३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सुरु भएन पुस्तक ढुवानी

कान्तिपुर संवाददाता

मुगु — फागुन पहिलो साता नै आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्ने मुगुमा अहिलेसम्म पुस्तक पुग्न सकेका छैनन् । फागुन अन्तिम सातासम्म पाठ्यपुस्तक सदरमुकाम नपुगेपछि दुर्गम क्षेत्रका विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने देखिएको छ । 

जयलक्ष्मी पुस्तक पसलले छायाँनाथ, सोरु र मुगुम कार्मारोङ्ग गाउँपालिकाका विद्यालयका पुस्तकको जिम्मा लिएको छ । त्यस्तै खत्याड गाउँपालिकाका लागि जुम्लाको एक स्टेसनरीलाई जिम्मा दिइएको छ । छिटो पाठयपुस्तक ढुवानी गरी शैक्षिक सत्र सुरु नहुँदै गाउँगाउँमा पाठ्यपुस्तक पुर्‍याउन विक्रेतालाई दैनिक ताकेता गर्दै आएको जिल्ला शिक्षा अधिकारी धनसुधन चौलागाईले बताए । चैत १५ गतेभित्रै पाठ्यपुस्तक सदरमुकाममा ल्याइसक्ने गरी विक्रेतासँग सर्त राखिए पनि अहिलेसम्म कुनै सुरसार नभएको उनको भनाइ छ ।

चालु शैक्षिक सत्रमा विद्यार्थीले सबै ठाउँमा पुस्तक नपाउँदा पुराना प्रयोग गर्न बाध्य छन् । कार्यालयका अनुसार यस वर्ष १८ हजार ४ सय ६३ विद्यार्थीले विद्यालय तहमा अध्ययन गरिरहेका छन् ।

पाठ्यपुस्तक खरिद गर्ने बजेट स्थानीय तहलाई दिइएको र सो रकम स्थानीय तहले विद्यालयमा निकासा गरिसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

जिल्लामा प्राथमिक तहमा ९ हजार ९ सय ४३, निमाविमा ५ हजार २ सय ६९ र मावि तहमा २ हजार २ सय ५१ विद्यार्थी अध्ययनरत छन् । फागु्न पहिलो साता नै पुस्तक ल्याउने तयारी गरे पनि चालु शैक्षिक सत्रका पुस्तक गोदाममा थन्किएकाले समस्या भएको जयलक्ष्मी पुस्तक पसलले जनाएको छ । ‘समयमै पुस्तक ल्याएर के गर्नु ? शिक्षकले लिँदैनन,’ विक्रेता जयलक्ष्मी भामले भने, ‘यस वर्षकै पुस्तकहरू गोदाममा उस्तै छन् त्यसैले केही समयपछि ढुवानीको काम सुरु हुनेछ ।’

प्रकाशित : फाल्गुन २९, २०७४ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?