रारामा घोडा व्यवसाय फस्टायो

राजबहादुर शाही

मुगु — पर्यटकीय गन्तव्य रारामा घोडा व्यावसाय फस्टाउँदै गएको छ । रारा घुम्न आएका पर्यटकहरू घोडा मार्फत रारा आसपासका क्षेत्रमा घुम्न जान थालेपछि व्यवसाय फस्टाएको हो । रारा आसपासका मुर्मा, झ्यारी, टोप्ला, माथितमलगायतका गाउँका बासिन्दाले घोडा व्यवसायमार्फत राम्रो आम्दानी गरिरहेका छन् । 

मुगुको पर्यटकीयस्थल रारामा पर्यटक घुमाउन गाउँबाट ल्याएका घोडाहरू । तस्बिर : राजबहादुर/कान्तिपुर

जुम्लाको सिंजा, हुम्ला र कालिकोट पुगेर स्थानीयले घोडा खरिद गर्ने गरेका छन् । घोडाबाट स्थानीयले दैनिक चार हजारसम्म कमाइ हुने गरेको जनाएका छन् । पर्यटकको आगमनले रारामा घोडा व्यवसाय फस्टाउँदै गएको मुर्मा गाउँका गोर्ख रोकायाले बताए । उनले अरू काम छोडेर घोडा मार्फत पर्यटकलाई घुमाउने प्रतिस्पर्धा हुन थालेको बताए । ‘पहिले रारा नजिकै भए पनि केही कमाइ हुने भएन भनेर चिन्तित थियौं,’ उनले भने, ‘घोडा व्यवसाय फस्टाएपछि राम्रो आम्दानी भैरहेको छ ।’

Yamaha

घोडा चढेर रारा तालमा फोटो खिचेको २ सय, वरपर घुमेको ५ सय र मुर्माटपसम्म पुगेको २ हजार लिने गरिएको व्यवसायीले बताए । उनीहरूका अनुसार रारा विमानस्थलदेखि रारासम्म घोडामा पुर्‍याएपछि व्यवसायीले २ हजार ५ सय लिने गरिएको छ । किसानहरू अन्य पशुपालन छोडेर घोडा व्यवसायतर्फ आकर्षित भएका छन् । एक घोडाको मूल्य ६० देखि ८५ हजारसम्म पर्ने गरेको छ । मुर्मा गाउँमा मात्र ६० वटा घोडा सञ्चालनमा छन् । त्यस्तै झयारी, पिना, टोप्ला गाउँमा करिबव डेढ सय घोडाहरू छन् । त्यहाँका घोडाहरू दैनिकजसो रारामा आउने गरेका छन् ।

सहरी क्षेत्रमा सवारी साधनको चाप बढेजस्तै रारामा घोडाको चाप बढ्दै गएको मुर्मा गाउँका शिक्षक बिर्खबहादुर रोकायाले बताए । पर्यटकहरू सवारी साधन छोडेर घोडा चढ्न थालेको उनको भनाइ छ । रारामा घोडा व्यवसाय फस्टाउँदै गएको र स्थानीयको आम्दानीमा वृद्धि भएको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत चन्दशेखर चौधरीले बताए । रारामापर्यटकलाई घोडा चढाएर घुमाउन स्थानीयबीच प्रतिस्पर्धा हुन्छ ।

रारामा ठूलादेखि साना घोडाहरू छन् । जस्तो घोडा चढ्न मन लाग्यो, उस्तै घोडा चढ्न पाइने व्यवस्था रहेको व्यवसायीले जनाए । तर, रारामा सुविधासम्पन्न होटल, विद्युतलगायतका अन्य पूर्वाधारको अभाव छ । ताल नजिकका डाँफे गेस्टहाउस र भिलेज हेरिटेज रिसोर्टमा आन्तरिक पर्यटक भरिभराउ हुने गरेका छन् ।

Esewa Pasal

प्रकाशित : फाल्गुन २९, २०७४ ११:२८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कानुन सिक्दै जनप्रतिनिधि

हरि गौतम

रुकुम पश्चिम — स्थानीय तह सञ्चालनका क्रममा देखिएका कानुनी समस्या समाधान गर्ने विधिबारे सिक्न पश्चिम रुकुमका जनप्रतिनिधिहरू अहिले तालिममा जुटेका छन् । स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला समन्वय समितिले सदरमुकाममा तालिम दिइरहेको छ । तालिम विभिन्न चरणमा फरकफरक विषयवस्तुमाथि सञ्चालन भैरहेका हुन् । 

स्थानीय तहमा गठित न्यायिक समितिको कामलाई प्रभावकारी बनाउने तथा थप स्पष्ट हुन भन्दै दुई दिनको कानुनसम्बन्धीको प्रशिक्षण लिएका न्यायिक समितिका संयोजक, स्थानीय तहका प्रमुख, प्रमुख प्रशाकीय अधिकृत, न्यायिक समितिका सदस्यहरूले फेरि दुई दिनकै बालअधिकार र विपद् व्यवस्थापनसम्बन्धीको प्रशिक्षण पनि लिँदै छन् । न्यायिक कार्यसम्पादनमा थप सहजता ल्याउन भन्दै जिल्ला समन्वय समितिले वरिष्ठ अधिवक्तालाई बोलाएर दुई दिनसम्म न्यायिक समितिको काम, कर्तव्यको साथै त्यसका थप अधिकार क्षेत्रका बारेमा प्रशिक्षण दिलाएको थियो । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले न्यायिक समितिको क्षेत्राधिकारको थप व्याख्या गरेर समितिलाई सजिलो बनाउने तथा स्थानीय तहबाट हुने न्याय सम्पादन प्रभावकारी बनाउन कानुनसम्बन्धीको अभिमुखीकरण गरिएको बताए ।

समन्वयकारी भूमिकामा रहेको जिल्ला समन्वय समितिले स्थानीय तहमा आवश्यक ज्ञान, दक्षता बढाउनलाई यस्ता कार्यक्रम गर्दै आएको र गरिरहने पनि प्रमुख शर्माले बताएका छन् । २ दिनको कानुनसम्बन्धीको कार्यक्रमबाट न्यायिक समिति थप उत्साहित भएको र त्यसको कार्यसम्पादन पनि त्यसरी हुने विश्वास लिएको उनको भनाइ छ । थप दुई दिनको कार्यक्रममा स्थानीय तहका प्रमुखहरूले बालअधिकार र विपद् व्यवस्थापनसम्बन्धीका कुराबारे बृहत् छलफल गर्दै छन् । बालबालिकासम्बन्धीको कानुन, त्यसमा स्थानीय तहले बनाउन ऐन, बाल अधिकारको संरक्षणका लागि स्थानीय तहले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल भैरहेको छ ।

विपद् न्यूनीकरणमा स्थानीय तहको अधिकार क्षेत्रका विषयमा पनि छलफल भैरहेको सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताए । उनले स्थानीय सरकार सञ्चालनका क्रममा देखिएका समस्या समाधानमा थप सजिलो हुने गरी सबै स्थानीय तहबीच छलफल भैरहेको बताए । ‘नयाँ सरकारका भएकाले कहीँ न कहीँ ग्यापहरू भेटिहाल्छन्, तिनको समाधानका लागि जिल्ला समन्वय समितिले हामी सबैलाई भेला गरेर छलफल गर्ने वातावरण गराइदिएको छ,’ उनले भने, ‘यस छलफलबाट अबको कार्य सम्पादनथप सजिलो हुन्छ भन्ने विश्वास जागेको पनि छ ।’

प्रकाशित : फाल्गुन २९, २०७४ ११:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT