२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

व्यावसायिक खरायोपालनमा किसान

एलपी देवकोटा

जुम्ला — चन्दननाथ–९ तलिउमका ६९ वर्षीय भीमबहादुर रोकायाले खरायो पालनबाट वार्षिक साढे तीन लाख बढी आम्दानी गरेका छन् । एक जोडी खरायोबाट व्यवसाय सुरु गरेका रोकायासँग अहिले ३० खरायो छन् ।

व्यावसायिक खरायोपालनमा किसान

उनले खरायो पालनसँगै खरायोको उनबाट बुनिने टोपी बिक्रीलाई आफ्नो प्रमुख आयस्रोत बनाएका छन् । त्यस्तै चन्दननाथ ९ रोकायाबाडाका जयबहादुर रोकायाले पनि खरायोबाटै मासिक १२ हजार आम्दानी गरिरहेको बताए । उनले ४५ खरायो पालिरहेका छन् । खरायो पालनको आम्दानीले एक छोरा र दुई छोरीलाई पढाउँदै घरखर्च धानिरहेको उनले जनाए । उनीहरू मात्र होइन, तलिउमका किसानहरूमा खरायो पालनप्रति आकर्षण बढ्दै गइरहेको छ ।

बजारमा खरायोको टोपीको माग बढ्दै गएपछि खरायो पालनबाट राम्रो आम्दानी भइरहेको छ । खरायोको टोपी उत्पादन र बिक्रीबाटै चन्दननाथ–८ का रतनबहादुर बुढाले नयाँ घर बनाएका छन् । बुढाले ५ वर्षदेखि खरायोको ऊन संकलन गरेर टोपी बनाउने र त्यसको व्यापार गर्दै आएका छन् । बजारमा खरायाको टोपीको मूल्य तीन हजारदेखि ३५ सय रुपैयाँ छ । उनले टोपी बिक्रीबाट वार्षिक एक लाख बढी आम्दानी गर्ने गरेको जनाए । पहिले नमुनाका रूपमा टोपी बुन्ने गरे पनि अहिले निकै राम्रो बजार पाएपछि यसलाई व्यवसाय बनाएको उनको भनाइ छ । रोकायाका अनुसार सामान्यतया दुई महिनाको खरायोको ऊन मुडिन्छ । दुई वटा खरायोको ऊन संकलन गरेपछि एकवटा टोपी निर्माण हुने उनले जनाए । उनले वार्षिक एक सय टोपी उत्पादन र बिक्री गर्ने गरेको जनाए । रोकायाले होलसेलमा दुई हजारदेखि दुई हजार पाँच सयमा खरायोको उनको टोपी बिक्री गरिरहेको बताए । उनीसँग रहेका ६ खरायोले महिनैपिच्छे ८ वटा वच्चा जन्माउने गरेका छन् । ३० भन्दा बढी खरायो घरमा राख्न नसकिने भन्दै उनले प्रतिखरायो एक हजार रुपैयाँमा बिक्री गर्ने गरेका छन् । उनले महिनामा १५ देखि २० वटा खरायो बिक्री गर्ने गरेको जानकारी दिए । खरायोको टोपी र खरायोको आम्दानीबाट रोकायाले सदरमुकाम खलंगामा छोरी, बुहारी र नातिनीलाई पढाइरहेको बताए । व्यावसायिक खरायोपालनको आम्दनीबाटै उनले तीन छोरा, तीन छोरीसहित ११ जनाको परिवार धान्दै आएका छन् ।

खरायोको उनको टोपीको आकर्षण बढ्दै गएपछि बिक्री पनि बढिरहेको व्यावसायीको भनाइ छ । सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, व्यावसायी, स्थानीय तथा जुम्ला घुम्न आउनेले समेत चिनोका रूपमा खरायाको ऊनबाट बनेको टोपी किन्ने गरेका छन् ।

प्रकाशित : फाल्गुन २६, २०७४ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?