१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सातामा तीन दुर्घटना, पाँचको मृत्यु

कान्तिपुर संवाददाता

जुम्ला — कर्णाली प्रदेश सरकारले ‘कर्णाली सडक सुरक्षा योजना’ लागू गरेको एक साता नबित्दै तीन छुट्टाछुट्टै सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । 

गत सोमबार सदरमुकाममा ट्याक्टरले किचेर गर्भवती हीरा अधिकारीको मृत्यु भयो भने त्यसको भोलिपल्ट मंगलबार सिंजामा ट्याक्टर दुर्घटनामा परी तीन जनाले ज्यान गुमाए । आइतबार बिहान जुम्लाबाट काठमाडौ जाँदै गरेको ना४ख ७२४३ नम्बरको बसले लिताकोटमा तातोपानी गाउँपालिका २ की २७ वर्षीया माया नेपालीलाई किच्दा उनको घटनास्थलमै मृत्यु भयो । कर्णाली प्रदेश सरकारले १० वटै जिल्लामा गत शनिबार एकैसाथ ‘समृद्धिका लागि सुरक्षा, सुरक्षित प्रदेश जनअपेक्षा’ मूल नारासाथ सुरक्षा अभियान सुरु गरेको थियो । एक हप्तामा सवारी दुर्घटनाबाट ५ जनाको मृत्यु भएको छ भने एक बालक घाइते भएको जिल्ला प्रहरीले जनाएको छ । सडक सञ्जालको विस्तारसँगै गाडीको संख्या बढ्दै जानु, ट्राफिक नियमबारे यात्रुलाई जानकारी नहुनु, चालकको लापरबाहीका कारण दुर्घटना बढेको प्रहरीले जनाएको छ ।

बढो दुर्घटना न्यूनीकरण गर्न स्थानीयस्तरमा ट्राफिक नियमबारे व्यापक जानकारी गराउन आवश्यक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज माधव रावतले बताए ।

‘अब चाँडै स्थानीय तहसँग समन्वय गरी ट्राफिक नियम पालनाबारे अभिमुखीकरण चलाउने तयारी गरिरहेका छांै,’ उनले भने, ‘ट्राफिक प्रहरीको संख्या कम छ, सबैतिर चेकिङ गर्न भ्याइँदैन । अधिकांश गाडीहरू खलासीले चलाउँदा समस्या आउने गरेको छ ।’ नाग्म–गमगडी, जुम्ला विमानस्थल–उर्थु र विमानस्थलदेखि गुठीचौर हुँदै डोल्पासम्म जाने सडकमा चेकिङ प्रभावकारी हुन नसकेको

उनले जनाए ।

प्रकाशित : फाल्गुन २९, २०७४ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?