कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

नाक्चेनाङ्ला–तिब्बत सडक निर्माणमा लापरबाही

सडक डिभिजनले पठाएन इन्जिनियर
८ वर्षमा १६ किमि मात्रै ट्रयाक खुल्यो
निर्माणमा एउटा मात्रै डोजर परिचालन
राजबहादुर शाही

छाइल (मुगु) — नाक्चेनाङ्ला–तिब्बत सडक निर्माणमा लापरबाही भएको छ । जिल्ला समन्वय समिति संयोजक पूर्णबहादुर रोकाया, समन्वय अधिकारी बाबुराम भुसाल, इन्जिनियर प्रेम बुढालगायतको टोलीले मंगलबार गरेको अनुगमनका क्रममा लापरबाही भएको पाइएको हो ।

नाक्चेनाङ्ला–तिब्बत सडक निर्माणमा लापरबाही

कर्णाली प्रदेशका लागि गौरवको आयोजनाका रूपमा चिनिएको सडक निर्माणमा भएको लापरबाहीका कारण कामले गति लिन नसकेको टोलीले जनाएको छ । सडक डिभिजन कार्यालयले अहिलेसम्म इन्जिनियर पठाएको छैन । ओभरसियरले निर्माणको प्राविधिक जिम्मेवारी पाएका छन् । छाइल गाउँभन्दा तलको गाँठेमा आधा किमि सडक पहिले कर्णाली किनारबाट खनेको र पछि माथि भीरबाट खन्न थालिएको छ । सडक निर्माण सुरु भएको ८ वर्षसम्म गमगढीदेखि लुम्स गाउँ हुँदै छाइल गाउँसम्म करिब १६ किमि मात्र ट्रयाक खोलिएको छ । गमगढीदेखि नाक्चेनाङ्लासम्मको करिब ८५ किमि मध्ये ५९ किमि सडक खन्न बाँकी छ । निर्माणका लागि एउटा मात्र डोजरले काम गरिरहेको छ ।


‘सडक निर्माणमा सरकारी निकाय र ठेकेदार दुवैको लापरबाही देखियो,’ संयोजक रोकायाले भने, ‘कहिले तलबाट र कहिले माथिबाट खनेर समय बिताउने गरेको देखियो ।’ सडकको ट्रयाक नखोली पहिले खनिएको सडकमै काम गरिएको उनले जनाए । उनका अनुसार यही गतिमा काम भए २० वर्षमा पनि मुस्किलले सडक निर्माण पूरा हुने उनको भनाइ छ ।


निर्माणमा ढिलाइ भएपछि स्थानीयले सेनालाई जिम्मा दिन माग गरेका छन् । ‘सरकारले पनि पर्याप्त रकम विनियोजन गर्दैन । ठेकेदारले पनि गुणस्तरयुक्त काम गरेका छैनन्,’ मुगुम कार्मारोङ गाउँपालिका ९ का वडाध्यक्ष सिंह बुढाले भने, ‘यस्तै भए हामीले कहिले गाडी चढेर तिब्बतमा समान ल्याउन जाने ?’ उनले सेनालाई जिम्मा दिए सडक निर्माणले गति लिने जनाए । गमगढीदेखि छाइलसम्म खनिएको सडकमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । गमगाढ, सालिम, लुम्स र कम्फा खोलामा गाडी तर्ने पुल नबन्दा सडक उपयोगविहीन जस्तै भएको छ । गमगढीबाट गएका जिप लुम्स खोलाबाट फर्किने गरेका छन् ।


खोलामा पुल नबनाइए सडकको अर्थ नहुने जिससका इन्जिनियर प्रेम बुढाले बताए । सडकमा हरेक वर्ष ३ देखि ४ करोडको ठेक्का खोल्ने गरिएको छ । भुसालका अनुसार जिससले तिब्बत सडकमा भइरहेको कामको मूल्यांकन तथा अनुगमनको विस्तृत विवरण कर्णाली प्रदेश सरकारमा र केन्द्रमा पठाउने भएको छ । सडक निर्माणका लागि गमगढीमा परियोजना स्थापना गरिए पनि निर्माण प्रभावकारी हुन सकेको छैन । परियोजना स्थापना भएको १ वर्ष बित्दा पनि कर्मचारी खटाइएको छैन ।


सरकारले परियोजना स्थापना गरे पनि बजेट नदिँदा काम अघि नबढेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख अंगलाल रोकायाले बताए । अबको ५ वर्ष सडक सम्पन्न गर्ने लक्ष्य साथ निर्माण अघि बढाउने काम भइरहेको उनको भनाइ छ ।


विभिन्न कठिनाइले ढिलासुस्ती भएको उनले जनाए 

प्रकाशित : फाल्गुन २४, २०७४ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?