कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

डेढ महिनादेखि डिपो रित्तै

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिकाको सोरुकोट खाद्य डिपोमा चामल नहुँदा स्थानीयलाई समस्या भएको छ । भिई, धैनकोट, फोतु, नार्थपु, जिमा, सिप, बुम्च ख्याल्चका बासिन्दा लक्षित गरी सोरुकोटमा डिपो सञ्चालन गरिए पनि चामल नहुँदा समस्या भएको हो ।

गाउँबाट चामल लिन खाद्य डिपोमा आएका स्थानीय रित्तै फर्किन बाध्य भएका छन् । खडेरीका कारण सोरु गाउँपालिकामा खाद्यान्न अभावको समस्या छ । डेढ महिनादेखि खाद्य डिपो रित्तै भएको छ । डिपोमा चामल नभएपछि डिपो प्रमुख विष्णु घिमिरेसहित कर्मचारी बिदामा बसेका छन् । ठेकेदार धनराज मल्लले सदरमुकामबाट खच्चडद्वारा बोकाएर लिएको केही मात्र डिपोमा पुगेपछि लुछाचँुडी हुने गरेपछि रित्तै भएको हो । डिपोमा चामल नहुँदा भोकचलन गर्न कठिनाइ भएको स्थानीय कलबहादुर कार्की बताउँछन् । उनका अनुसार गाउँमा खाद्य डिपो भएपछि चामल लिन गमगढी धाउनुपर्ने बाध्यता छ ।


सोरुकोट खाद्य डिपोका लागि वार्षिक कोटा ७ हजार क्विन्टल भए पनि उक्त चामल अपुग हुने गरेको छ । डिपोमा चामल पुग्दा स्थानीयले खोसाखोस गर्ने गरेको ठेकेदार मल्लले बताए । डिपोमा चामल नहुँदा भिई, नार्थपु, जिमालगायत क्षेत्रमा खच्चड र भेडाबाख्रा लिएर चामल लिन सर्वसाधारण २ दिन हिँडेर गमगढी पुग्न बाध्य छन् । अहिलेसम्म ५ सय ८४ क्विन्टल ढुवानी गरिसकेको मल्लको दाबी छ । सिँचाइ अभावमा आकाशे खेतीका भरमा रहेकाले उत्पादन कम हुने गरेको कृषकको भनाइ छ ।


सदरमुकामबाट सोरुकोट डिपोसम्म चामल लैजान प्रतिकेजी १७ रुपैयाँ मात्र ढुवानी भाडा भएकाले खच्चड पाउनै मुस्किल छ । श्रीकोट, सोरुकोट र पुलुका डिपोमध्ये सोरुकोट र पुलुसम्म चामल पुग्न बढी समस्या छ । सडक सुविधा नभएकाले चामल ढुवानीमा समस्या भएको हो । सोरुकोट डिपोमा चामल अपुग हुन थालेपछि थप १५ सय क्विन्टल माग गरिएको खाद्य प्रमुख भरतराज खनियाँ बताउँछन् । शान्ति स्थापनापछि पुन:स्थापना भएको सोरुकोट खाद्य डिपो अझै व्यवस्थित हुन सकेको छैन । कर्मचारी नबस्ने र डिपोमा चामल नपुग्ने अवस्थाले गर्दा स्थानीय मर्कामा परेका छन ।


डिपोमा चामल नहुँदा विपन्न तथा दलित वर्गका स्थानीयलाई दैनिक छाक टार्न मुस्किल हुने सोरु गाउँपालिका प्रमुख लोकबहादुर शाहीले बताए । ‘सरकारले कि डिपो नै राख्नु भएन । डिपो सञ्चालन हुन्छ भने जनतालाई पुग्ने चामल पठाई दिनुपर्‍यो,’ उनले भने, ‘यो वर्ष झन खडेरीले खाद्यान्न अभावको समस्या निम्तिएको छ ।’ सदरमुकाममा भने सरकारी अनुदानको चामल संस्थानलाई बिक्री गर्न समस्या छ । सदरमुकामको वार्षिक खाद्यान्न कोटा १० हजार क्विन्टल हो ।


ढुवानी नहुँदा मौज्दात न्यून

डोल्पा (कास)– ठेकेदारले ढुवानी नगर्दा यहाँका विभिन्न खाद्य गोदाममा खाद्यान्न न्यून मौज्दात छ । अहिले दुनै गोदाममा साढे २ क्विन्टल मात्र चामल मौज्दात छ । अन्य खाद्य ढिपोहरूमा धेरै कम चामल ढुवानी भएकोमा सबै वितरण भैसकेको छ । सदरमुकाम दुनै र जुफालमा रहेका खाद्य गोदामका लागि ठेक्का भएको १४ हजार क्विन्टल चामलमध्ये हालसम्म ४ हजार क्विन्टल मात्र ढुवानी भएको छ । १० हजार क्विन्टल चामल अझै ढुवानी हुन सकेको छैन ।


चामल पर्याप्त ढुवानी नहुँदा गोदाम खाली हुन लागेको संस्थानको शाखा कार्यालय प्रमुख हरिप्रसाद जोशीले बताए । उनका अनुसार सर्मी खाद्य डिपोमा १८ सय क्विन्टल चामल ढुवानी हुनुपर्नेमा ८ सय क्विन्टलमात्र भएको छ । १८ सय कोटा भएको काइगाउँ ढिपोमा ५ सय क्विन्टल तथा लिकु खाद्य डिपोमा पनि ५ सय क्विन्टल र हजार क्विन्टल कोटा भएको सहरतारा खाद्य डिपोमा ५ सय क्विन्टल चामल मात्र ढुवानी भएको छ ।


घरको अन्न सकिने बेलामा खाद्यान्न अभावको हुने देखिएको छ । ठेक्का लिएको इन्द्रदीप कन्स्ट्रक्सनले पर्याप्त ढुवानी नगर्दा खाद्यान्न अभाव हुन लागेको संस्थानको भनाइ छ । आकाशे पानीको भरमा खेती हुने डोल्पामा त्यसै खाद्यान्न अभाव हुने गर्छ । खाद्यान्न अभाव समाधान गर्न संस्थानमार्फत ढुवानी अनुदानमा चामल र गहुँ बिक्री वितरण गर्दै आएको छ । गत वर्ष पनि यही कन्स्ट्रक्सनका प्रोपराइटर जवानसिंह बुढाले नै ठेक्का लिएका थिए ।

प्रकाशित : फाल्गुन २२, २०७४ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?