कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रारामा घोडा व्यवसाय फस्टायो

राजबहादुर शाही

मुगु — पर्यटकीय गन्तव्य रारामा घोडा व्यावसाय फस्टाउँदै गएको छ । रारा घुम्न आएका पर्यटकहरू घोडा मार्फत रारा आसपासका क्षेत्रमा घुम्न जान थालेपछि व्यवसाय फस्टाएको हो । रारा आसपासका मुर्मा, झ्यारी, टोप्ला, माथितमलगायतका गाउँका बासिन्दाले घोडा व्यवसायमार्फत राम्रो आम्दानी गरिरहेका छन् । 

रारामा घोडा व्यवसाय फस्टायो

जुम्लाको सिंजा, हुम्ला र कालिकोट पुगेर स्थानीयले घोडा खरिद गर्ने गरेका छन् । घोडाबाट स्थानीयले दैनिक चार हजारसम्म कमाइ हुने गरेको जनाएका छन् । पर्यटकको आगमनले रारामा घोडा व्यवसाय फस्टाउँदै गएको मुर्मा गाउँका गोर्ख रोकायाले बताए । उनले अरू काम छोडेर घोडा मार्फत पर्यटकलाई घुमाउने प्रतिस्पर्धा हुन थालेको बताए । ‘पहिले रारा नजिकै भए पनि केही कमाइ हुने भएन भनेर चिन्तित थियौं,’ उनले भने, ‘घोडा व्यवसाय फस्टाएपछि राम्रो आम्दानी भैरहेको छ ।’

घोडा चढेर रारा तालमा फोटो खिचेको २ सय, वरपर घुमेको ५ सय र मुर्माटपसम्म पुगेको २ हजार लिने गरिएको व्यवसायीले बताए । उनीहरूका अनुसार रारा विमानस्थलदेखि रारासम्म घोडामा पुर्‍याएपछि व्यवसायीले २ हजार ५ सय लिने गरिएको छ । किसानहरू अन्य पशुपालन छोडेर घोडा व्यवसायतर्फ आकर्षित भएका छन् । एक घोडाको मूल्य ६० देखि ८५ हजारसम्म पर्ने गरेको छ । मुर्मा गाउँमा मात्र ६० वटा घोडा सञ्चालनमा छन् । त्यस्तै झयारी, पिना, टोप्ला गाउँमा करिबव डेढ सय घोडाहरू छन् । त्यहाँका घोडाहरू दैनिकजसो रारामा आउने गरेका छन् ।

सहरी क्षेत्रमा सवारी साधनको चाप बढेजस्तै रारामा घोडाको चाप बढ्दै गएको मुर्मा गाउँका शिक्षक बिर्खबहादुर रोकायाले बताए । पर्यटकहरू सवारी साधन छोडेर घोडा चढ्न थालेको उनको भनाइ छ । रारामा घोडा व्यवसाय फस्टाउँदै गएको र स्थानीयको आम्दानीमा वृद्धि भएको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत चन्दशेखर चौधरीले बताए । रारामा पर्यटकलाई घोडा चढाएर घुमाउन स्थानीयबीच प्रतिस्पर्धा हुन्छ ।

रारामा ठूलादेखि साना घोडाहरू छन् । जस्तो घोडा चढ्न मन लाग्यो, उस्तै घोडा चढ्न पाइने व्यवस्था रहेको व्यवसायीले जनाए । तर, रारामा सुविधासम्पन्न होटल, विद्युतलगायतका अन्य पूर्वाधारको अभाव छ । ताल नजिकका डाँफे गेस्टहाउस र भिलेज हेरिटेज रिसोर्टमा आन्तरिक पर्यटक भरिभराउ हुने गरेका छन् ।

प्रकाशित : फाल्गुन २९, २०७४ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?