्काइन्–‘कृषि उत्पादनमा लाग्नुस् । बरु, अनुदान दिने व्यवस्था मिलाउला ।’

‘बेरोजगार’ को भीडले घेरिँदै प्रदेश मन्त्री

ती कार्यकर्ताले मन्त्रीसंग सचिवालयमै जागिर खाने ढिपी गर्न थालेपछि थप प्रष्ट पार्न खोजिन्, ‘सचिवालयमा स्वकीय सचिव र सहयागी गरी दुई जनामात्र राख्न सकिनेछ व्यवस्था छ । यसमा गाह्रो छ, पसल–व्यवसाय गर्नुस् । अनुदानको कुरा म गरौंला ।’ जागिर माग्ने कार्यकर्ताको फोनले दिक्क भैसकेकी उनले मन्त्री भएदेखि यस्तो फोन बढी आउने गरेको बताइन् । ‘पहिले सांसद थिएँ । त्यति बेला पनि कार्यकर्ताका केही न केही अपेक्षा हुन्थे । तर, अहिलेजस्तो हैरानी त्यति भोग्नुपरेको थिएन’ मन्त्री केसीले भनिन् । उनी ०६४ मा संविधानसभाको सदस्य थिइन् ।


मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि केही दिन अघि कान्तिपुरसंग जागिर माग्नेहरुबाट हैरान भएको दु:खेसो पोख्दै थिए । गृहजिल्ला कालिकोटका साथै कर्णाली प्रदेशका माओवादी केन्द्रका नेता/कार्यकर्ताहरु जागिरकै लागि उनीसंग धाइरहेका छन् । मुख्यमन्त्री तथा प्रदेश मन्त्रीपरिषद् कार्यालयमा जागिर माग्नेहरुको भीडले कर्मचारीहरु पनि दिक्क छन् । माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य, कर्णाली प्रदेशका जिल्ला संयोजकहरुसमेत मुख्यमन्त्रीको स्वकीय सचिवालयमा जागिर गर्न इच्छुक देखिएका छन् । मुख्यमन्त्री शाहीलाई दरबन्दी नै नभएको राजनीतिक/प्रेस सल्लाहकार लगायतका पदमा नियुक्ति दिलाउन कार्यकर्ताले दबाब दिइरहेका छन् । कार्यकक्षमै बधाई दिन पुगेका माओवादी निकट पत्रकारहरुसंग उनी भन्दै थिए–‘अहिले प्रेस सल्लाहकारको व्यवस्था छैन् । पछि भएमा सल्लाह गरौंला ।’


मुख्यमन्त्री शाही र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री केसीसंग मात्र होइन् प्रदेश सरकार गठन भएयता सबै मन्त्रीहरु बेरोजगारहरुको भीडमा घेरिएका छन् । कार्यकर्ताले निजी सचिवालयमा जागिर गर्नलाई केन्द्रीय नेतासमक्ष भनसुन गर्न थालेका छन् । मुख्यमन्त्री/मन्त्रीको सचिवालयमा बस्नलाई यसै प्रदेशका माओवादी केन्द्रका प्रभावशाली नेताद्वय शक्तिबहादुर बस्नेत र जनार्दन शर्मासंग लबिइङ गर्नेहरु उस्तै छन् ।


मन्त्रीपरिषद्मा मुख्यमन्त्रीसहित माओवादी केन्द्रका ३ र एमालेका ४ मन्त्री छन् । एमालेका मन्त्रीहरु पनि जागिर माग्ने कार्यकर्ताको भीडदेखि दिक्क छन् । सामाजिक विकास मन्त्री दल रावलले बेरोजगारी समस्या ‘टाउको दुखाई’ भएको बताए । ‘बधाई दिने बहानामा भेट्न आउनुहुन्छ । आफू नभए नजिकको नातागोतालाई जागिर लगाइदिनुपर्‍यो मन्त्रीज्यू भनेर सिफारिस गर्नुहुन्छ’ उनले भने, ‘यस्ता असीमित अपेक्षालाई कसरी व्यवस्थापन गर्नै मुस्किल हुनेवाला छ ।’ सडक नपुगेका जिल्ला हुम्ला र डोल्पाबाट एमाले कार्यकर्ताहरु जहाज चढेर नेपालगञ्ज हुदै सुर्खेत आउने गरेका छन् । उनीहरु सबैको बहाना हुन्छ मन्त्रीलाई भेटेर बधाई दिने अनि, मिलाएर जागिरको कुरा गर्ने । सामाजिक विकास मन्त्री रावल हुम्ला र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा डोल्पाका हुन् ।


मन्त्रीहरुका गृह जिल्लाका साथै प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेका नेता/कार्यकर्ताहरु अचेल आफ्ना नातागोता ‘सेटल’ गर्ने ध्याउन्नमा छन् । प्रदेश मन्त्रालय, सभामुख/उपसभामुखको निजी सचिवालयमा सहयोगीदेखि सल्लाहकारसम्मका पदमा नियुक्ति खानलाई कार्यकर्ताको दौडधुप बढ्दो छ । कतिपय कार्यकर्ता आफु नियुक्त भैसकेको अघोषित दाबी गर्दै मन्त्रीहरुका वरिपरी घुमिरहेका हुन्छन् । मन्त्रालयमा विकास भन्दा पनि जागिर, सरुवा, ठेक्कापट्टा माग्नेहरुको भीडभाडलाई व्यवस्थापन गर्नै कर्मचारीलाई समस्या हुने गरेको छ । प्रदेशका संरचनाहरु मर्मत सुधार, निर्माण हुने क्रममा रहेकाले त्यस्ता कामहरु आफू वा आफु नजिककालाई दिलाउन लबिङ गर्दै मन्त्रालय धाउनेहरु पनि छन् ।


राजनीतिक विसंगतिले बढावा

नेताहरुले चुनावका बेला युवाहरुलाई आश्वासन दिएका कारण पनि जागिर माग्ने प्रवृत्ति बढेको हो । तर, मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) समाजशास्त्र विषयका उप–प्राध्यापक कमलेश डिसी भने यति मात्र कारण ठान्दैनन् । उनले समाजमा हुर्कंदै गएको उपभोक्तावादी प्रवृत्तिका कारण विकराल समस्या निम्तिएको दाबी गरे । ‘राजनीतिमा जुन किसिमले विकृति देखापरेको छ । जनताको सेवा गर्ने भन्दा पनि शक्तिकेन्द्रका वरिपरी बसेर मनग्य कमाउन सकिन्छ भन्ने सोच छ । केहीले अपारदर्शी तरिकाले कमाएर धनाढ्य बनेका पनि छन्’ उनले भने, ‘त्यसले गर्दा सांसद, मन्त्रीकै वरिपरी बसेर काम गर्न खोज्ने प्रवृत्ति मौलाउन पुग्यो ।’ उप–प्राध्यापक डिसीले व्यवसायबिनै राजनीतिमा लागेकाहरुको कमाई धन्दा र उच्च जीवनशैलीले कार्यकर्तामा समेत आकर्षण बढाएको बताए । आफ्नो स्वार्थ पुरा गर्न ‘राज्यसत्ताको दोहनै गर्नुपर्छ’ भन्ने मनोविज्ञान हावी भएका कारण यस्तो समस्या आएको उनको टिप्पणी छ ।

प्रकाशित : फाल्गुन २१, २०७४ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?