अदुवाले भाउ पाएन

भाउ नपाएपछि किसानहरू सुठो बनाउन बाध्य छन् । कतिपयले उधारोमै अदुवा बिक्री गरेका छन् ।
विप्लव महर्जन

माल्नेटा (सल्यान) — शारदा नगरपालिका १५ ढारखानीका ज्ञानदेव घर्तीले ६ रोपनीमा लगाएको अदुवाबाट अघिल्लो वर्ष तीन लाख बढी आम्दानी गरे । यो वर्ष ३२ क्विन्टल अदुवा बिक्रीबाट ४३ हजार मात्र कमाइ भयो ।

अदुवाले भाउ पाएन

उनकै छिमेकी सुरेन्द्र गिरीले तीन रोपनी जग्गामा लगाएको अदुवा बिक्री नभएपछि उधारोमै बिक्री गरेका छन् । अदुवाको पकेट क्षेत्रका रूपमा चिनिएको माल्नेटामा यस वर्ष अदुवा बिक्री नभएपछि किसान समस्यामा परेका छन् ।

भाउ नपाएपछि किसानहरू सुठो बनाउन बाध्य छन् । कतिपयले उधारोमै अदुवा बिक्री गरेका छन् । अदुवा खेतीलाई पुख्र्यौली व्यवसाय बनाएका उनीहरू विकल्प खोजीमा लागेका छन् । अदुवाबाट वार्षिक दुई करोड भित्रिने माल्नेटामा यसपालि ५० लाख मात्र भित्रिएको किसान घर्तीले बताए । बाहिरबाट खरिदकर्ता नआएकाले अदुवाबाट धेरै घाटा लागेको उनले जानकारी गराए । उनका अनुसार अघिल्लो वर्ष ७० रुपैयाँ प्रतिकेजी बिक्री भएको अदुवा गत वर्ष २५ रुपैयाँमा झर्‍यो । यस वर्ष झन् अदुवाको बजारभाउ प्रतिकिलो १२ रुपैयाँभन्दा माथि जान सकेन । बर्सेनि अदुवाको भाउ घट्दै गएपछि जीविकोपार्जनमा समस्या भएको किसानको गुनासो छ ।

‘गत वर्ष पनि उधारोमा दिएका थिए । त्यो रकम अहिलेसम्म पाउन सकेको छैन,’ उनले भने, ‘बजार व्यवस्थापन अभावले किसानलाई बर्सेनि घाटा हुँदै गएको छ ।’ स्थानीय गमबहादुर गिरीले चार रोपनीमा लगाएको अदुवा बिक्री गर्दा जम्मा १६ हजार मात्र आम्दानी भएको बताए । बिक्री नभएकाले एक क्विन्टल सुठो बनाएर राखेको उनले जनाए । ‘बाली लगाएदेखि बजारमा पुर्‍याउँदासम्म धेरै परिश्रम हुन्छ । तर आम्दानीले चार/पाँच जनाको परिवारलाई दुई महिना खर्च पुग्दैन ।’ भारतका खरिदकर्ता नआएकै कारण माल्नेटाका किसानहरू मर्कामा परेका हुन् ।

माल्नेटाको ढारखानीमा १ सय ८५ घरले ३ सय रोपनीमा अदुवा खेती गर्दै आएका छन् । साबिकको माल्नेटा गाविसमा ५ सय परिवारले झन्डै १ हजार हेक्टर जग्गामा अदुवा लगाउँछन् । वडा अध्यक्ष कृष्णबहादुर गिरीका अनुसार अदुवा बिक्री नभएर परिवार पाल्न समस्या हुन थालेपछि गाउँका युवाहरू वैदेशिक रोजगारीमा जान थालेका छन् । किसानले व्यावसायिक रूपमा अदुवा खेती गर्न चाहे पनि पानी अभावका कारण परम्परागत रूपमा लगाउन बाध्य भएको उनको भनाइ छ ।

माल्नेटा मात्रै नभएर जिल्लाभरिका अदुवा उत्पादक किसानहरू दुई वर्षदेखि घाटामा गएको वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माले बताए । उनका अनुसार भारतमा धेरै अदुवा उत्पादन भएपछि खरिदकर्ताहरू नआएका हुन् । जिल्लामा दुई हजार हेक्टर बढी क्षेत्रफलमा अदुवा खेती हुँदै आएको छ ।

प्रकाशित : फाल्गुन २६, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?