स्वास्थ्य बिमा सुरु

रुकुमपूर्व र रुकुमपश्चिमका १ सय ४ वडामै दर्ता सहयोगी खटाइने 
हरि गौतम

रुकुम पश्चिम — जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । रुकुम पश्चिम र पूर्वलाई एउटै कार्यक्षेत्र मानेर २९ औं जिल्लाको रूपमा यहाँ आइतबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो । कर्णाली प्रदेशसभा सदस्य गोपाल शर्मा जिल्लाको पहिलो स्वास्थ्य बिमाको बिमित बनेका छन् । 

स्वास्थ्य बिमाको दर्ता शुभारम्भ कार्यक्रममा शर्मा १, जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मा २ र मुसिकोट नगरपालिका १, का अध्यक्ष वीरबल केसीले ३ नम्बरमा स्वास्थ्य बिमा गरेका हुन् ।

स्वास्थ्य बिमाको दर्ता शुभारम्भसँगै अब रुकुम पश्चिम र पूर्व दुवै जिल्लामा दर्ताको काम अघि बढाइने सामाजिक स्वास्थ्य सुरक्षा समिति रुकुम पश्चिमले जनाएको छ । दुवै जिल्लाको लागि रुकुम पश्चिममा नै सामाजिक स्वास्थ्य सुरक्षा समितिको कार्यालय व्यवस्थापन गरिएको छ । स्वास्थ्य बिमा गरेपछि प्रदेशसभा सदस्य शर्माले स्वास्थ्य उपचार जनताको मौलिक अधिकार भएको भन्दै अब राज्यले त्यसको जिम्मा लिन थालेको बताए । ‘यसलाई सानो रूपमा भए पनि जनताको स्वास्थ्यप्रति सरकार सचेत छ भन्ने बुझ्नुपर्छ,’ शर्माले भने, ‘आधारभूत शुल्क बुझाउन नसक्नेहरूका लागि स्थानीय, प्रदेश र संघीय सकारले नि:शुल्क गरिदिने व्यवस्था गर्नुपर्छ ।’ उनले स्वास्थ्य बिमामा जोडिन सबै सर्वसाधारणलाई अनुरोधसमेत गरेका छन् ।

आइतबार औपचारिक कार्यक्रम गरी दर्ता शुभारम्भ भएसँगै अब सबै नागरिकको घरघरमा पुगेर स्वास्थ्य बिमा गरिने सामाजिक स्वास्थ्य सुरक्षा समितिका संयोजक भरतबहादुर खड्काले बताए । उनले दुवै जिल्लाका १ सय ४ वडामै दर्ता सहयोगी खटाइने र उनीहरू नै घरघरमा पुगेर स्वास्थ्य बिमा गर्ने बताए । ‘हामीले प्रत्येक वडामा दर्ता सहयोगी कार्यकर्ता नियुक्त गरेका छौं, संयोजक खडाले भने, अब सबै नागरिकको घरघरमा पुगेर दर्ता सहयोगी मार्फत सबै नागरिकको स्वास्थ्य बिमा गराइनेछ ।’

सामाजिक स्वास्थ्य सुरक्षा समितिले रुकुम पश्चिमका ७३ जना दर्ता सहयोगीलाई तालिम दिइसकेको छ भने रुकुम पूर्वका ३१ जना दर्ता सहयोगी तालिम पश्चात दर्ताको काममा खटिनेछन् । दुवै जिल्लालाई एउटै कार्यक्षेत्र मानेर काम सुरु गरिएपनि केही दिनपछि मात्रै रुकुम पूर्वबाट दर्ता कार्यक्रम सुरु हुने संयोजक खडकाले बताए । दुई जिल्लाका दर्ता सहयोगीको तालिम अघि–पछि परेकाले दर्ता कार्य पनि केही दिन अघि–पछि सुरु हुने भएको हो ।

सामाजिक सुरक्षा समितिले यसअघि स्थानीय तहमा स्वास्थ्य बिमासम्बन्धीको अभिमुखीकरण गरेको थियो भने सबै स्थानीय तह तथा वडामा कार्यरत स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरूलाई तालिम प्रदान गरेको थियो ।

सामाजिक स्वास्थ्य सुरक्षा समितिले दुवै जिल्लामा गरी चालु आर्थिक वर्षमा जिल्लाका ५० प्रतिशत जनसंख्याको स्वास्थ्य बिमा गराइसक्ने लक्ष्य राखेको जनाएको छ ।

प्रकाशित : फाल्गुन २८, २०७४ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?